परोपकार संस्थाको अवस्था दयनीय

प्रकृति अधिकारी

काठमाडौँ, असोज १०  गते ।  “असहाय, दीनदुःखीको सेवा गर्ने उद्देश्यले परोपकार संस्था खोलिपाऊँ” भन्ने बिन्ती चढाएपछि तत्कालीन प्रधानमन्त्री पद्मशमशेर र भाइभारदारको मनमा चिसो पस्यो ।       संस्थामार्फत अब दयावीरसिंह कंसाकारले जनतालाई सचेत तुल्याउने र राणा शासनका विरुद्ध चलखेल गर्ने योजना त बनाउन लागेका होइनन् भन्ने शङ्का गरियो ।  
औषधालयका नाममा मात्र अनुमति दिन सकिने र त्यसका लागि पाँच जनासहितको लिखित निवेदन पुनः जाहेर गर्नू भनियो ।
परोपकार संस्थाका वर्तमान अध्यक्ष हितकरवीरसिंह कंसाकारले २००४ साल साउनताकाको घटनाको यसरी बेलिविस्तार लगाउनुभयो, “परोपकार औषधालयका नाममा निवेदन तयार भयो ।  निवेदकका रूपमा दयावीरसिंह बाहेकका अन्य चार जना फेला पार्न निकै कठिन भयो ।  निवेदनमा हस्ताक्षर गरेपछि राणाहरूले झ्यालखानामा लगेर थुन्ला कि भन्ने डरले कसैले पनि हस्ताक्षर गर्न चाहेनन् ।  आफन्त र साथीहरूसँग आग्रह गरेर बल्लतल्ल सिंहदरबारमा निवेदन बुझाइएको थियो । ”
केलटोलका दयावीरसिंह, मासंगल्लीका चन्द्रवीरसिंह, भीमसेनस्थानका गोविन्दप्रसाद वैद्य, भोटाहिटीका पद्मधिशानन्द वैद्य र मरुहिटीका तुलकमान न्हुछे प्रधानको हस्ताक्षर बुझाइएको थियो ।
नभन्दै २००४ साल असोज १० गते निवेदनमा खड्ग निशाना लाग्यो अर्थात् तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले अनुमति प्रदान गर्नुभयो तर सर्तका फेहरिस्त नै थिए ।  नेपालकै पहिलो सामाजिक संस्थाका रूपमा परोपकार औषधालय (हालको परोपकार संस्था) स्थापना भयो ।  मच्छिन्द्रबहाल (जनबहाल) को एउटा पुरानो घरको छिँडीमा भाडा तिर्ने गरी संस्था सञ्चालन गर्न थालियो ।
“हस्ताक्षर गर्नुहुनेमध्येका कम्पाउन्डर तुलकमान प्रहरीलाई देख्नासाथै डराउने हुनुभयो ।  हस्ताक्षर गरेकाले कतै मलाई प्रहरीले पक्राउ गरी थुन्ला कि भन्ने डरैले उहाँ वित्नुभयो”, हितकरसिंहले भन्नुभयो ।  
‘रोगले दुःख पाइरहेका असहाय दुःखी रोगीका निम्ति घरघरमा कन्तुर राखी इच्छाअनुसार मुनाफा उठाई त्यसबाट औषधि गर्ने गराउने’ भनी लेखिएको निवेदन स्वीकृत गर्दै हिसाब जाँच्ने र रेखदेख गर्न सरकारका तर्फबाट एक जना मानिस चाहिएका बखत पठाउन सकिने तथा पासवाला कम्पाउन्डर राख्नू भनियो ।  
२००० सालमा वीर अस्पतालमा रक्तदान गरी पहिलो नेपाली रक्तदाताका रूपमा नाम लेखाउन सफल बन्नुभएका दयावीरसिंह औषधालयमा मात्र सीमित बन्नुभएन, अन्य क्षेत्रमा परोपकार गर्दै आउनुभएको थियो ।  २००७ साल फागुन ४ गते तत्कालीन राजा त्रिभुवन स्वदेश फिर्ता भएपछि स्वागतार्थ दयावीरसिंहकै पहलमा गौचरस्थित विमानस्थलदेखि बागबजारसम्म प्रवेशद्वार निर्माण गरिएका थिए र तिनमा परोपकार संस्था भनी लेखिएको थियो ।  यसले नै नेपालको पहिलो सामाजिक गैरसरकारी संस्था बन्ने अवसर प्राप्त ग¥यो ।  लगत्तै लैनचौरमा त्रिभुवनलाई नागरिक अभिनन्दनसमेत गरेको थियो ।
संस्थाले २००८ सालमा नै अनाथालय सञ्चालन गर्न भीमसेनस्थानमा १६ रोपनी जग्गा प्राप्त गरेको थियो ।  २००९ साल असार १० गतेबाट एकतले भवन निर्माण गरी अनाथालय सञ्चालन गरेको परोपकार संस्था अन्तर्गत हाल परोपकार आदर्श हाइस्कुल, परोपकार अनाथालय, परोपकार अनाथ बालिका छात्रावास, परोपकार बालग्राम र परोपकार केन्द्रीय चिकित्सालय सञ्चालित छन् ।
नेपालमा पहिलोपटक २०१० सालबाट एम्बुलेन्स सेवाको थालनी परोपकार संस्थाले नै गरेको हो ।  त्यस बखत राणाहरूसँग दुईवटा पुराना गाडी मागेर त्यसलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न थालिएको थियो ।  हाल एम्बुलेन्सले निःशुल्क रूपमा २४ घण्टा सेवा प्रदान गर्दै आएको छ ।  दुवाकोटमा वृद्धाश्रम सञ्चालन गर्ने योजना अन्तिम चरणमा पुगेको छ ।  परोपकार प्रसूतिगृहको जग्गा व्यवस्थापन र निर्माण थालनी यसै संस्थाले गरे पनि पछि संस्थालाई पत्तै नदिई सरकारीकरण गरिएको थियो ।
सोमबार परोपकार संस्थाले स्थापनाको ७०औँ वर्ष मनाउँदैछ ।  घर र जग्गा भाडाबाट मासिक साढे छ लाख रुपियाँ आम्दानी गर्दै आएको र अहिले त्यसैबाट संस्था सञ्चालनमा रहेको अध्यक्ष हितकरवीरसिंहले बताउनुभयो, “विगतमा समाज कल्याण परिषद् र स्वास्थ्य मन्त्रालयले अनुदान दिन्थ्यो, त्यो रोकिएको धेरै वर्ष भइसक्यो ।  हामी कुनै दाताको परियोजना सञ्चालन गर्दैनौँ ।  त्यसैले जेनतेन संस्था धान्न सकिरहेका छौँ । ”
उहाँले अचेलका सामाजिक संस्था अधिकांश विदेशी दाताहरूको योजना र निर्देशनमा सञ्चालित हुने गरेको बताउँदै थप्नुभयो, “मानिसहरूमा परोपकारी भावना घट्दै गएको महसुस भएको छ ।  सामाजिक गैरसरकारी संस्था सञ्चालन गर्नेहरू पनि कमाउने उद्देश्य राखेको देख्दा निकै दुःख लाग्छ । ”
समाज कल्याण परिषद्का पूर्व सदस्यसचिव शरद शर्माले अधिकांश गैसस विकासे रहेको र वैदेशिक सहयोगमा भर पर्ने गरेको बताउँदै भन्नुभयो, “पछिल्लो समयमा विदेशी रकम ल्याएर खर्च गर्ने गैसस बढी छन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना