राईका आँखा अरिङ्गालको गोलामैं

chandra kumar hatuwaliचन्द्रकुमार हतुवाली

 

भनिन्छ, राई जातिका आँखा चिम्सा हुन्छन् ।  झन् हाँसेको बेलामा त आँखै हराउँछ रे ! आँखा कहाँ हराएछ ? भन्ने भान हुन्छ रे ! यिनै चिम्सा आँखा साउन भदौ महिना लाग्नसाथ सकेसम्म तन्काउँदै बारी वा जङ्गलका ठूला रुख, टोड्का, भीर पहरा, कइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर चियो गर्दै घुम्न थाल्छन् ।  यी आँखा कात्तिक महिनासम्म एकनासले चियाउनमै व्यस्त हुन्छन् अरिङ्गाल गोलाको खोजीमा ।  अरिङ्गालको शिकार किराँत राई जातिमा निकै लोकप्रिय मानिन्छ ।  
अरिङ्गाल भिन्न जातअनुसार ठूला रुखका टुप्पा, भीर पहरा, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ्गाको कापतिर बस्ने गर्छ ।  विशेषतः कालो अरिङ्गाल, रातो अरिङ्गाल र लाटा अरिङ्गाल रुखमा गोला बनाएर बस्छन् भने अत्छ्युँ र बछ्युँले भीर पहरा, टोड्का, कुइनेटा, पाखा, खरबारी, कान्ला र ढुङ््गाको कापतिर गोला लगाउने गर्छन् ।  यिनै गोलामा रहने अरिङ्गालको शिकारका लागि राईहरू मरिहत्ते गर्छन् ।  उनीहरूमा यसबाहेक बँदेल, हरिण, कालिज, ढुकुरलगायत दुम्सीको शिकार गर्ने चलन पनि छ ।  शिकार सामूहिक वा एक्लै पनि गर्छन् ।  
किराँत राई जातिमा लोकप्रिय परिकारमा पर्ने अरिङ्गाल, तरकारीको वा सितनको रूपमा खाने चलन छ ।  यति मात्र होइन उनीहरूले माङ (देवता) लाई पनि चढाउने गर्छन् ।  माङलाई अरिङगाल चढाउनुु उत्तम मानिन्छ ।  किराँत राई जातिका माङ भनेको आफ्ना मृतात्मा पुर्खा अर्थात् पितृहरू हुन् ।  माङ (पृतात्मा देवता) पुज्दा शिकारका विभिन्न परिकार चढाउने क्रममा मुत्दुम अर्थात् मुन्धुममार्फत अरिङ्गाल चढाएको समेत बखान्ने गर्छन् ः
‘आ...खानानिन माङ, आन्काउ सुन्तुम दिवापा, दिवामाचि मारा आइ ओदा पाङवासा, छुबाक्सा, हात्तिसा, कुरिसा, धिवासा, कोङपितसा, कुरिसा, खस्सासा अन्कि साक्सासा पमा लियाङ ओ नइ (राई वान्तावा भाषा) अर्थात् नेपाली मुन्दुमी अर्थ हो आ..तपाईंहरू देवता, भगवान्, हाम्रा पुर्खा बा आमाहरूलाई आज वर्ष दिनको नयाँ अन्नबाली तथा शिकारहरू चढाउने क्रममा भाले, सुँगुर, भैँसी, माछा, अछ्युँ, बछ्युँ, मृग, हरिणको मासु चढाउने काम हुँदैछ स्वीकार्नु होला । ’
यस अर्थमा किराँत राई जातिमा अरिङगालको महìव रहेको प्रस्ट छ तर बारुला, लाटा अरिङ्गाल जाति भने माङमा चल्दैनन् ।  
अरिङ्गालका जातहरूमा सावा, सक्वा, भावा र धिवाका बारेमा राई जातिले ज्ञान राखेको पाइन्छ ।  यिनीहरूलाई क्रमशः नेपालीमा कालो अरिङ्गाल, रातो अरिङ्गाल, अत्छ्युँ र बछ्युँ नामले चिनिन्छ ।  यीबाहेकका अरू बारुला जातमा पर्छन् ।  बारुला जातमा बारुला, ठूलो बारुला, भुसुने बारुला, रातो बारुला, सेतो बारुला, कन्धने बारुला, तुने बारुला पर्छन् ।  बारुला पनि खाने चलन छ तर बारुला काढ्ने कार्यले अरिङ्गालको जस्तो महìव राख्दैन ।  किराँत राई जातिमा २८ भन्दा बढी भाषा भएकोले भिन्न राई भाषामा अरिङ्गालको नाम पनि भिन्न रहेको हुन्छ ।
सामान्यतः अरिङ्गाल काढ्ने समय पनि निश्चित हुन्छ ।  साउन वा भदौ महिनामा नुवागी पुजेपछि मात्र अरिङ्गाल काढ्ने चलन छ ।  त्योभन्दा अगाडि अरिङ्गाल काढ्न मिल्दैन, काढेमा पितृहरू रिसाइ सुब्बेफाब्बे हुँदैन भन्ने विश्वास रहेको छ ।  अरूको बारी वा खेतको अरिङ्गाल विना अनुमति काढ्न मिल्दैन ।  अनुमति नलिई कसैले अरिङ्गाल काढेमा सम्पत्ति चोरे सरह चोरी गरेको ठहरिन्छ र समाज मिलेर चोरीको कारवाहीस्वरूप दण्ड जरिवाना गर्ने वा माफी मगाइ आउने दिनमा नदोहा¥याउने वाचा गराइन्छ ।
सामान्यतः साउन अन्तिमबाट सुरु गरेर भदौ, असोज महिनादेखि कात्तिक महिनासम्म अरिङ्गाल काढ्ने चलन छ ।  यसमा पनि असोज महिनाको पूर्णिमा तिथि पारेर काढ्न सकेमा बढी बच्चा हुन्छ भन्ने अनुभव छ ।  कहिले काढ्ने भन्ने कुरा निजी बारी, खेत वा सार्वजनिक जङ्गल के हो त्यसमा भर पर्दछ ।  निजी बारी वा खेतको भए जग्गा धनीको निर्णयमा भर पर्छ तर जङ्गलको भएमा जसले पहिला देखेर अरिङ्गाल काढ्छ, उसैको हुन्छ ।  ‘मैले सानो गोला लगाउन थालेबाट देखेको हुँ’ भनेर दाबी गर्न मिल्दैन ।
अरिङ्गाल काढ्ने विधि हुन्छ ।  यसका लागि एकदमै बल्ने राँको वा पुल्ठो चाहिन्छ ।  राँको वा पुल्ठोले माउहरू उम्कन नमिल्ने गरी गोलामा पोल्ने गरिन्छ ।  आगोले भेट्ने बित्तिकै गोला सल्किन थाल्छ ।  राईहरूको व्यावहारिक अनुभवमा कालो अरिङ्गाल लाटो हुन्छ भने रातो अरिङ्गाल चलाख हुन्छ ।  कालो अरिङ्गालको माउ फुत्कियो भने शत्रुको खोजीमा गोला वरपर घुम्न थाल्छ भने रातो अरिङ्गाल भने सिधै गोला भएको रुखको फेदतिर झर्छ ।  रातो अरिङ्गालले शत्रुलाई पानीभित्र छिरे पनि पर्खिबस्छ भन्ने भनाइ छ ।  सकेसम्म रातो अरिङ्गाल काढ्दा अन्य रुखबाट काढ्न पाएमा उत्तम मानिन्छ ।  
अरिङ्गाल काढ्दा भयङ्कर सावधानी अपनाउनु पर्छ ।  नत्र ज्यान पनि जान सक्छ ।  अरिङ्गालले चिलेमा बिरामी हुनुको साथै मृत्यु हुने सम्भावना पनि रहन्छ ।  कालो अरिङ्गाल र अत्छ्युँ कम विषालु हुने र रातो अरिङ्गाल र बछ्युँ बढी विषालु हुने व्यावहारिक अनुभव छ तर किराँत राई जातिसँग अरिङ्गालको विष झार्ने अचुकको औषधि पनि छन् ।  चिलेको ठाउँमा चोखो जाँडको छोक्रा दल्ने वा टिमुरको गेडा छिपछिप पानी हाल्दै पिसेर दल्ने गरिन्छ ।  यसले अरिङ्गालको विष मर्ने अनुभव छ ।  
अरिङ्गाल पोल्दा गोलाको बाहिरी कुट जलेर नष्ट भएपछि चाका मात्र बाँकी रहन्छ ।  चाकालाई झोलामा राखेर घर ल्याएपछि पोल्ने वा उमाल्ने गरिन्छ ।  पोल्दा वा उसिन्दा बच्चा ढाडिनुका साथै बच्चा छोप्ने ढक्कन डढेर नष्ट भई चाकाबाट बच्चा निकाल्न सजिलो हुन्छ ।  बच्चा निकालेर भित्रको फोहोर वस्तु फालिन्छ र तेलमा भुटेर खाइन्छ ।  अरिङ्गाल काढेपछि छिमेकमा बाँडेर खाने चलन छ ।  पहिला त गाउँलेले मान्ने राईबूढाको समेत अनिवार्य भाग पु¥याउने रीति रहेको थियो ।  अहिले राईबूढाको चलन हराएकोले त्यो रीति पनि हराएको छ ।  
भौगोलिक, सामाजिक, जातीय तथा धार्मिक परिवेशअनुसार मानिसका खानपानमा भिन्नता हुन्छ ।  एकठाउँ तथा एकादेशमा स्वादिष्ट मानिएको चीज अर्को देशमा खानलायक त्यति मानिन्न ।  एकादेशको धार्मिक मान्यताको आधारमा सोह्रैआना स्वीकारिएको वस्तु अन्य धार्मिक समुदायमा वर्जित पनि मानिन्छ ।  कतिपय खानेकुरालाई त राज्यले आफ्नो राष्ट्रिय खानाको मान्यता दिएर प्रवद्र्धन गरिरहेको हुन्छ भने कतिपय खाना कानुन बनाइ वर्जित पनि गरिएका हुुन्छन् ।
नेपालको सन्दर्भमा पनि जातीय तथा धार्मिक र भौगोलिक आधारमा यी नियमहरू लागू भएको पाइन्छ ।  तराईमा जाति विशेषको आधारमा घुँगीलाई स्वादिष्ट मानिन्छ भने पहाडका बासिन्दाका लागि खान अयोग्य मानिन्छ ।  क्षेत्री बाहुनले स्वादिष्ट मान्ने खसीको मासु कतिपय राई जातिका लागि खान त के छुनसम्म पनि निषेध हुन्छ ।  चिनियाँले कुकुरको मासुको परिकारको प्रतियोगिता गर्दा नेपालीका लागि कुकुरको मासु खाने कुरा उच्चारण गर्नै गाह्रो लाग्छ ।  यस अर्थमा भिन्न समाज, धार्मिक समुदाय र भूगोलले मानिसको खानपानमा फरक पारेको पाइन्छ ।  यस अर्थमा जातिगत भोजनहरूलाई पनि अध्ययन तथा अनुसन्धानको विषय बनाई सार्वजनिक गर्नु आवश्यक छ ।  यसले पर्यटकीय आकर्षणको केन्द्रथलो बनाउन सकिने साथै पाक विद्यामा राष्ट्रको गरिमा वृद्धि हुुनसक्छ ।  
फोटोहरू धधध।नययनभि।अयm बाट निकालिएका हुन् ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds