विकास सहज पार्दै जापानको सार्वजनिक यातायात

punya p bhattaraiपुण्यप्रसाद भट्टराई

सार्वजनिक यातायात शासकीय क्षमता मापनको कसी हुनसक्छ ।  जापानमा सार्वजनिक यातायातका साधनहरू, रेलमार्ग तथा सडक सञ्जालहरूको भौतिक व्यवस्थापन, ट्राफिक व्यवस्थापन, यात्रीहरूको राज्यप्रतिको दायित्वबोधको अवस्थालाई अवलोकन गर्दा यो देशको आर्थिक, सामाजिक र भौतिक विकासको स्तर स्पष्ट अनुमान गर्न सकिन्छ ।  
देशभित्रका स्थल यातायातका साधनहरूको व्यवस्थापनले जापानलाई विकासको तीव्रतामा सहजीकरण मात्र गरेको छैन, नागरिकको चेतनास्तर र राज्यको जिम्मेवारीलाई प्रस्ट पारेको छ ।  नेपालको हरेक भेगका सडक यातायात अवलोकन गरेर जापान आएको मानिसलाई पहिलोपटक यहाँको स्थलमार्गको व्यवस्थापन जादुजस्तो लाग्न सक्छ ।  रेल यातायात जापानमा हाल सार्वजनिक यातायातको अत्यन्त प्रभावकारी साधनका रूपमा छ ।  यहाँ अत्याधुनिक प्रविधि जडित साधारण र द्रुत गतिकोे रल यातायात छन् ।  
जापानमा सार्वजनिक सवारी साधनको रूपमा सर्वप्रथम रेलसेवा विकास भएको थियो ।  बेलायतको औद्योगिक क्रान्तिसँगै सर्वप्रथम सन् १८७२ मा टोकियोदेखि योकोहोमासम्म रेलमार्ग स्थापना भएको थियो ।  सन् १८९० तिर आएर जापानमा मियाता इण्डस्ट्री कम्पनीले बाइसाइकल उत्पादन गर्न थाल्यो ।  आज पनि अधिकांश जापानीहरू छोटोदूरीको यात्रा गर्न साइकलको प्रयोग गर्दछन् ।  सन् १९०० को सुरुतिर अटोमोबाइलको उत्पादन सुरु भएको थियो ।  हाल जापानमा जलमार्ग र हवाइमार्गको साथै स्थलमार्गमा रेल, बस, कार तथा साइकल सार्वजनिक यातायातका अत्यत्न चुस्त साधनका रूपमा छन् ।  जापान अटोमोबाइल्स उत्पादनमा विश्वमा तेस्रो ठूलो देश हो तथापि यहाँका हरेक जनताले आफ्नो कार राख्नेभन्दा सार्वजनिक यातायातको साधन प्रयोग गर्नमा रुचि राखेको पाइन्छ ।  यसको कारण अत्यन्त सुविधाजनक रेल यातायातको सहज पहुँच हो ।  
जापानले लामो दूरी तथा छोटो दूरीको रेलसेवामा सामयिक सुधार समेत गर्दै आएको छ ।  सन् १९६४ अक्टोवर १ देखि द्रुत गतिको रेल सेवा सिन्कान्सेनको सञ्चालन ग¥यो ।  टोकियोबाट ओसाकासम्म सञ्चालन गरेको यस रेलसेवाले छ घण्टा चालीस मिनेटको यात्रा समयलाई तीन घण्टा दश मिनेटमा सीमित गरेको थियो ।  सुरुमा दुईसय किमि प्रतिघण्टा गतिको सिन्कान्सेनको गति हाल तीनसय प्रतिघण्टासम्म रहेको छ भने छ सय किलोमिटर प्रतिघण्टासम्मको दूरी पार गर्नसक्ने बुलेट रेल निर्माणमा जापान लागिसकेको छ ।  
यो देशमा यातायातको भौतिक पूर्वाधार तथा सवारी साधनको अवस्था अत्यन्त प्रभावकारी रहेको छ ।  देशका सम्पूर्ण सहरसम्म रेलवे सेवा विस्तार छ ।  अधिकांश रेलसेवा जमिनमुनि सञ्चालित छन्, जसका कारण जमिनको भाग अन्य सडकमार्ग तथा सहरीकरणमा उपयोग गर्न सकिएको छ ।  टोकियोस्थित सिन्जुकु स्टेशन दैनिक ३६ लाख ४० हजार (सन् २००७) ले प्रयोग गर्ने गरेका छन् ।  यो स्टेशन विश्वको अत्यन्त व्यस्त रेल स्टेशनका रूपमा गिनीज बुक (सन् २०११) मा अभिलेखीकरण भएको छ ।  सहरको अधिकांश सडकहरू चौडा छन् ।  सडक सञ्जालको अत्यन्त वैज्ञानिक व्यवस्थापन गरिएको छ ।  अधिकांश सडकहरू जमिनमाथि र जमिनभन्दा माथि ‘इलेभेटेड’ छन्, जसका कारण सडकमा सवारी जाम हुँदैन ।  निश्चित समय आयु समाप्त भएपछिका सवारी साधनहरू सडकमा गुड्दैनन् ।  तसर्थ सडक सधैँ सफा हुन्छ ।  धुवाँ धुलोको गुञ्जायस रहन्न ।  चौडा सडकसँगै व्यवस्थित पैदल मार्गहरू तथा सव–वे छन् ।  अधिकांश जापानी जनताले छोटो दूरीको यात्रामा साइकलको प्रयोग गरेको देखिन्छ ।  मोटर साइकल र स्कुटरजस्ता जोखिमपूर्ण साधनहरू सडकमा देखिँदैनन् ।  
दोस्रो कहìवपूर्ण पक्ष हो सवारी साधनको ‘हस्पिटालिटी’ र ‘पङ्चुवालिटी’ ।  दुई दर्जन बढी रेलवे कम्पनीहरू सञ्चालित छन् त्यत्तिकै संख्यामा बस सेवा छन् ।  उनीहरूको सेवामा यात्रुहरूले सधैँ गर्व गरिरहेका हुन्छन् ।  साधनको अवस्था, पङ्चुवालिटी (ठीक समयमा पुग्ने) र सेवासुविधामा जापानी जनताले कतै सम्झौता गर्नु पर्दैन ।  गन्तव्यसम्म पुग्नलाई तोकिएको समयभन्दा फरक नपर्ने हुँदा यात्रीहरूले निजीभन्दा सार्वजनिक यातायातका साधन नै प्रयोग गरेका हुन्  ।  साइकल यात्रीहरूलाई उत्तिकै प्राथमिकता छ ।  अचम्म त यो छ कि, साइकलमा सवार हरेक व्यक्तिको सामाजिक हैसियत सोझै आँकलन गर्दा यहाँ मूर्खता हुन सक्छ ।  सामाजिक र आर्थिक रूपमा उच्च हैसियत भएका व्यक्तिहरू पनि यहाँ साइकलमा सवार देखिन्छन् ।  लाग्छ, उनीहरू कार चढ्नभन्दा साइकल चढ्नमा गर्व गर्छन् ।
तेस्रो हो उच्चतम प्राविधिक प्रयोग ।  यतिधेरै रेलसेवा तथा सडक यातायात सेवा प्रदान गरेर पनि यहाँ हरेक स्टेशनमा टिकट बेच्नेको लाइन मानिसहरू कतै भेटिन्न ।  रेलवेको हरेक स्टेशनमा ट्रेलर मेसिनहरू राखिएका छन् ।  त्यसमा नोट वा सिक्का छिराएपछि टिकट प्रिन्ट (छापिन्छ) हुन्छ ।  नियमित यात्रुहरूले यसमा विभिन्न नामका दीर्घकालीन कार्ड पनि लिन सक्छन् ।  मोबाइलमा रिचार्ज गरेजसरी कार्डमा पैसा (ब्यालेन्स) थप्न सकिन्छ ।  उक्त कार्ड वा टिकट प्रवेश द्वारमा रहेको मेसिनमा देखाएपछि आफैं ढोका खुल्छ र रेलको प्लेटफार्मसम्म जान सकिन्छ ।  यात्रा सकिएपछि पुनः एक्जिट (बाहिर निस्कने) द्वारमा रहेको मेसिनमा सोही कार्ड वा टिकट देखाएपछि यात्रा अवधिको भाडा मेसिनले असुल्छ र बाहिर जाने अनुमति दिन्छ ।  सार्वजनिक गाडीमा समेत यस्तै प्रविधि प्रयोग गरेको पाइन्छ ।  गाडी वा रेलमा खलाँसी हुँदैनन् ।  प्रविधिमैत्री ट्राफिक व्यवस्थापन छ ।  सडकमा ट्राफिक बत्ती बाहेक कोही पनि मानव ‘न्याभिगेटर’ देखिन्न ।  बत्तीको इसारालाई कसैले पनि नकार्दैनन् ।  अचम्म लाग्छ, सुनसान सडकको जेब्रा क्रसमा पनि मानिसहरू नीलो बत्ती कुरेर उभिरहेका हुन्छन् ।  कानुनको राज्य वा ट्राफिक सभ्यता भनेको यस्तै होला !
चौथो पक्ष हो नागरिक सचेतना ।  वास्तवमा विश्वकै सचेत र सहिष्णु नागरिकहरूमा जापानीहरू पर्दछन् ।  साधारण रेलसेवामा खचाखच यात्रु भए पनि उनीहरू एकले अर्कालाई छुँदैनन् ।  विशेषगरी सार्वजनिक स्थल तथा यातायातमा कसैलाई छुने वा धक्का दिने कार्यलाई उनीहरू अत्यन्त नराम्रो मान्छन् ।  सार्वजनिक यातायातमा मोबाइलमा कुराकानी गर्न प्रतिबन्धित जस्तै हो ।  ‘मेसेज’मा कुराकानी गर्न पाइन्छ तर बोल्न पाइन्न ।  यसको मतलब अरूलाई असर पार्न हुँदैन भन्ने हो ।  आपसमा गफ गर्दा अरूले सुन्ने गरी बोलेको पाइन्न ।  यातायातका साधनका सिटको अघिल्तिर ‘आफ्नो ल्यापटपको किबोर्ड चलाउँदा अरू यात्रीलाई असर हुन सक्छ, कृपया सचेत रहनुहोस्’ समेत लेखिएको पाइयो ।  यसको अर्थ उनीहरू अरूको अधिकारप्रति कति सचेत छन् भन्ने पनि हो ।  त्यति व्यस्त र ठूला सहरका सडकमा गाडीको हर्न बजेको कतै पनि सुन्न पाइन्न ।  पुराना मेसिन चलाउन नपाएपछि सडकमा गाडी कुदेको आवाज समेत थाहा पाउन मुश्किल पर्छ ।
जुनसुकै उमेर समूहका यात्रु पनि आफूलाई अत्यन्त जिम्मेवार ठान्छन् ।  सवारी साधनभित्र छिर्दा, निस्कँदा वा उभिँदा आफसेआफ लाइन निर्माण गर्दछन् ।  यो ‘टिमवर्क’ को एउटा नमुना हो जस्तो लाग्छ ।  
पाँचौ पक्ष हो ऊर्जा दक्षता ।  यहाँका सवारीहरूले प्रतिव्यक्ति ऊर्जा खपत विश्वकै तुलनामा कम गर्ने सरकारी तथ्याङ्कहरूमा उल्लेख पाइन्छ ।  अधिकांश रेलसेवा विद्युत्बाट सञ्चालित छन् ।  जसका कारण सहर आफैंमा वातानुकुलित छ ।
सार्वजनिक यातायात सेवा देशको ऐना हो ।  देशको विकासको स्तर र जनताको चेतनास्तर मात्र नभएर भौतिक पूवार्धारको चुस्तता समेत सार्वजनिक यातायातको अवस्थाबाट स्पष्ट हुन्छ ।  नेपालमा सार्वजनिक यातायातको वर्तमान अवस्था जापानसँग तुलना गर्ने हो भने त हामी सयौ वर्ष पछाडि रहेको प्रतीत हुन्छ ।  
नेपालमा यातायातका साधनहरूको व्यवस्थापन पक्ष र यसको भौतिक अवस्थाको पक्ष दुवै नाजुक अवस्थामा छ ।  एकातर्फ सार्वजनिक यातायातका साधन पुराना छन् भने सडक चौडा गर्न सकिएको छैन ।  नियमित सडक दुर्घटनाले हाम्रा सडकहरू राजमार्ग नभएर मृत्युमार्गको रूपमा परिचित भएका छन् ।  सडक नियमको बेवास्ता छ ।   उत्तरआधुनिक विश्वसँग समदूरीमा विकास गर्ने हो भने सर्वप्रथम सार्वजनिक यातायातको साधनमा सुधार आवश्यक देखिन्छ ।  जसका लागि आन्तरिक स्रोत साधन तथा बाह्य र आन्तरिक जनशक्तिको प्रयोग गर्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना