एकसिङे गैँडा संरक्षण अभियान: शून्य सिकार वर्ष मनाउन सफल

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असोज ६ गते ।  विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाका लागि नेपाल उर्वर भूमि भए पनि जलवायु परिवर्तनको असरले गैँडा संरक्षणमा चुनौती थपेको छ ।  विश्वमै नेपाल र भारतमा मात्र पाइने एकसिङे गैँडाको सङ्ख्या नेपालमा पछिल्ला वर्षमा वृद्धि हुँदै आएको छ ।  गैँडाका पाँच प्रजातिमध्ये एकसिङे गंँैडा भारतमा दुई हजार पाँच सयभन्दा बढी छन् भने नेपालमा सन् २०१५ मा गरिएको गणनाअनुसार ६४५ रहेका छन् ।  
विश्वव्यापी रूपमा जलवायु परिवर्तनको असरले अन्य दुर्लभ वन्यजन्तु र समग्र जैविक विविधताजस्तै एकसिङे गैँडालाई पनि प्रभाव पारेको गैँडाविज्ञ डा. शान्तराज ज्ञवालीले बताउनुभयो ।  उहाँका अनुसार एक अध्ययन अनुसार सन् १९५० मा नेपालमा एकसिङे गैँडाको सङ्ख्या आठ सयभन्दा बढी थियो ।  यो ऐतिहासिक सङ्ख्या पुनः नेपालमा हुनसक्ने अवस्था छ तर जलवायु परिवर्तनले पारेका असरलाई पहिचान गरी त्यसलाई न्यूनीकरण गर्दै जाने हो भने मात्र यो सम्भव छ ।  
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सन् २०११ को गैँडाको गणनामा ५३४ रेकर्ड गरिएको गैँडाको सङ्ख्या सन् २०१५ मा आइपुग्दा ६४५ पुगेको छ ।  विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार सन् २०१५ को गैँडाको गणनामा सबैभन्दा बढी एकसिङे गैँडा चितवन राष्ट्रिय निकुञ्जमा ६०५ रकेर्ड गरिएका छन् भने बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडा फेला परेका छन् ।  त्यसैगरी शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठवटा गैँडा रेकर्ड भएका छन् ।  
तराईमा औलो उन्मूलन भई जताततै बस्ती बस्न थालेपछि जङ्गल विनाशसँगै गैँडाको सङ्ख्या पनि घट्दै गएको अर्का गैँडाविज्ञ डा. नरेश सुवेदीले बताउनुभयो ।  तराईका जङ्गल फाँडिने क्रमसँगै सन् १९७२ सम्म आइपुग्दा नेपालमा गैँडाको सङ्ख्या १४७ मात्र रहेको बताइएको छ ।  गैँडाविज्ञ डा. सुवेदीका अनुसार गैँडाको सङ्ख्या निकै घट्न थालेपछि संरक्षण अभियान प्रभावकारी सञ्चालन हुँदा पछिल्ला केही वर्षयता गैँडाको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।  विभागले सन् २००० मा गरेको गैँडा गणनामा गैँडाको सङ्ख्या ६१२ पुगेको थियो ।  gaida
विसं २०५२ देखि भएको आन्तरिक द्वन्द्वका बेला एक दशकमै चोरी सिकारबाट गैँडाको सङ्ख्या घटेर ४४६ मा पुग्यो ।  विभागका इकोलोजिस्ट पौडेलले भन्नुभयो, “द्वन्द्वकालमा सुरक्षा पोस्टहरू कम हुँदै जाँदा र निकुञ्ज प्रशासन पनि खुम्चिँदा चोरी सिकारका घटनाले गैँडा मारिने क्रम बढेर गयो ।  यसले गर्दा गैँडाको सङ्ख्या कम भएको र पछिल्लो अवस्थामा निकुञ्जको सुरक्षा व्यवस्था प्रभावकारी हुँदै गएको, मध्यवर्ती क्षेत्रका बासिन्दाको पनि संरक्षणप्रति सचेतना बढेको र नेपाल प्रहरीले वन्यजन्तु अपराधसम्बन्धी छुट्टै संरचना खडा गरेर कारबाहीका प्रक्रिया अगाडि बढाएकाले विभागले गैँडा शून्य सिकार वर्ष मनाउन सफल भएको छ ।  
गैँडाविज्ञ डा. ज्ञवालीका अनुसार केही वर्ष पहिलेसम्म गैँडाको बासस्थान भएको कोसी टप्पु क्षेत्रको उत्तर उदयरपुरमा क्षेत्र विस्तार गर्न सके अझै पूर्वी नेपालमा पनि गैँडा पुनः देख्न सकिने सम्भावना छ ।  डा. ज्ञवालीले भन्नुभयो, “एकसिङे गैँडाका लागि नेपालमा ‘नयाँ घर’ निर्माण गर्न सकिने थुप्रै ठाउँ छन् तर जलवायु परिवर्तनको नयाँ चुनौतीको असरलाई न्यूनीकरण गर्न सकिएमा गैँडालाई संरक्षण गरेर राख्न सकिन्छ । ”
विभागले चोरी सिकारलाई गैँडा संरक्षणका लागि प्रमुख चुनौतीका रूपमा लिएको छ ।  तर, विज्ञहरूले भने चोरी सिकारको समस्या मानवनिर्मित र स्थानीय तहको समस्या भएकाले यसको नियन्त्रण गर्न सकिने तर जलवायु परिवर्तनको असर, मिचाहा प्रजातिको फैलावटले गैँडाको आहार र बासस्थानमा पार्नसक्ने असर, संरक्षण क्षेत्रभित्रका तालतलैया लगायतका सिमसार क्षेत्र सुक्दै जाने समस्या नै प्रमुख चुनौती भएको दाबी गरेका छन् ।  
पछिल्लो समयमा चितवनपछि बर्दियाको बबई टापु, शुक्लाफाँटा वन्यजन्तु आरक्ष र पर्सा वन्यजन्तु आरक्षको विस्तारित भाग गैँडाका लागि उचित बासस्थानका रूपमा हेरिन थालिएको छ ।  द्वन्द्वकालमा बर्दियाको बबई टापुमा रहेका ७० वटा गैँडा चोरी सिकारको चपेटामा परेका थिए ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना