हलो जोत्ने पौरखी महिलाहरुको गाउँ ‘खैरेनी’

 

haloकाँकडभिट्टा (झापा), ११ फागुन । दक्षिणी इलामको महमाई–५ खैरेनी गाउँकी २६ वर्षीया रुपा राई फागुनयता हरेक बिहान दुई नानीलाई विद्यालय पठाएपछि गोरु नार्न हतारिन्छिन् । चार र छ वर्षका दुई छोराछोरीलाई खाना खुवाएर विद्यालय पठाउने उनको पहिलो काम हो । त्यसपछि हलो र जुवा बोकेर उनी घर नजिकैको खेततिर लाग्छिन् जहाँ उनले दिउँसो अबेलासम्म बारी जोत्नु पर्छ ।

खैरेनीकै हरिमाया सुब्बा र फुलमाया फागो पनि बिहान–बिहान हलो जोतिरहेका भेटिन्छन् । घरको काम सिध्याएर खेत जोत्न जानु खैरेनी बस्तीका हरिमाया र फुलमाया जस्तै थुपै्र महिलाको नियमित कर्म हो । दानाबारीबाट लारुम्वा जाने बाटो छेउमै पर्ने दक्षिणी चुरे पहाडको यो समतल भूभागमा रहेको सुन्दर बस्तीमा १० घर छन् । यहाँका सबै घरका कोही न कोही महिला हलो जोत्ने गर्छन् ।

‘महिलाले हलो जोत्ने गाउँका रूपमा परिचित खैरेनीमा पहिलोपटक अनउ समाउने महिला पञ्चमाया फागो साँवा हुन् । हाल ४३ वर्षीया पञ्चमायाले १८ वर्षको उमेरमा हलो जोत्न सिकेकी थिइन् । वर्षौंसम्म हिउँद र बर्खामा हलो जोतेकी उनले त्यसबेला बाध्यताले नै यस्तो काममा लाग्नुपरेको बताइन् ।

उनले माइतीमा रहँदा नै अनउ समाउनुप¥यो । बुबा नरसिंह फागोलाई पक्षघात भएपछि फागो परिवारमा जीविकाको एकमात्र पेसा ‘खेतीपाती’लाई अघि बढाउनुपर्ने जिम्मेवारी पञ्चमायाको काँधमा आइलाग्यो । “किनकि हाम्रो घरमा छोराको जन्म भएकै थिएन,” उनले हलो जोत्नु पर्नाको कारण सुनाउँदै भनिन् ।

पच्चीस वर्ष पहिलेको कुरा थियो यो । बिरामी नरसिंह फागोका पाँच पत्नी र छ छोरी घरमा थिए । हलो जोत्ने कर्मका लागि बाबुको विरासत सम्हाल्ने छोरा मान्छे घरमा नभएपछि जेठी छोरी भएको हैसियतले पञ्चमायाले नै खेतीपातीको बोझ उठाउने हिम्मत गरेकी थिइन् । खैरेनी बस्तीमा कामदार (हली) पाउन मुस्किल थियो । अरुतिर पनि हली काम गर्ने मान्छे नपाएपछि उनले आफ्नो खेत आफँै जोत्न थालिन् । त्यसबेला उनले हलो जोत्दा गाउँमा अचम्मै भएको ठानिएको थियो ।

खैरेनीमा धेरै वर्षसम्म हलो जोत्ने महिला पञ्चमायामात्र भइन् । पुरुषले मात्र हलो जोतेको देख्दै आएका अरु महिला पनि पञ्चमायाको साहसबाट प्रभावित भए । अहिले यो बस्तीमा नियमित हलो जोत्ने महिलाको सङ्ख्या १० नाघेको छ । हलो जोत्ने सीप त अरु थुप्रै महिलाले पनि सिकेका छन् ।

खैरेनीकै रुपा राईका पति चार वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा कतार गए । रुपाले १० कट्ठा खेतबारी सम्हाल्नुपर्ने भयो । खेत जोत्ने मान्छे नपाउँदा उनी पनि हैरान भइन् । “पञ्चमाया दिदी आफैँले हल नारेको दृश्य आँखामा झलझली आयो,” रुपाले हलो जोत्न सुरु गर्दाताकाको घटना सुनाउँदै रासससँग भनिन्, “अनि मैले पनि आफँै हलो जोत्ने निधो गरेँ ।”

रुपाले घरमा एक माउ गाई र केही सँुगुर पालेकी छन् । हलो जोत्ने गोरु चाहिँ उनले पालेकी छैनन् । दैनिक रु ३०० दाम तिर्ने सर्तमा उनले गाउँबाटै गोरु ल्याएकी छन् । खाना पकाउने र नानीलाई विद्यालय पठाउने काम गर्दागर्दै उनको बिहान बित्ने गरेको छ । नौ बजेपछि दिउँसो अबेलासम्म उनी ‘ह ह तारे, ह ह माले’ भन्दै हलो जोत्न व्यस्त हुन्छिन् ।

रुपाले पति विदेश गएपछि हलो जोत्न थालेको खुलस्त गरिन् । खैरेनी बस्तीमा उनकै जस्तो हलो जोत्ने पौरखी महिलाको सङ्ख्या धेरै छ ।

भएका युवा विदेश गएपछि गाउँमा महिला, बूढापाका र केटाकेटीमात्र बाँकी रहेको बताउँछन् स्थानीय भवानी साम्वा ।

“लोग्ने मान्छे विदेश गएका छन्, खेती नगरी खाने अर्को माध्यम छैन,” स्थानीय महिलाको दैनिकी सुनाउँदै भवानी भन्छन्– “खेताला पाइन छाडेपछि महिला आफँै हल नार्न थाले ।”

यसै साता खैरेनीमा हलो जोत्दै गर्दा भेटिएकी अर्की महिला फुलमाया फागोले ‘माइतीमा काम सघाउन आएको’ बताइन् । काखमा दूधे छोरा हुर्काइरहेकी फुलमायाका पति पनि वैदेशिक रोजगारीमै गएका छन् । माइतमा बुबा बिरामी भएको हुँदा खेत जोत्ने काम सघाउन उनी केही हप्ताका लागि खैरेनी आएको बताउँछिन् ।

खैरेनी बस्तीमा हाल पुरुषभन्दा तेब्बर सङ्ख्यामा महिला छन् । नवयुवक र वयस्कहरू वैदेशिक रोजगारीमा गएका र केही जागिर एवम् व्यापारको सिलसिलामा सहरतिर छन् । पाका पुरुष अधिकांश बिरामी छन् ।

फुलमायाका ७१ वर्षीय बुबा लामो समयदेखि बिरामीले थलिएका छन् । गाउँका ६२ वर्षीय अग्निप्रसाद योक्पाङ्देन पनि नसाको रोगले थलिएका छन् । अर्का ६३ वर्षीय वृद्ध बोलिहाङ तुम्वापो हड्डीको क्षयरोगबाट ग्रस्त छन् । गाउँमा रहेका पुरुष भनेका वृद्ध नै हुन्, जो अधिकांश छन् ।

खैरेनी बस्ती माई खोला किनारमा छ । फाँटिलो र उर्वर खेतमा यहाँ धान, मकै, गहुँ र तरकारी बालीको खेती हुने गरेको छ । यतिबेला मकै छर्न खनजोतको चटारो छ गाउँमा । बिहान यहाँ खेतैभरि महिलाले हलो जोतिरहेको भेट्न सकिन्छ ।

हलो जोत्दा खासै गाह्रो नलागेको हरिमाया सुब्बा बताउँछिन् । “गोरु बद्मास परे भने चाहिँ अलि गाह्रो हुन्छ,” खेत जोत्दाको अनुभव सुनाउँदै हरिमाया भन्छिन्, “बाँझो माटो जोत्दा अलि परिश्रम पर्दोरहेछ ।”

पुरुषले हलो जोत्दा महिलाहरु खाजा पु¥याउन जाने चलन सबैतिर छ । तर यहाँका महिला चाहिँ खाजा खाएरै मेलामा जाने गरेका छन् । घरको धन्दा सकेरमात्र आफू हलो जोत्न जाने गरेको रुपा बताउँछिन् ।

विद्यालय जाने नानीलाई पकाइदिने, खुवाइदिने र पढाइदिने सबै जिम्मेवारी यहाँका महिलाको काँधमा रहेको फुलमायाले बताइन् ।

हिउँदमा मकै छर्ने बेला होस् वा बर्खामा धान रोप्ने बेला, खैरेनी बस्तीका खेतमा खेत जोतिरहेको अवस्थामा पुरुष होइन, महिला देख्न पाइन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना