निर्धारित मितिमै संविधान जारी गर्नुपर्छ–नेताहरु




काठमाडौँ, मङ्सिर १३ गते  । राजनीतिक दलका नेताहरुले सहमतिमै निर्धारित मितिमै संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् ।
    संवाद क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले संविधान लेखनका विवादित विषयमा सहमति जुटाई माघ ८ भित्रै संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभयो ।
    सहमतिको प्रयासमा यसअघि नै चारवर्ष बितिसकेको स्मरण गर्दै उहाँले तोकिएको मितिमै संविधान जारी गर्न नसके दलहरुप्रतिको जनताको विश्वास टुट्ने विचार राख्नुभयो ।
    नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले दलहरुबीच सकेसम्म सहमतिको प्रयास गर्दा पनि नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
    लोकतन्त्रका सर्वमान्य सिद्धान्तविपरीत कुनै पनि काम गर्न नहुने भन्दै धर्म, जात र आस्थालाई राजनीतिकरण गर्न नहुने बताउनुभयो ।
    एकीकृत नेकपा (माओवादी) का नेता देवेन्द्र पौडेलले दलहरुबीच सहमति भएमा अझै पनि निर्धारित मितिमै संविधान जारी गर्न सकिने विचार राख्नुभयो ।
    राजनीतिक विश्लेषक सोनामछिरिङ शेर्पाले जनताको भावना र राष्ट्रको भविष्यलाई विचार गरेर दलहरु समयमै संविधान जारी गर्न प्रतिबद्ध हुनुपर्ने जरुरी छ भन्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना