मानव केन्द्रित विकास दिगो विकास

rajendra paudaelराजेन्द्र पौडेल

 

विकासको परिभाषा व्यक्ति, समाज र देशअनुसार फरकफरक हुनसक्छ । हरेक मानिस, समाज र देशका आ–आफ्नै विकास लक्ष्य र उद्देश्यहरू हुन्छन् । काठमाडौँको एउटा सम्पन्न परिवारले खोजेको र चाहेको विकास अवश्य पनि कर्णाली क्षेत्रको विपन्न परिवारले चाहेको भन्दा फरक हुन्छ । सजिलो अर्थमा भन्दा बिहान बेलुकाको छाक टार्न धौधौ हुने मानिसलाई सजिलोसँग खान लगाउन पुग्नु उसका लागि विकास हो । समाजमा हेपिएर, दबिएर रहेका व्यक्तिले निर्धक्क आफ्नो कुरा राख्न पाउनु वा बोल्न सक्नु उसका लागि विकास हो । नुन र तेलका लागि तीन घण्टा हिँडेर बजार पुग्नुपर्ने अवस्थाबाट घर छेउकै पसलमा चाहेअनुसारको सामान किन्ने सुविधा उपलब्ध हुनु विकास हो ।
नेपालजस्ता मुलुकको आजको सामाजिक, आर्थिक र राजनीतिक धरातलले अमेरिकी, युरोपेली, जापानी, चिनियाँ र भारतले खोजेको जस्तो विकासको परिकल्पना गर्न सक्दैन । नेपालीको विकासको परिकल्पना भनेको सबैलाई दुई छाक खान पुगोस् । बिरामी हुँदा औषधि र स्वास्थ्य उपचार सेवा सहज, सुलभ र आफ्नो क्षमताले धान्न सकोस् । बस्नका लागि बासको व्यवस्था होस् । सबैको शिक्षामा पहुँच पुग्न सकोस् । लैङ्गिक विभेदीकरण उन्मुलन होस् । त्यसैले वर्तमान अवस्थाबाट सकारात्मक दिशातर्फ हुने आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक, राजनीतिक एवं वातावरणीय उन्नति वा प्रगति नै विकास हो ।
नोवल पुरस्कार विजेता वरिष्ठ अर्थशास्त्री प्रा.अमत्र्य सेनले विकासलाई व्यक्तिद्वारा स्वतन्त्रताको जति बढी उपभोग गर्न सक्छ त्यति नै बढी मात्रामा विकासको आयाम अभिवृद्धि हुँदै अगाडि बढ्छ भन्ने अर्थमा लिनु भएको छ । व्यक्तिगत स्वतन्त्रताको साथै राजनीतिक स्वतन्त्रता, आर्थिक सुविधा, सामाजिक सु–अवसर सामाजिक सुरक्षाको प्रत्याभूति र अरू विविध स्वतन्त्रता मिलेर व्यक्तिको योग्यता, क्षमता र व्यक्तित्वको विकास हुन्छ र व्यक्तिको योग्यता र क्षमताले नै विकासको तह निर्माण गर्छ भन्ने उहाँको अभिप्राय छ । उन्नति वा प्रगतिको स्तरीयताको मापदण्डको आधारमा विकासको कुन स्तरमा छ भनेर छुट्टयाउने गरिएको छ । को मानिस सम्पन्न वा कमजोर छ अथवा कुन देश विकसित र कुन अविकसित भन्ने मापनका केही सूचकाङ्कहरू हुन्छन् । देशको कुल गार्हस्थ उत्पादन विकसित र अविकसित देश छुट्टयाउने एउटा बलियो आधार बनेको हुन्छ । कुनै पनि देशभित्र विद्यमान प्राकृतिक एवं मानवस्रोत र साधनहरूको पर्याप्तता, स्रोत र साधनमाथिको पहुँच, उत्पादन र वितरणको समान अधिकार एवं समानुपातिक वितरण, शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था, सामाजिक सुरक्षाको अवस्थाजस्ता सूचकाङ्कहरूका आधारमा विकासको अवस्थालाई वर्गीकरण गर्न सकिन्छ ।
प्रत्येक देशले विकासका आफ्नै नीति र कार्यक्रम बनाएको हुन्छ । आफ्नो देशको क्षमता र आवश्यकताको आधारमा विकासका नीति र कार्यक्रम बन्दछन् । कसैले औद्योगिकीकरणलाई आर्थिक समृद्धिको रूपमा हेर्ला त कसैले पूर्वाधार विकासलाई प्राथमिकता देला । त्यसरी नै कसैले राजनीतिक स्थायीत्वलाई पहिलो प्राथमिकतामा राख्ला त कसैले सामाजिक न्याय र सुरक्षालाई महìव देला । अमेरिकी र युरोपलीहरूका लागि विकास अनुसन्धानको एक अभिन्न अङ्ग मानिन्छ । उनीहरू विकासको निम्ति परिवर्तन अपरिहार्य ठान्छन् । उनीहरूको विकास आधुनिकता र वैज्ञानिक संयन्त्रसँग जोडिएको छ । नेपाल लगायतका केही अल्पविकसित मुलुकका लागि राजनीतिक स्थायित्व नै प्रमुख प्राथमिकताको विषय बनेको छ ।
साधारण अर्थमा विकासलाई दुई किसिमबाट बुझ्न सकिन्छ । एक अल्पकालीन विकास र अर्को दिगो विकास । विकास दिगो हुनुपर्छ र भावी सन्ततिले पनि त्यसको उपयोग गर्न पाउनु पर्छ । भावी सन्ततिलाई वञ्चित हुनेगरी गरिने विकासलाई दिगो विकास भन्न सकिँदैन । व्यापक रूपमा भन्ने हो भने दिगो विकास कुनै एउटा समाज, देश वा महादेशभित्र मात्र सीमित रहन सक्दैन । सम्पूर्ण विश्वले दिगो विकासको अवधारणालाई आत्मसात् गर्दै कार्यान्वयन गरेमा त्यसले सही गति लिन सक्छ । एक दुई देशले मात्र अनुशरण गर्ने तर बाँकीले गरेनन् भने त्यसको कुनै अर्थ रहँदैन । कसैले वातावरण जोगाउने नाममा कुटो कोदालोको भरमा पहरा फोर्नुपर्ने तर कसैले ओजन तह नै पातलो बनाउने गरी आणविक भट्टी सञ्चालन गरेर संसारलाई नै थर्काउन पाउने हो भने, यस्तो विकासको असमान पद्धतिले स्थायी शान्ति दिन सक्दैन ।
दिगो विकासका लागि गरिबी निवारण पहिलो सर्त हो । जबसम्म गरिबी रहन्छ तबसम्म दिगो विकासमा अवरोध खडा भई नै रहन्छ । त्यसैले सारा विश्वको ध्यान यसतर्फ केन्द्रित हुन जरुरी छ । त्यसरी नै स्वच्छ र शान्त वातावरण, व्यक्तिगत स्वतन्त्रता, सुरक्षा लगायतका विषय पनि दिगो विकास र आर्थिक समृद्धिका आधारभूत तìव हुन् । गरिबी, बेरोजगारी, राजनीतिक अस्थिरता, सामाजिक असमानता एवं जातीय, लैङ्गिक, धार्मिक र रङ्गीय भेदभावजस्ता कारण विश्वमा दिन प्रतिदिन अशान्ति बढ्दै गएको छ । जसका कारण कैयौँ देश लामो समयदेखि युद्धको मारमा परेका छन् र त्यहाँका जनता त्रासदीपूर्ण जिन्दगी बिताउन बाध्य छन् । त्यसैले सबै तìवहरूको सन्तुलन मिलाएर समृद्धितर्फ लम्कनु आजको आवश्यकता हो । देशको आर्थिक विकासलाई प्राथमिकता दिएर गरिने पूर्वाधार विकासहरू जस्तै जलस्रोत, बाटो, रेलमार्ग, सिंचाइ आदिको पनि अन्ततः उद्देश्य भनेको जनताको हितकै लागि हो । त्यसैले योजना निर्माण गरिँदा जनताको चाहना र आवश्यकता अनुरूप गरिनुपर्छ । जनचाहनाभन्दा बाहिर गएर राज्यले जबरजस्त रूपमा थोपिरिदिएको विकास दिगो हुन सक्दैन ।
आर्थिक रूपले सम्पन्न देश मानव विकासका दृष्टिकोणले सम्पन्न नै हुन्छन् पनि भन्न सकिँदैन । उत्तर कोरिया आर्थिक रूपले सम्पन्न होला तर मानव विकासका दृष्टिकोणबाट धेरै पछाडि रहेको अवस्थामा छ । मानवीय हितलाई सर्वोपरी मानेर गरिने विकासले लक्ष्य हासिल गर्न केही समय लिन सक्ला तर त्यो दीर्घकालीन हुन्छ । ठूला औद्योगिक र आर्थिक रूपले सम्पन्न राष्ट्रहरूले खोलेका विभिन्न आणविक भट्टीबाट निस्कने प्रदूषणले भयानक डरलाग्दा रोगहरू फैलिरहेका छन् यद्यपि उनीहरूका लागि उपचार सहज छ तर गरिब देशका मानिसका लागि भने यो विकराल समस्याको हो । समृद्ध देशले निम्त्याएका यस्ता समस्याबाट गरिब देशका जनता दिनानुदिन मारमा पर्दै गएका छन् । आफू शक्तिशाली बन्ने होडबाजीमा गरिने उन्नतिको कारण अरूलाई अन्याय हुने विकास कदापि दिगो विकास हुनसक्दैन । यस्ता गतिविधिले समाजमा वा देश देशको बीचमा द्वन्द्व निम्त्याउँदैछ । अन्ततः द्वन्द्वका कारण देश देशका बीचमा युद्ध हुनसक्छ र यसैका कारण युद्ध भइरहेका पनि छन् ।
दिगो विकास त्यसैलाई भनिन्छ जहाँ मानवीय हितका लागि योजना बन्छन् र त्यस्ता योजनाले वातावरणीय सन्तुलन कायम गर्दै भावी सन्ततिको हक, अधिकारका लागि समेत सोच्छन् । दिगो विकासका मूलतः आर्थिक, सामाजिक र वातावरणीय उद्देश्य हुन्छन् । आर्थिक उद्देश्य अनुरूप आर्थिक वृद्धि, चुस्तता र स्थायित्वमा ध्यान दिइन्छ । सामाजिक उद्देश्य अनुरूप पूर्णरोजगारी, समानता, सुरक्षा, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरामा समान सहभागिता र सांस्कृतिक पहिचानजस्ता कुरामा ध्यान दिइन्छ । त्यसरी नै वातावरणीय उद्देश्यअन्तर्गत स्वस्थकर वातावरण, समुचित प्राकृतिक स्रोत साधनको उपयोग र त्यस्ता स्रोत साधनको संरक्षणमा ध्यान दिइन्छ । यिनै तìवलाई मध्यनजर गरी गरिने मानव केन्द्रित विकास नै वास्तवमा दिगो विकास हो । आर्थिक वृद्धि, सामाजिक समता र वातावरणीय सन्तुलनबीच सामन्जस्यता भए मात्र दिगो विकासको अवधारणाले सार्थकता पाउनेछ ।

 

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना