संसारले खोज्ने एक सिङे गैंडा नेपालका झाडी र बुट्यानमा

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असोज १०  गते । अठारौँ शताब्दीदेखि अस्तित्वमा देखिँदै आएको गैँडाको सङ्ख्या एक्काइसौँ शताब्दीमा आइपुग्दा निकै कम हुँदै गएको छ ।  अन्य वन्यजन्तु जस्तै यसको पनि बासस्थान, चरिचरनमा सङ्कट पर्दै जाँदा अनि शिकारीको निशानामा पर्नाले दिनप्रतिदिन गैँडा विश्वबाट लोप हुने अबस्थामा पुगेको हो ।  चौतर्फी आक्रमण भइरहँदा पनि गैँडाले आफ्नो अस्तित्व यो संसारमा देखाइरहेकै छ ।  दुई दशक यताको अवस्था हेर्दा विश्वका कैयौँ देशले आफ्नो देशबाट गैँडाको अस्तित्व मेटाइसकेका छन् ।  संरक्षणमा ध्यान नदिँदाको प्रतिफल कतिपय देशले गैंडालाई आफ्नो सम्पत्ति हो भन्नबाट वञ्चित हुनुपरेको छ ।  हाल अस्तित्वमा रहेका गैंडाको अध्ययन गर्दा पाँच प्रजातिका गैंडा विभिन्न भूगोलमा पाइने गरेका छन् ।  सिङको आधारमा एक सिङे र दुई सिङे गरी दुई किसिमका गैंडामा हाल अस्तित्वमा रहेका छन् ।  एक सिङे गैंडा नेपाल र भारतमा मात्र पाइने गरेका छन् भने दुई सिङे गैंडा संसारका अन्य देशमा पनि अस्तित्वमा रहेका छन् ।  दुई सिङे गैंडा सेतो, कालो, जाभान र सुमात्रान प्रजातिका रहेका छन् ।  सेतो र कालो गैंडा विशेष गरी अफ्रिकी मुलुकका जङ्गलमा पाइने गरेको छ भने जाभान प्रजातिको गैंडा तौलको हिसाबले एकदमै सानो हुने गर्छ ।  विश्वभरीमा यसको सङ्ख्या ४६ देखि ६६ सम्म मात्र रहेको अनुमान गरिएको छ ।  सुमात्रान प्रजातिका गैंडा इन्डोनेसिया र मलेसियाको जङ्गलमा पाइने गरेको छ ।  सेता गैंडाको सङ्ख्या विश्वभरीमा २० हजारको हाराहारीमा र कालो गैंडाको सङ्ख्या पाँच हजार जति रहेको अनुमान गरिएको छ ।  gaida
एक सिङे गैंडा नेपाल र भारतका जङ्गलमा पाउने गरेको छ ।  यसको सङ्ख्या करिब दुई हजार छ सय जति रहेको अनुमान गरिएको छ भने नेपालको गत वर्षको गैंडा गणनाले ६४५ वटा गैंडा रेकर्ड गरिएको छ ।  एक सिङे गैंडाको विश्वको कुल सङ्ख्याको एक तिहाई नेपालका तराईका जङ्गल, झाडी, बुट्यानमा पाइने गरेका छन् ।  नेपालले गैंडाको संरक्षणका लागि विगत केही वर्ष यता शून्य शिकार वर्ष सफल रूपमा सञ्चालनमा ल्याइसकेको छ ।  चितवनदेखि पश्चिम शुक्लाफाँटा वन्यजन्तु आरक्षसम्म यसको बासस्थान मानिन्छ ।  एक सिङे गैंडाको लागि चितवन राष्ट्रिय निकुञ्ज निकै उर्वरभूमि मानिन्छ ।  दलदल पानी भएको सिमसार क्षेत्रमा बस्न रुचाउने भएकाले गैंडाका लागि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा गैंडाको सङ्ख्या बढी पाइने गरेको छ ।  नजिक नारायणी र राप्तीको किनार अनि निकुञ्जभित्र भएका तालतलैया गंैडाका लागि उपयुक्त बासस्थान मानिन्छ ।  गैंडाले एक दिनमा कतीमा २० प्रतिशत समय पानीमा बिताउने गर्छ ।  चितवनमा हाल गैंडाको सङ्ख्या ६०० पुगेको छ ।  
ठूलो सङ्ख्या चितवनमा भएपनि गैंडाका लागि दोस्रो र तेस्रो बासस्थानको रूपमा बर्दिया र शुक्लाफाँटा विकसित भइरहेको छ ।  चितवन पछि सबैभन्दा राम्रो बासस्थान बर्दिया राष्ट्रिय निकुञ्जको बबई टापु मानिन्छ ।  कर्णाली नदीको बहावसँग रहेको यो टापुमा गैंडा चर्नका लागि राम्रो घाँसे मैदान भएको क्षेत्र हो ।  हाल बर्दियामा ३४ सङ्ख्यामा गैंडा रहेका छन् ।  उता तेस्रो बासस्थानका रूपमा शुक्लाफाटा वन्यजन्तु आरक्ष स्थापित हुँदै आएको छ ।  शुक्लामा गैंडाको सङ्ख्या आठ पुगेको छ ।  
सन् १९८६ मा चितवनबाट १३ वटा गैंडा बर्दियामा स्थानान्तरण गरेर बर्दियालाई गैंडाको अर्काे बासस्थान बनाउने प्रयास गरिएको हो ।  गैंडा संरक्षणको इतिहासमा एउटा दुर्भाग्य नै भन्नुपर्छ, बबई उपत्यकामा सारिएका ७० वटा गैंडा द्वन्द्वकालमा सबै मारिए र नेपालमा गैंडाका लागि सङ्कट सुरु भएको महसुस गरियो ।  यसैले नेपालमा गैंडा संरक्षणमा चोरी शिकार एउटा प्रमुख चुनौतीको रूपमा देखा परेको छ ।  अर्काेतिर मिचाहा प्रजातिका माइकेनिया जस्ता झारले गैंडाको बासस्थानमा बिगार्ने गरेकोले पनि गैंडाको बासस्थानमा चुनौती थपिएको छ भने संरक्षित क्षेत्रभित्र ताल तलैयाहरू सुक्दै जाने क्रम बढिरहेको, जलवायु परिवर्तनको असर, बाढी लगायतका प्राकृतिक प्रकोप तथा महामारी रोग व्याधले पनि नेपालका गैंडा संरक्षणका लागि चुनौती खडा गरिरहेको विज्ञहरूको भनाइ रहेको छ ।  द्वन्द्व कालमा खुम्चिएका नेपाली सेनाका सुरक्षा पोस्ट पुनः खडा हुनु, नेपाल प्रहरीले अनुसन्धान ब्युरोभित्र वन्यजन्तुको चोरी शिकार नियन्त्रण गर्न छुट्टै संयन्त्र खडा गर्नु, मध्यवर्ती क्षेत्रका बासिन्दाले पनि संरक्षणमा प्रभावकारी रूपमा सक्रियता र सहकार्य गर्नुलगायतका कारणले चोरी शिकारमा केही वर्ष यता सफलता हासिल भइरहेको छ ।  ऐतिहासिक कालखण्डमा नेपालको पूर्वी क्षेत्रमा पनि गैंडा अस्तित्वमा रहेको भेटिएको छ ।  हाल चितवन पश्चिम मात्र गैंडाको उपस्थिति भेटिन्छ ।  बासस्थानको उचित व्यवस्थापन र सुधार गर्न सके पर्सादेखि कोशी टप्पु क्षेत्रमा पनि पुनः गैंडालाई विचरण गराउन सकिने अवस्था अझै रहेको छ ।  विशेष गरी कोशी टप्पु क्षेत्रमा पानीको अभाव नहुने भएकाले कोशी नदी किनारदेखि उत्तरको उदयपुरक्षेत्रसम्मा गैंडाको बासस्थान हुन सक्ने विज्ञहरूको भनाइ रहेको छ ।  विडम्बना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा संरक्षणका लागि हालसम्म कार्ययोजना निर्माण गर्न सकेको छैन ।  सन् २००६ देखि २०११ सम्मका पाँच वर्षे कार्ययोजना सकिएको पाँच वर्ष हुन लाग्दासमेत विभाग तातेको देखिँदैन ।

अबको गन्तव्य बबई उपत्यका
कर्णाली नदीको किनारमा रहेको यो उपत्यका गैंडाको चरिचरन र बासस्थानका लागि गतिलो स्थान हो ।  कर्णाली नदीको बाढी आएर दलदल हुने यो स्थानमा गैंडाका लागि घाँसे मैदान प्रशस्त छन् ।  हाल नेपाली सेनाले पनि सुरक्षा पोस्ट स्थापना गरिसकेको छ ।  चितवन पछि गैंडाको चरिचरन, बासस्थान धान्न सक्ने क्षेत्र बबई उपत्यका भएकाले अब बबईलाई गैंडाको दोस्रो बासस्थानका रूपमा विकसित गर्न सरोकारावाला निकायले लाग्न जरुरी छ ।  चितवनबाट छोडिएका ७० गैंडा मध्य ३६ वटा गैंडा चोरी शिकारबाट मारिएका र २४ वटा गैंडा प्राकृतिक रूपमा मृत्युभएको एक अध्ययनले देखाएको थियो ।  वि.सं २०६३ सालमा त यो सङ्ख्या शून्य नै भएको थियो ।  उता कर्णाली नदी आसपासमा छोडिएका १३ वटा गैंडाबाट हाल २९ वटा गैंडा हुन पुगेका छन् ।  तत्कालीन अवस्थामा गैंडा छोडिए पनि सुरक्षाको पहुँचभन्दा टाढा भएको र नियमित अनुगमन र रेखदेख हुन नसक्दा बबई उपत्यकाका सबै गैंडा गुमाउनुपरेको हो ।  

बबई उपत्यका भर्जिन ल्यान्ड हो

ramesh thapaरमेश थापा, प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज

एक सय वर्ष पहिला बर्दियामा गैंडा भएको र गैंडा मारिएको मुद्दा अदालतमा दायर भएको इतिहास छ ।  पछि एकताका यो क्षेत्रमा गैंडाको सङ्ख्या शून्य भयो ।  चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका गैंडाको पनि द्वन्द्वका बेला सुरक्षा दिन सकिएन ।  हाल बबई उपत्यकामा घाँसे मैदानलाई पुनर्जीवन दिने काम भएको छ र पानीको घोल निर्माण गर्ने कार्य हामीले गरेका छौँ ।  यो उपत्यका गैंडाका लागि भर्जिन ल्यान्ड हो ।  यहाँ गैंडाका लागि उपयुक्त बासस्थान हुन सक्ने कुरामा अध्ययन पनि भएका छन् ।  हाल संवेदनशील स्थानका सुरक्षा पोस्ट पनि स्थापना गरिएका छन् ।  सडक मार्गको पहुँचलाई पनि विस्तार गरिएको छ ।  पोहोर साल चितवनबाट ल्याइएको पाँचवटा गैंडा र हाल एउटा बच्चासहित छ वटा गैंडा बबई उपत्यकामा सजिलैसँग देख्न सकिन्छ ।  कर्णाली नदी क्षेत्रमा हाल २९ वटा गैंडा रहेका छन् ।  



गैंडाको नयाँ घर खोज्न सकिन्छ

shanta raj gewaliडा. शान्तराज ज्ञवाली, गैंडा विशेषज्ञ

एक सिङे गैंडालाई संसारले खोजी रहेको छ ।  नेपालमा भने चितवन, बर्दिया, शुक्लाफाँटामा गरी सयौँको सङ्ख्यामा यी अस्तित्वमा रहेका छन् अर्थात् संसारले खोजी राखेको कुरा पाइला पाइलामा हामीसँग छ ।  त्यसैले संरक्षणमा नेपालले बढी ध्यान दिनु जरुरी छ ।  पश्चिम नेपालका संरक्षित क्षेत्रमा मात्र होइन, पूर्वी नेपालमा पनि गैंडाको बासस्थान निर्माण गर्न सकिन्छ ।  कोशी टप्पु क्षेत्रको उत्तरी भेगमा गैंडाका लागि नयाँ घर हुन सक्ने सम्भावना निकै छ ।  यसका लागि सरकारले तत्परता देखाउनु प¥यो ।  चरन र बासस्थानका दृष्टिले गैंडाको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ ।  हामीले गैंडाको शून्य शिकार वर्ष मनाइरहँदा जलवायु परिवर्तनले यसको वासस्थान, चरिचरनमा पु¥याइरहेको असरप्रति पनि ध्यान दिनु उत्तिकै आवश्यक छ ।  चोरी शिकार, अवैध व्यापारलगायतका केही स्थानीय समस्यालाई सबै सरोकारावालाहरूले एकीकृत ढङ्गले काम गर्ने हो भने नियन्त्रण र निर्मूल पार्न सकिएला तर जलवायु परिवर्तनको असरलाई बेलैमा सोचिएन भने हामीले पछुताउनुपर्ने हुनसक्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना