डोलेश्वर मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो

भक्तपुर, फागुन ५ गते । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वको अवसरमा दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको डोलेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष किरण थापाले बताउनुभयो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि बिहान ४ बजेदेखि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो । अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि आजको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवम् दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

महाशिवरात्रि पर्वमा सहज एवम् छिटो दर्शन गर्ने व्यवस्था मिलाइनुका साथै सुरक्षाकर्मी र स्वयम्सेवकको टोली परिचालन गरिएको छ । मन्दिरमा लाइन बसेको आधा घन्टाभित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको छ । गत वर्ष करिब ५० हजार दर्शनार्थी आएकामा यस वर्ष एक लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।

महाशिवरात्रि पर्वका लागि भारतबाट ५०० साधुसन्त आएका छन् । यहाँ आएका साधुसन्तका लागि खानेबस्ने सुविधा मिलाइएको जानकारी दिँदै उहाँले धुनी जगाउनका लागि सेतीदेवी सामुदायिक वन र सूर्यविनायक सामुदायिक वनले काठ उपलब्ध गराएको बताउनुभयो ।

डोलेश्वर आउने साधुसन्त एवम् नागाबाबालाई समितिले एक–एक थान धोती र कम्बल दिएको जानकारी दिँदै कावा अध्यक्ष थापाले महाशिवरात्रिपछि फर्कने बेलामा उनीहरुलाई तहअनुसार रु एक हजार १००, रु एक हजार ३०० र रु एक हजार ५०० का दरले भेटी दिएर बिदाइ गरिने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना