अनुदान वितरण उत्साहजनक

Reconstruction-Authorityकाठमाडौँ, असोज ६ गते ।  भूकम्पका कारण भत्किएका आवास पुनःनिर्माणका लागि अनुदान रकम वितरण गर्न थालिएको एकमहिने अभियान निकै उत्साहजनक भएको दाबी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गरेको छ ।
गत भदौ १ गतेदेखि असोज २ गतेसम्म सञ्चालन गरिएको एकमहिने विशेष अभियानमा भूकम्पका कारण अति प्रभावित १४ जिल्लामध्ये लगत सर्वेक्षण सकिएका ११ जिल्लाका ८४ प्रतिशत घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणको अनुगमन समितिको बैठकले निष्कर्ष निकालेको छ ।  त्यस्तै सम्झौताका प्रक्रिया पूरा गरेकामध्ये पौने चार लाखभन्दा बढीको खातामा पहिलो किस्ताबापतको ५० हजार रुपियाँ जम्मा भइसकेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।  प्राधिकरणले विशेष अभियान सञ्चालन भएको अवधिमा मात्र १८ अर्ब ७८ करोड ५७ लाख रुपियाँभन्दा बढी रकम वितरण भइसकेको जनाएको छ ।
अनुगमन समितिको बैठकले निजी आवास अभियानको दोस्रो चरण अन्तर्गत बाँकी रहेका सबै लाभग्राहीसँग अनुदान सम्झौता हुन नसक्नुका कारण पहिचान गर्दै ४५ कार्यदिनभित्रमा सबैलाई रकम उपलब्ध गराउने बताएको छ ।  त्यस्तै अनुदान सम्झौताको कार्य सुस्त भएका मकवानपुर, सिन्धुली, नुवाकोट र रसुवा जिल्लामा थप पहल गरेर तीव्रता दिने पनि प्राधिकरणले बताएको छ ।
बैठकमा बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित भूकम्पपीडितका बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँमा पीडित र वन, गुठी जग्गाका कारण राहत रकम पाउनबाट बञ्चित पीडितका समस्या यथाशीघ्र समाधान गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको प्रवक्ता थपलियाले बताउनुभयो ।  ११ जिल्लाका एक लाख ६४ हजारभन्दा बढी गुनासो सुनुवाइका लागि पनि प्राधिकरणले ४५ दिने कार्ययोजना बनाएर अगाडि बढ्ने बताएको छ ।
प्राधिकरणले आवास निर्माणका लागि दिएको अनुदान रकमको सदुपयोग गर्न पनि सबैलाई सचेत गराएको छ ।  पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानुनी प्रावधान रहेको प्राधिकरणले बताएको छ ।  त्यस्तै झूटो विवरण पेस गरेर मापदण्डमा नपरेकाले अनुदान रकम लिएको उजुरी परेमा र छानबिन गर्दा प्रमाणित भएमा कानुन अनुसार कारबाही गर्दै सरकारी बाँकीसरह असुलउपर गरिने प्राधिकरणले बताएको छ ।
भूकम्पबाट घर पूर्ण रूपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्नेछन् ।
अति प्रभावित जिल्लामध्ये काठमाडौँ उपत्यकाका तीन जिल्लाको लगत सम्परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ ।  आगामी १० गतेसम्ममा सबै तथ्याङ्क आइसक्ने केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डा. रुद्र सुवालले जानकारी दिनुभयो ।  
उपत्यकामा असोज २० गतेदेखि अनुदान सम्झौताको कार्य थालिने र ४५ कार्य दिनभित्रमा सबैलाई अनुदान रकम वितरण गरिसकिने योजना रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना