आज विश्व मुटु दिवस , जीवनशैली परिवर्तन गरे रोगबाट बच्न सकिने

mutu diwasकाठमाडौँ, असोज १३ गते ।  मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल र भयानक बन्दै गइरहेको छ ।  नेपालमा हाल २५ प्रतिशत मानिस मुटु रोगबाट पीडित रहेको अध्ययनले देखाएको छ ।  यसलाई सङ्ख्यामा परिणत गर्ने हो भने ६५ लाख  जनता कुनै न कुनै मुटु रोगबाट ग्रस्त छन् ।  नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगीको सङ्ख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ ।  
‘यसको प्रमुख कारण मानिसको जीवनशैलीमा आएको अस्वस्थकर परिवर्तन नै हो’, वरिष्ठ मुटु रोग विशेषज्ञ यादव भट्टले भन्नुभयो, “हाल नेपालमा हृदयाघातसँगै  उच्च रक्तचाप र मधुमेहजस्ता घातक रोग तीव्र गतिमा बढिरहेको छ । ”
डा. भट्टका अनुसार मुटु रोग बढ्नुमा जीवनशैलीसँगै धूमपान, मोटोपन, शारीरिक अभ्यासको कमी, असन्तुलित आहार, अल्छिपन, बनावटी खानाको अत्यधिक प्रयोग, मानसिक तनाव हो ।  नियमित स्वास्थ्य परीक्षण नगराउनु हृदयाघातको मुख्य कारण मानिन्छ, मुटुरोग विशेषज्ञ डा. भट्टले भन्नुभयो, “मुटुरोगलाई नियन्त्रणमा राख्ने हो भने मानिसले आफ्नो जीवनशैलीमा व्यापक मात्रामा परिवर्तन गर्नैपर्छ । ”
अर्का मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटुका विभिन्न समस्यामध्ये हृदयाघात, भल्बको रोग, मुटुका मसल कमजोर हुने रोग, मुटुको चालमा गढबढ हुनु र जन्मजात हुने मुटु रोग प्रमुख रहेको बताउनुभयो ।  डा. रेग्मीले हृदयाघात भइसकेपछि सुविधासम्पन्न अस्पतालमा पु¥याउँदा सात प्रतिशतको मृत्यु भइसक्ने जानकारी दिनुभयो ।  डा. रेग्मीले मानिसको जीवनशैलीलाई ध्यान दिएर दैनिक एक घण्टा हिँड्ने बानी बसाल्नुपर्ने बताउनुभयो ।  
विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
सन् २०२० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्सेनि २ करोड ५० लाख पुग्नेछ र हृदयाघातले सरुवा रोगलाई उछिनेर संसार कै हत्यारा नम्बर एकका रोगका रूपमा स्थापित हुनेछ ।  
यो क्रम निरन्तर बढ्दै जाने हो भने केही वर्षभित्र नेपालमा जति मानिस मर्छन् त्यसको ५० प्रतिशत हृदयाघातलगायत मुटुसम्बन्धी रोगका कारणले मात्र मर्ने देखिन्छ ।  १० वर्षअघिसम्म ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा हाल युवा अवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको छ ।   वरिष्ठ मुटु रोग विशेषज्ञ रेग्मीले भन्नुभयो– “पछिल्लो समय जन्मजातै वा युवावस्थामा समस्या देखिन थालेको छ । ”
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलले नेपालमा बढ्दो शहरीकरण, खानपान, मानिसको जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना