विश्वसनीय वातावरण तयार भएमा वार्तामा बस्न सकिन्छ

धीरेन्द्रप्रसाद साह

 

Upendra Yadavराजविराज, फागुन १० गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताका लागि विश्वसनीय वातावरण तयार भएमा मात्र वार्तामा बस्न सकिने बताउनु भएको छ । 

नेपाल पत्रकार महासंघ सप्तरीले आइतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले वार्तामा बस्नु अघि विगतका सहमति सम्झौताहरुलाई कार्यान्वयन गर्ने, प्रश्नावली समिति फिर्ता गर्ने र सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धता गरेपछि मात्र वार्ताको विश्वसनी वातावरण निर्माण हुने स्पष्ट पार्नुभयो ।
सरकारले वार्ता बस्न पटक–पटक गरेको आग्रहलाई सकारात्मक भन्दै उहाँले भन्नुभयो–यो आग्रह मोर्चाको जारी आन्दोनलाई मत्थर पार्नको लागि हो ।
आन्दोलनलाई मत्थर गर्न वार्ताको आह्वान आइरहेको दाबी गर्दै उहाँले भन्नु भयो–वार्ता तब मात्रै हुन्छ जब विगतको मधेश विद्रोह र माओवादी जनयुद्वको बेला सरकारले गरेको प्रतिबद्वताहरु कार्यान्वयन हुन्छ ।
मधेशी शक्ति अब सुतेका छैनन् सरकार मधेशीलाई अधिकार नदिए तेस्रो मधेश जनविद्रोह र माओवादीहरु जनयुद्वमा फर्किने बताउनु भयो । सामथ्र्य र पहिचानको आधारमा संघियता लागू हुनुपर्ने उहाँको भनाई थियो । उहाँले अब मधेसी, उत्पीडित, शोषित, अल्पसंख्यक, महिलाहरुको संविधानमा हकअधिकार उल्लेख हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालमा ६ पटकसम्म संविधान बनिसकेपनि अन्तरिम संविधानको धारा ३१ क बमोजिम मधेश स्वायत्त प्रदेश बनाउन आफूहरुको निर्णायक आन्दोलन जारी रहने उहाँले बताउनुभयो । अब बराबर र सामनताको अधिकार नदिए सम्म जारी हुने संविधान एकदिन पनि टिक्न नसकिने दाबी गर्दै अध्यक्ष यादवले वर्तमान सरकार उत्पीडित, विपन्न, महिला, मधेसीको अधिकार दिन नचाहेर अघि बढेको आरोप लगाउनुभयो । परिवर्तनकारी शक्तिहरुलाई नकारेर संविधान जारी गर्न नसकिने भन्दै उहाँले भन्नुभयो– यदि गरियो भन्ने दुर्भाग्य हुन्छ, भोली पल्टै त्यो संविधान च्यातिन्छ, जलाइन्छ र बिद्रोहीले सत्ता कब्जा गरेर संविधान जारी गर्छ ।
सोही पत्रकार सम्मेलनमा फोरम नेपालका कोषाध्यक्ष रेणुकुमारी यादवले उत्पीडनमा परेका मधेसी, आदिवासी, जनजाती, अल्पसंख्यक तथा सीमांत्कृत वर्गका अधिकार सुनिश्चित गराउनुको साथै संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरुप र न्यायप्रणालीको संबैधानिक ग्यारेन्टीका लागि सडक र सदनमा आन्दोलन गरिरहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना