गुटमा खुम्चिँदै राजनीति

shib kumar bhattarai शिवकुमार भट्टराई




नेपालमा गुटको राजनीति संस्थागत हुँदै गएको छ ।  २०४६ सालको सफल जनआन्दोलनपछि मुलुकमा क्रियाशील अधिकांश साना–ठूला दलमा गुटको राजनीतिले बढी प्रश्रय पाउँदै आएको छ ।  त्यसैैले आज कुनै पनि दल सग्लो रहन सकेका छैनन् ।  ती दलका नेता कार्यकर्ताको पहिचान कुनै न कुनै गुटसँग जोडिएकै हुन्छ ।  अझ ठूला राजनीतिक दलभित्र त यो अपरिहार्य जस्तै बनिसकेको छ ।  यतिबेला नेपाली काँग्रेस, नेकपा एमाले होस् या नेकपा माओवादी केन्द्र नै किन नहोस् गुटको राजनीतिको माखेसाङ्ग्लोबाट जोगिन सकेका छैनन् ।  पार्टीमा विना गुटको सग्लो कार्यकर्ता बन्न खोज्नेको न कुनै हैसियत न पहिचान रहन्छ ।
गुटको राजनीतिले स्थान पाउँदा नेपाली काँग्रेसमा कृष्णप्रसाद सिटौला मौलाउनुभएको छ भने एमालेभित्र वामदेव गौतम एउटा निर्णायक शक्तिका रूपमा स्थापित हुनुहुन्छ ।  माओवादी केन्द्रभित्र नारायणकाजी श्रेष्ठको अवस्था पनि कमजोर छैन ।  यी त प्रतिनिधि पक्ष मात्र हुन् ।  यो अवस्था मधेस केन्द्रित दलहरू र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल वा राप्रपामा पनि व्याप्त छ ।  यही प्रवृत्तिले बढी महŒव पाउँदा बेला–बेलामा दलहरू विभाजनको अवस्थामा पुग्ने गरेको तीतो अनुभव हाम्रै छ ।  प्रजातन्त्रमा जीवन्त पार्टीभित्र सैद्धान्तिक मतभेद रहनु सामान्य हो ।  कुनै पनि विषयका फरक मत वा दृष्टिकोण रहँदा कमी कमजोरी सच्याउन सघाउ पुग्छ ।  यसैले लोकतन्त्रमा यसलाई सामान्य रूपमा लिन सकिन्छ तर हामीकहाँ भने सैद्धान्तिकभन्दा पनि व्यक्तिगत इच्छा र चाहनाको सम्बोधन नहुने बित्तिकै गुट बनाउने र सौदाबाजी गर्ने प्रवृत्ति मौलाएको छ ।  यो लोकतन्त्रका लागि घातक हुने निश्चित छ ।
नेपाली काँग्रेसमा लामो समयपछि गैरकोइराला नेतृत्व स्थापित भयो र मौका मिल्यो शेरबहादुर देउवालाई ।  गत महाधिवेशनमा कोइराला गुटका अर्थात् त्यसबेलाका संस्थापन पक्षका रामचन्द्र पौडेललाई देउवाले नराम्ररी पराजित गरिदिनुभयो ।  यसका लागि देउवाले पार्टीभित्रका विभिन्न गुट उपगुटलाई राम्रोसँग परिचालन गर्नुभयो ।  चाहे खुमबहादुर खड्कालाई होस् या कुलबहादुर गुरुङलाई या कृष्णप्रसाद सिटौलालाई नै किन नहोस् आफ्नो पक्षमा पार्न सफल हुनुभयो ।  यतिसम्म त ठीकै थियो ।  त्यो पार्टीभित्र गैरकोइराला नेतृत्व स्थापित हुन पाउनुपर्छ भन्ने माग र मान्यता राख्ने लाखौँ कार्यकर्ताका लागि यो अवसर पनि थियो तर त्यसपछि देउवाले पार्टी कब्जा गर्ने नाममा सधैँ गुटलाई नै महŒव दिने जुन नीति अख्तियार गर्न थाल्नुभएको छ, त्यो भने सग्लो काँग्रेसप्रति गरिएको अपमान हो ।  गएको भदौको दोस्रो साता पार्टीको सबैभन्दा महŒवपूर्ण भातृ संस्था नेपाल विद्यार्थी सङ्घको राष्ट्रिय महाधिवेशन भयो ।  यहाँ सिटौला गुटको साथ लिएर गरिएको कब्जा होस् या अन्य भातृ संस्थाको नेतृत्व चयनमा गरिएको भागबण्डाले अर्काे कोइराला प्रवृत्तिको पुनरावृत्ति हुन पुगेको छ ।  यसको पछिल्लो झट्का मन्त्री चयनका बेला छताछुल्ल भयो ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको सरकारमा मन्त्री बनाउँदा सग्लो काँग्रेसीले स्थान पाएनन्, केवल गुटको राजनीति गर्नेले मात्र यो अवसर पाए ।  केही देउवा गुटका, केही पौडेल समूहका त केही सिटौला र खड्का झुण्डकाले त्यो मौका पाए ।  जो कुनै गुटमा नलागी केवल नेपाली काँग्रेस मात्र बन्न खोज्यो, उसको त चर्चा मात्र पनि नहुने लाचारी अवस्था रह्यो ।  यसरी गुटका आधारमा सहभागी मन्त्रीहरूले समग्र काँग्रेसको पक्षमा होइन, अपितु आफ्ना गुटको हितमा मात्रै काम गर्नु स्वाभाविक हो ।  स्वयं देउवाले पनि आफूलाई एउटा गुटको नेताका रूपमा स्वीकार्नु विचित्रको अवस्था हो ।  अहिलेको अवस्थामा सिङ्गो नेपाली काँग्रेसको अध्यक्ष भएको अनुभूति दिलाउने हिम्मत र विश्वास गर्न नसक्नु देउवाको गम्भीर त्रुटि हो ।  अहिले उहाँले पौडेल वा सिटौला–खड्का गुटको नाममाभन्दा यिनै पात्रलाई सग्लो काँग्रेसका नाममा मन्त्रिमण्डलमा पठाएको भए पार्टी एकताका पक्षमा सकारात्मक सन्देश जाने थियो ।
यो अवस्था नेकपा एमालेमा पनि नराम्रै गरी संस्थागत भएको छ ।  विगतमा माधवकुमार नेपाल र खड्गप्रसाद ओली गुटको गठजोडले सी.पी. र आर.के. मैनालीलाई पाखा लगायो ।  त्यसपछि यही गठजोडले झलनाथ खनाल अनि वामदेव गौतमलाई तह लगाउने काम गरेको थियो ।  पुरानो गुटको संरचना अहिले फेरिएको छ ।  विगतमा खनालसँग रहनुभएका गौतमलाई ओलीले आफ्नो गुटसँग टाँस्न सफल भएपछि ओलीको अध्यक्ष पदमा विजय निश्चित भएको हो तर यो गठबन्धन अहिले एमालेमा भत्किएको प्रतीत हुन्छ ।  गौतम गुटले सघाएको अवस्थामा मात्र पार्टी कब्जा गर्न सहज देखिन्छ ।  त्यसैले विभिन्न गुट उपगुटले गौतमको साथ र समर्थन पाउन कसरत गर्ने गरेका छन् ।  यसले गर्दा एमालेभित्र पनि अवसर पाउनका लागि कुनै न कुनै गुटमा लाग्नुपर्छ भन्ने मान्यता बोक्ने कार्यकर्ताको मनोदशा छ ।  सग्लो एमाले हुन खोज्नेले पाउने भनेको चुनावका बेला चन्दा दिने भोट खसाल्ने मात्र हो ।  एमालेभित्र विद्यमान यो अवस्थालाई परास्त गर्न भर्खर केन्द्रीय कमिटीको बैठकले नै नीतिगत निर्णय गरेको छ तर तत्काल गुटगत प्रवृत्तिले एमालेलाई छोड्ला भन्ने अड्कल गर्न सकिन्न ।
उता, संसद्मा तेस्रो स्थानमा भए पनि कार्यकारी प्रमुख पद पाउन सफल माओवादी केन्द्रभित्रको कथा अरूभन्दा पृथक लाग्दैन ।  पार्टी अध्यक्ष प्रचण्डको ताप कडै भए पनि गुटगत राजनीतिलाई स्वीकार्नुपर्ने बाध्यता छ ।  २०६२÷०६३ को दोस्रो जनआन्दोलनपछि मुलुकको प्रमुख दलका रूपमा उदाएको माओवादी अहिले खुम्चिएर तेस्रो स्थानमा झरेको छ ।  त्यसका लागि दलभित्रको गुटबन्दी र अन्ततः फुट जिम्मेवार मान्नुपर्छ ।  मोहन वैद्य, विप्लव, मातृका यादवजस्ता नेताका गुटलाई समयमा व्यवस्थापन गर्न नसक्दा पार्टीभित्र पहिरो गएको हो ।  त्यसपछि कायम शक्तिलाई पनि प्रचण्डले व्यवस्थापन गर्न नसक्दा डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति निर्माण भयो ।  सायद त्यसैले होला प्रचण्डले विभिन्न गुटलाई समेट्नुपर्छ भन्ने ठानेर अहिले माओवादी केन्द्र स्थापना गर्नुभएको छ ।  पार्टीभित्र नारायणकाजी श्रेष्ठ समूहलाई पनि गुटका आधारमा अवसर र मौका विभाजन गर्न बाध्य भएको देखिन्छ ।  
यी तीन ठूला दलमा रहेको यो रोग अन्य साना दलमा पनि उत्तिकै व्याप्त छ ।  यही गुटगत राजनीतिको व्यवस्थापनमा भएका कमजोरीले नै मधेस केन्द्रित दलहरूको टुटफुट भएको हो ।  हिजोको सग्लो मधेसी जनअधिकार फोरम आज चार टुक्रा भएको छ ।  यस्तै तराई मधेस लोकतान्त्रिक दलको अवस्था त्योभन्दा भिन्न छैन ।  सद्भावना पार्टीको कुरा गरिसाध्य छैन ।  यस्तै राप्रपाभित्रको गुटबन्दीले विगतमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच पानी बाराबार थियो भने अहिले पशुपतिशमशेर राणा र चन्द गुटको अवस्था उस्तै छ ।  उता राप्रपा नेपाल यही गुटको व्यवस्थापन हुन नसक्दा पद्मसुन्दर लावती र केशरबहादुर विष्ट समूह अलग भएको छ ।  
गुटको राजनीतिलाई स्वीकार नगर्नेले विभाजनको अवस्थालाई स्वीकार्नुपर्ने बाध्यतालाई बुझेकैले होला ठूला दलहरू गुटलाई संस्थागत गर्न तम्तयार देखिएका छन् ।  गुटलाई वैधानिकता दिँदै जाने हो भने समग्र पार्टीको छवि र पहिचान बनाएर अगाडि बढ्छु भन्ने नेता कार्यकर्ताले कुनै मौका पाउने छैनन् ।  अनि नयाँ पुस्ताले राजनीतिमा असल नियतका साथ काम गर्ने अवसर पाउने छैनन् ।  विगतमा गुटको राजनीतिबाट आफूलाई अलग राख्ने उद्घोष गर्ने नेपाली काँग्रेसका युवा नेता गगन थापा हुन् या विश्वप्रकाश शर्मा अवसर प्राप्तिका लागि गुटगत राजनीतिलाई मलजल गर्न बाध्य भए ।  फलतः आज गगन मन्त्री र शर्मा पार्टीको केन्द्रीय सदस्य चयन भएको अवस्था छ ।  यी दुवै युवाले सग्लो काँग्रेस निर्माणमा धेरै शब्द खर्च गर्नुभएको थियो विगतमा तर नियतिले उहाँहरूलाई नै गुटको राजनीति गर्न बाध्य तुत्यायो ।  नेपालजस्तो मुलुकका लागि सायद यो विडम्बना स्वीकार्नुको विकल्प नै छैन
कि !

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना