अस्वस्थ खानपान मुटु रोगको कारण

काठमाडौँ, असोज ९ गते । अस्वस्थ खानपान तथा सुर्तीजन्य पदार्थको व्यापक प्रयोगले मुटुसम्बन्धी रोग बढिरहेको भन्दै खानपानमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । मधुमेह, अस्वस्थ आहारव्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मोटोपना, शारीरिक निष्क्रियता र विलासपूर्ण जीवनशैलीका कारण विश्वभर मुटुरोगी बढिरहेको भन्दै समयमै यसबाट बच्न नसके मुटुसम्बन्धी रोगले भयावह स्थिति लिनसक्नेतर्फ सचेत गराइएको छ । 

विश्व मुटु दिवसको अवसर पारेर शनिबार नर्भिक अस्पतालले आयोजना गरेको कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव भट्टले विकासशील देश मात्र नभएर पछिल्लो समय विकासोन्मुख राष्ट्रमा पनि मुटुरोगका बिरामी बढ्दै गइरहेको बताउँदै विश्वमा एक करोड ७३ लाखभन्दा बढी मानिसले प्रत्येक वर्ष मुटुरोगका कारण ज्यान गुमाइरहेको बताउनुभयो । heart
नोभेम्बर २९ तारिखमा विश्व मुटु दिवस मनाउने गरिन्छ । उक्त दिन विश्वभर नै मुटुरोग परीक्षण, शिविर, रोगबारे जनचेतना तथा रोकथामका उपायबारे प्रवचन तथा अन्य विविध कार्यक्रम सञ्चालन गरी विश्व मुटु दिवस मनाउने गरिन्छ ।
नेपालमा शहरी जनसङ्ख्याको झण्डै ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारका मुटुरोगबाट ग्रसित रहेको उहाँको भनाइ छ । डा. भट्टले नेपालमा मुटुरोग विधालाई विश्वस्तरीय पार्न विविध विशेषज्ञ सेवा थप गर्दै ‘इन्टेन्सिभ केयर स्पेसलिस्ट’ को सेवा थप्ने, चिकित्सा सेवामा चिकित्सकको समूहगत दृष्टिकोण अपनाइने र बिरामीको समग्र व्यवस्थापनका लागि सम्पूर्ण समाधान दिइने रणनीति अपनाउनुपर्ने बताउनुभयो ।
नर्भिकमा गत वर्ष जटिल एन्जियोप्लास्टी, प्राइमरी एन्जियोप्लास्टी (व्यक्तिलाई हृदयाघात भएपछि जीवन बचाउन तत्कालै गरिने एन्जियोप्लास्टी प्रक्रिया) र हृदयरोग शल्यक्रिया (बाइपास सर्जरी) गराई स्वास्थ्य लाभ गरिरहेका एक सय बिरामीमध्ये १२ जनालाई सो अवसरमा सम्मान गरिएको थियो ।
गत वर्ष नर्भिकमा जटिल मुटुरोगको सफल उपचार गराई स्वास्थ्यलाभ गरिरहेका जेष्ठ नागरिकहरूलाई अस्पतालका प्रमुख वसन्त चौधरीले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. ज्योतिन्द्र शर्मा, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. जेपी जैसवाल र पोषणविज्ञ प्रणीति सिंहले मुटुरोगका विविध विषयमा प्रकाश पार्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना