माथिल्लो मस्र्याङ्दी–‘ए’ बाट व्यवसायिक उत्पादन सुरु


Edited news asoj 10नवीनराज कुइँकेल, भुलभुले (लमजुङ), असोज १० गते । यहाँ निर्माणाधिन माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाले सोमबारदेखि व्यवसायिक उत्पादन सुरु गरेको छ । ५० मेगावाट क्षमताको आयोजनाबाट अहिले २५ मेगावाट विद्युत उत्पादन गरिएको छ ।
व्यवसायिक रुपमा उत्पादित विद्युत १३२ केभीएको भुलभुले–मध्यमस्र्याङ्दी ‘सिंगल सर्किट’ को प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको छ । सोमबार दिउँसो ४ः१५ बजे काठमाडौंको होटल हायतबाट उर्जामन्त्री जनार्दन शर्माले उद्घाटनको घोषणा गरेलगत्तै यहाँबाट उत्पादन सुरु गरिएको थियो ।
उर्जामन्त्रीको घोषणासँगै पावरहाउमा रहनुभएका सांसद् डा. भीष्मनाथ अधिकारी, माथिल्लो मस्र्याङ्दी– ए आयोजनाका कार्यकारी प्रवन्ध निर्देशक यान हुङ वे र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले पावरहाउसमा ‘स्वीच अन’ गरेर उत्पादनको सुरुवात गर्नुभएको थियो ।
आयोजनामा २५÷२५ मेगावाटको दुई वटा टर्बाइन जडान गरिएको छ । दुईवटामध्ये युनिट नं. १ टर्वाइन सञ्चालनमा ल्याइएको छ । ‘परिक्षणको रुपमा एकसाता अघि देखि नै टर्बाइन घुमाइएको थियो ।’, सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले भन्नुभयो, ‘सोमबारदेखि व्यवसायिक रुपमा उत्पादन गरिएको छ ।’ व्यवसायिक उत्पादन सुरु भएको अवसरमा आयोजना कार्यक्रममा सांसद् डा. भीष्मनाथ अधिकारीले तोकिएको समयमा नै माथिल्लो मस्र्याङ्दी–ए बाट विद्युत उत्पादन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले यस आयोजनाबाट उत्पादित विद्युतले लोडसेडिङ घटाउन मद्दत पुग्ने बताउनुभयो ।
आयोजनाले युनिट नं. २ को परीक्षण पनि सफल भएको तर, विद्युत प्राधिकरणसँगको सम्झौताअनुसार तीन महिनापछि सञ्चालनमा ल्याइने बताएको छ । भुलभुले–मध्यमस्र्याङ्दी २० किलोमिटर लम्बाइको प्रसारण लाइन गत साता परीक्षण गरिएको थियो । नेपाल विद्युत प्राधिकरणले प्रसारणलाइन बनाउनुपर्ने भएपनि प्राधिरकणले बनाउने छाँटकाँट नदेखाएपछि आयोजना स्वय्मले ३० करोडको लागतमा २० किलोमिटर लामो प्रसारणलाइन निर्माण गरेको थियो । पावरहाउसदेखि मध्यमस्र्याङ्दीसम्म आयोजनाले आफैं प्रसारणलाइन बनाएको हो ।
माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सिनोहाइड्रो–सगरमाथा पावर कम्पनीले निर्माण गरेको हो । आयोजनामा चिनिया बहुराष्ट्रिय कम्पनीको सिनो होइड्रोको ९० र नेपालको सगरमाथा हाइड्रोपावर कम्पनीको १० प्रतिशत लगानी रहेको छ । रन अफ रिभर प्रविधिमा निर्माणाधिन उक्त आयोजनाका लागि शुरुमा साँढे १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । अहिले करीब १६ अर्ब पुग्ने अनुमान गरिएको आयोजना स्रोतले बताएको छ ।
आयोजनाबाट उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको दमौली प्रसारणलाइनमा जोगिएको छ । आयोजनाले सुख्खायाममा अर्थात पुसदेखि चैतसम्ममा ५ करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट गरी एक वर्षमा कुल ३१ करोड ७६ लाख युनिट विजुली उत्पादन गर्ने जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना