सडक, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

 


Romi Gauchanरोमी गौचन थकाली, सदस्य, संविधानसभा
रोमी गौैचन थकाली नेपाली कांग्रेसका तर्फबाट संविधानसभाको पछिल्लो निर्वाचनमा मुस्ताङ जिल्लाबाट निर्वाचित सभासद् हुनुहुन्छ । जिल्लामा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्का क्षेत्रमा बढी ध्यान दिएको बताउनुहुने सभासद् थकाली निर्धारित समयमा संविधान जारी गर्न नसक्नुलाई दुःखद परिस्थितिका रुपमा विश्लेषण गर्नुहुन्छ । २०१६ सालमा मुस्ताङमा जन्मनुभएका उहाँ २०३४ सालदेखि राजनीतिमा प्रत्यक्षरूपमा संलग्न हुनुभएको थियो । उहाँले २०५७ सालमा परराष्ट्र सहायकमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । जिल्लाको विकास निर्माण, संविधान निर्माणलगायतका विषयमा केन्द्रित रही उहाँसँग गोरखापत्रका लागि शेषकान्त पण्डितले गर्नुभएको कुराकानीको अंशः

हिमालपाारिको जिल्ला मुस्ताङबाट संविधानसभामा प्रतिनिधित्व गर्नुभएको छ, के छन् त्यहाँका बासिन्दाका चाहना एवं आवश्यकता ?

म २०५६ सालमा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थिएँ । यसपटक पनि जनताले मलाई निर्वाचित गरे । २०५६ देखि निर्माण शुरु गरिएको बाग्ल्ुङ–बेनी–जोमसोम र जोमसोम–कोरला (चीनको सीमा) सम्म पुग्ने सडक कच्ची थियो । सडकखण्डमा पुल निर्माण हुन बाँकी थियो । हाल त्यसको निर्माणकार्य चलिरहेको छ । हाल ती सडकखण्डलाई पक्की बनाउन शुरु भइसकेको छ । टेन्डरको प्रक्रिया पूरा भइसकेको छ । लाखौं नेपाली र भारतीय पर्यटकको गन्तव्यका रुपमा रहेको मुस्ताङको मुहारमा परिवर्तन ल्याउने मेरो योजना छ । जनताको आवश्यकता र चाहना पनि यही हो । मुस्ताङ जिल्लामा १६ वटा गाविस छन् । कच्ची सडक सञ्जालले सबै गाविसलाई जोडेको छ । पक्की पनि शुरु हुँदैछ । उपल्लो मुस्ताङ उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्छ । उपल्लो मुस्ताङलाई वैकल्पिक मार्गबाट पोखरासम्म जोड्ने सोच बनाएको छु । यहाँबाट तिब्बतसँग व्यापार गर्नसक्ने सम्भावना पनि छ । स्याउ, जडीबुटी, जैविक खेतीपाती गरिने मुस्ताङमा सडक विस्तार गर्न सकिए विकासको ढोका खुल्छ भन्ने मेरो विश्वास छ ।

सडकका लागि बजेट विनियोजनको अवस्था के छ नि ?

बागल्ुङ–म्याग्दी–मुस्ताङको सडक खण्डको निर्माणका लागि ५६ करोड रुपियाँ विनियोजन गरिएको छ । घासाबाट जोमसोम–कोरलाका लागि दुई करोड १५ लाख विनियोजन गरिएको छ भने यस खण्डका लागि राष्ट्रिय योजना आयोगले ४० करोड दिने प्रतिबद्धता जनाएको छ । विनियोजित बजेट पर्याप्त नभए पनि काम सञ्चालन गर्न भने कुनै समस्या छैन ।

जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कस्तो छ ?

जिल्लाको सडकपछिको आवश्यकता भनेको शिक्षा र स्वास्थ्यको नै हो । मुस्ताङमा साक्षरता प्रतिशत ७० को हाराहारीमा छ । जोमसोममा स्नातक तहको कलेज सञ्चालनको प्रक्रियामा छ । जिल्लामा नयाँ विद्यालय खोल्नुपर्ने आवश्यकता छैन । आवासीयरुपमा विद्यालय खोल्ने योजनामा छौं । उपल्लो मुस्ताङमा आवासीय सरकारी विद्यालय सञ्चालनमा छ । तल्लो मुस्ताङमा पनि यसको आवश्यकता छ । विद्यालय एकीकृत ढंगले नै सञ्चालन गर्नुपर्ने आवश्यकता म देख्छु । जहाँसम्म अस्पतालको कुरा छ, जोमसोममा जिल्ला अस्पताल छ तर उपल्लो मुस्ताङका धमी र लोमाङथाङमा प्राथमिक स्वास्थ्य केन्द्र बनाउनुपर्ने आवश्यकता छ । म त्यसका लागि प्रयास गरिरहेको छु ।

मुस्ताङ जिल्लामा विद्युत्को अवस्था के छ ?

जिल्लाका धमी, चराङ, लोमाङथाङ, छोनुप, सुर्खानलगायतका गाविसमा विद्युत् पुग्न सकेको छैन । यी गाविसमध्ये पनि धमी र चराङमा छिट्टै विद्युत् विस्तार ह्ुँदैछ । चराङमा लघुविद्युत् उत्पादन गरिएको छ । यस बाहेक निःश्ुल्करुपमा सौर्य बत्ती वितरणलाई समेत अघि बढाइएको छ । यसरी पूरै अँध्यारोमा बस्ने मुस्ताङवासीको जनसंख्या अब धेरै छैन । जिल्लामा उपलब्ध न्यून इन्धन जोगाउन विद्युतीकरणको आवश्यकता छ । यसबाहेक विदेशीको सहयोगमा सोलार प्रणालीका विषयमा काम भइरहेको छ ।

मुस्ताङका उत्पादनको बजारीकरणको अवस्था के छ ?

दुर्गम हिमाली जिल्लामा तुलना गर्ने हो भने मुस्ताङ धेरै अघि छ । सबै गाविसमा टेलिफोन सेवाको पहुँच छ । जहाँसम्म उत्पादनको बजारसम्मको पहुँचको विषय छ त्यसमा अब समस्या छैन । पशुपालनसँगै गहुँ, जौ, उवा, फापर, आलु, मकै, सिमी, स्याउ मुख्य उत्पादन हुन् । बाटो नबिग्रिएको अवस्थामा यहाँका उत्पादन बागलुङदेखि पोखरा, काठमाडौंसम्म पुग्छन् । माथिल्लो मुस्ताङमा पूरै अर्गानिक खेती प्रणाली छ । तल्लो क्षेत्रका बासिन्दा पनि यसमा आकर्षित भएका छन् । सडकको पहुँच व्यापक भएको अवस्थामा अब यो बजारसम्म पुग्न खासै समस्या छैन ।

प्रसंग बदलौं, माघ ८ मा नयाँ संविधान जारी हुन सकेन । दलहरुबीच सहमति बन्ने वातावरण पनि तत्काल देखिएको छैन । कसरी विश्लेषण गर्नुहुन्छ ?

दलहरुले माघ ८ गते नै नयाँ संविधान जारी गर्छौं भनेर हतारमा निर्णय गरे । संविधानसभाको कार्यकाल त चार वर्ष थियो नि तर हतार हतार मिति घोषणा गरियो । सहमतिको खाका र आधार नै प्रस्त्ुत नभई मिति घोषणा गर्नु दलहरुको भूल हो भने निर्धारित मितिमा संविधान जारी गर्न नसक्नु दलहरुको महाभूल नै हो । विगतको संविधानसभाले गरेका निर्णयको स्वामित्व त लिइयो तर निकास अझै आउन सकेन । अब भने छिटोमा पनि जेठ नभए मङ्सिरसम्म नयाँ संविधान जारी गर्नैपर्छ । एक वर्ष हामीले त्यत्तिकै खेर फाल्यौं । संविधानसभाको बाँकी कार्यकाल अब त्यसरी नै व्यतित हुन सक्दैन, हुन दिनु पनि हुँदैन ।

संविधान निर्माणका क्रममा विवादित विषयमा सहमति जुटाउन तपाईंहरु जस्ता युवा सभासद्को भूमिका त कहीं कतै देखिंदैन नि, किन ?

स्पष्ट छ नि संविधानसभाका केही शीर्षनेताले यसलाई बन्दी र बन्धक नै बनाए । हामीजस्ता सभासद्को त खै केही भूमिका नै भएन । विवादित विषयमा संविधानसभा मातहतको समितिमा छलफल त भएको छ तर सहमति हुँदैन । अब सहमति नभएपछि त संविधानसभाको ‘फूल हाउस’मा नै जानुपर्छ । त्यसको विकल्प छैन ।

संविधान निर्माण हुन नसक्नुमा मुख्य जिम्मेवार र दोषी कसलाई मान्नुहुन्छ ?

दोषी भन्नुभन्दा पनि धेरै धेरै जिम्मेवारी हामी सबैको छ । विशेषगरी नेपाली कांग्रेस नेकपा (एमाले) लगायतका दलको धारणा संविधान निर्माण हुनुपर्छ, त्यसका लागि सकेसम्म सहमति गरौं नभए प्रक्रियामा जाऔं भन्ने रहेको छ । सहमति जुट्न नसकेको अवस्थामा संवैधानिक प्रावधान अनुसार प्रक्रियाबाटै अघि बढ्नुपर्छ । संविधानसभाभित्रका केही दल विभिन्न बहानामा संविधानसभा बाहिर जान खोजिरहेका छन् । त्यो समस्याको निकास होइन । अर्कोतर्फ दलका नेताहरु बाहिर क्रान्तिकारी र परिवर्तनका कुरा गर्ने तर यथास्थिति र हिजोकै शक्तिलाई फाइदा पुग्ने कार्य गर्दैछन् । यसको कुनै अर्थ पनि छैन । भावनामा बगेर राजनीति गर्न सकिंदैन । यस विषयमा हामी सबै स्पष्ट हुनैपर्छ ।

संघीयताको विषयमा यहाँको धारणा के हो ?

संघीयतालाई हामीले निकै कठिन हिसाबले विश्लेषण ग¥यौं । यसले गर्दा दलहरुबीच पनि मिलनबिन्दु आइसकेको छैन । विगतमा भाषिक, सांस्कृतिक र भौगोलिक हिसाबले हिमाललाई एक प्रदेशको विषयमा आवाज पनि उठेको हो तर त्यसरी हेर्दा त्यति व्यावहारिक देखिंदैन । साथीहरुले उठाएको विषयलाई शंकाको हिसाबले हेर्नुहुँदैन तर व्यावहारिक पक्षको विश्लेषण चाहिं गर्नैपर्छ । त्यसकारण संघीयतामा जाँदा विचार पु¥याउनैपर्छ । हिमाल, पहाड, तराई मिलाएर संघीयताको खाका कोर्न सकिए राम्रो हुन्छ भन्ने मेरो स्पष्ट दृष्टिकोण छ ।

अन्त्यमा आफूलाई मतदान गर्ने जनतालाई के सन्देश दिन चाहनुहुन्छ ?

मुस्ताङवासीले मलाई विश्वास गर्नुभयो यसप्रति त म सबैप्रति आभारी छु् । पहिलो त मेरो जिम्मेवारी संविधान निर्माण गर्ने नै हो । नेपालको सभासद्को हैसियतले मेरो यसखालको भूमिका रहन्छ नै र अर्को भनेको विकास निर्माण हो जुन आम जनताको चाहना र अपेक्षा पनि छ । मैले स्पष्ट गरिसकें कि सडक, शिक्षा, स्वास्थ्य, पर्यटन मुस्ताङका आवश्यकता हुन् जहाँबाटै नयाँ मुस्ताङको खोजी गर्न सकिन्छ । यस क्षेत्रमा काम हुने हो भने हामी छिट्टै नै विकास निर्माणका फड््को मार्छौं । हाम्रो जिल्लाको केही बजेट रकमान्तर गरेर विगतमा केन्द्रमा समेत तानिएको छ । यस्तो हुनुहुँदैन । जिल्लामा आएका योजनालाई सफल बनाउन जनताले पनि आ–आफ्नो स्थानबाट सक्रियता जनाउनैपर्छ । जनभावना अनुसार नै म अघि बढ्छु । जनतालाई म यही प्रतिबद्धता जनाउन चाहन्छ्ु ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना