लिम्बू भाषाको सुन्दर भविष्य

gobinda bdr tumbahangप्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ




प्रमुख रूपमा कोसी र मेची अञ्चलका नौ जिल्लामा बसोवास गर्ने लिम्बू जातिले बोल्ने भाषालाई लिम्बू भाषा भनिन्छ ।  मातृभाषामा यो जातिलाई “याक्थुङ्” र यो जातिका मानिसले बोल्ने भाषालाई ‘याक्थुङ् पान’ भनिन्छ ।  सन् २०११ को जनगणनाअनुसार उनीहरूको सङ्ख्या ३ लाख ८७ हजार ३०० र मातृभाषाका रूपमा यो भाषाका वक्ताको सङ्ख्या ३ लाख ४३ हजार ६०३ छ ।  यो भाषा चिनियाँ तिब्बती परिवारअन्तर्गत भोट बर्मेली उपपरिवारभित्रको बोडिक शाखाभित्रको पूर्वीय हिमाली उपशाखाभित्र पर्ने पूर्वी किराँती अन्तर्गतको भाषा हो ।  
लिम्बू भाषाको आफ्नै लिपि छ जसलाई सिरिजङ्गा लिपि भनिन्छ ।  यो भाषा र लिपिमा शब्दकोश, व्याकरण, कविता, कथा, निबन्ध, उपन्यास, नाटक, जीवनी आदि प्रकाशन भएका छन् ।  यसमा कैयौँ गीतहरू रचिएका, अनगिन्ति फिल्महरू निर्माण गरिएका छन् ।  यो भाषामा रेडियोबाट समाचार र दूरदर्शनबाट कार्यक्रमसमेत प्रसारण गरिन्छ ।  कक्षा ५ सम्मको पाठ्य पुस्तक पनि निर्माण गरिएको छ ।  कैयौं विद्यालयमा लिम्बू भाषामा कक्षाहरू सञ्चालन गरिएका छन् ।  यति हुँदाहुँदै पनि परम्परादेखि लिम्बू वस्ती भएको गाउँमा समेत दैनिक जीवनमा लिम्बू भाषाको प्रयोग कम हुँदै गएको देखिन्छ ।
आजकल किशोरावस्था र त्यसभन्दा तलका उमेरका केटाकेटीहरू लिम्बू भाषा त्यति बोल्दैनन् ।  उनीहरूमध्ये प्रायःजसोले यो भाषा बुझ्छन् तर बोल्न जान्दैनन् वा चाहँदैनन् ।  लिम्बू गाउँको बीचमा अवस्थित विद्यालयमा पढ्ने लिम्बू विद्यार्थीलाई लिम्बू भाषामा केही कुरा सोध्ने हो भने उनीहरूमध्ये धेरैजसोले नेपालीमा जवाफ दिन्छन् ।  लिम्बू भाषामा जवाफ दिनेहरूले लाज मान्दै बडो अप्ठ्यारोसँग जवाफ दिन्छन् ।  उनीहरूका मातापिताले पनि उनीहरूलाई मातृभाषा बोल्न दुरुत्साहित र नेपाली भाषा बोल्न प्रोत्साहित गर्छन् ।  आफूआफूमा लिम्बू भाषामा कुरा गरे पनि विद्यालयमा अध्ययनरत आफ्ना छोराछोरीसँग भने नेपालीमा नै कुरा गर्छन् ।
यी विद्यालय स्तरमा अध्ययन गरिरहेका विद्यार्थीको उमेर ६ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिको हुन्छ भने उनीहरूका मातापिताको उमेर ४० र ४५ वर्षको बीचमा हुन्छ ।  गरिबीले सताइएका यी मातापिताको एकमात्र सपना आफ्ना छोराछोरीलाई शिक्षा दिलाएर नोकरीमा प्रवेश गराउने नै हुन्छ ।  नोकरी पाउनका लागि यी भाषाहरूको ज्ञान अनिवार्य छ भन्ने उनीहरू बुझ्छन् ।  त्यसपछि उनीहरूको दिमागमा नेपाली र अङ्ग्रेजी भाषाको महìव झन् बढेर आउँछ ।  
अर्कोतिर लिम्बू भाषाको ज्ञान भएका व्यक्तिले कुनै प्रकारको नोकरी नपाउनु, विद्यालय, सरकारी कार्यलय र सभासम्मेलनमा यो भाषाको प्रयोग नहुनु, यो भाषाको प्रयोग केवल अशिक्षित प्रौढ लिम्बू समुदायमा मात्र भएको देखिनु र समाजका प्रतिष्ठित आफ्नै समुदायका व्यक्तिहरूबाट पनि लिम्बू भाषाभन्दा नेपाली भाषा रुचाइनु आदिले गर्दा बालबालिकालाई यो भाषा सिकाउने उत्साह घटेको बुझिन्छ ।  लिम्बू भाषा सिकाउनु समय र सम्पत्ति खेर फाल्नु हो र यो भाषाको सिकाइले नेपाली र अङ्ग्रेजी भाषा सिकाइमा अवरोध सिर्जना गर्छ भन्ने धारणा विकसित भएको देखिन्छ ।  यसले गर्दा गाउँघरमा यो समुदायका २० वर्ष मुनिका केटाकेटीमा लिम्बू भाषाको प्रयोग प्रायः नभएको स्थिति छ ।  यी केटाकेटीहरू हुर्केर बाबुआमा बनेपछि उनीहरूका छोराछोरीले लिम्बू भाषा सुन्ने अवसर पाउने सम्भावना नै देखिँदैन ।  यदि यही परिस्थिति कायम रहने हो भने यो भाषा क्रमशः लोप भएर जाने छ ।  भाषा लोप हुँदा एकातिर यसका वक्ताहरूको सभ्यता, संस्कृति र पहिचान समाप्त हुन्छ भने अर्कोतिर बहुपहिचानको सुन्दरता बोकेको देश नेपालबाट एउटा पहिचान मेटिन्छ ।  राष्ट्रको सभ्यताको इतिहासमा यो एउटा अपुरणीय क्षति हो ।  अतः यसको संरक्षण गर्नु राज्यको पनि कर्तव्य हो ।
पछिल्लो समयमा यस समुदायका शिक्षित समुदाय र विशेष गरी उपत्यकामा रहने युवा पुस्तामा भने लिम्बू भाषाप्रतिको मोह जागेको पाइन्छ ।  भाषाका सम्बन्धमा संविधानमा गरिएको व्यवस्थाले पनि युवालाई लिम्बू भाषाको विकासमा उत्साहित गराएको छ ।  नेपालको संविधान २०७२ को भाग १ को धारा ६ ले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्र भाषाको रूपमा मान्यता दिएको छ भने धारा ८ मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारको कामकाजको भाषा निर्धारण गर्न सक्नेछ भन्ने उल्लेख छ ।  सिरीजङ्गा लिपिमा यस भाषामा तयार पारिएका व्याकरण, शब्दकोश, पाठ्य पुस्तक, सन्दर्भ सामग्री, साहित्यिक रचना, पत्रपत्रिका, फिल्म आदिले प्रदेश नम्बर १ मा बोलिने अन्य मातृभाषाको तुलनामा लिम्बू भाषाले प्रदेश भाषाको रूपमा मान्यता प्राप्त गर्न सक्ने सम्भावना छ ।
लिम्बू भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्ने प्रमुख उद्देश्य राखेर स्थापना भएको सामाजिक संस्था किराँत याक्थुङ चुम्लुङ केन्द्रीय समिति ललितपुरले केही वर्ष यता आफ्नो साहित्य र सङ्गीत विभागबाट महिनामा एकपटक साहित्य तथा सङ्गीत गोष्ठीको आयोजना गर्दै आएको छ ।  गत साउन १५ गते लिम्बू भाषाका कवि येहाङ लाओतीको सभापतित्वमा साप्सक् नु साम्मीक् साङ्लाम् थिम्बे (साहित्य तथा सङ्गीत गोष्ठी) को आयोजना भयो ।  भिम यङ्याङ् यासेलीको लिम्बू भाषामा धाराप्रवाहिक उद्घोषणले गोष्ठीका सहभागीलाई मन्त्रुमुग्ध बनाएको थियो ।  लिम्बूभाषी गायक सङ्गीतकारहरूले रोमाञ्चकारी गीत प्रस्तुत गरेका थिए ।  यीबाहेक गोष्ठीमा विद्युतीय माध्यमबाट इजरायलबाट निलिमा साङपाङ र बेलायतबाट सुवर्ण नेम्बाङले गायनकासाथ सहभागिता जनाएका थिए ।  यी कवि र गीतकारहरूले कविता र गीतको माध्यमबाट माया, प्रेम, घृणा, दया, समवेदना आदि जस्ता मानवीय भावनाहरू व्यक्त र समाजमा विद्यमान विकृति र विसङ्गतिको यथार्थ चित्रण गरेका थिए ।  यसका निमित्त उनीहरूले कैयौँ शब्दहरूको निर्माण गरे त कतिपय शब्द अन्य भाषाबाट सापटी पनि लिए ।  
अघिल्ला पुस्तासम्म लिम्बू गीतको रूपमा पाल्लाम नै प्रमुख रूपमा गाइन्थ्यो ।  यसमा कुनै प्रकारको बाजागाजा बजाइँदैनथ्यो ।  त्यस्तै हाक्पारे र ख्याली भनिने अन्य प्रकारका गीतमा पनि बाजाको प्रयोग हुँदैनथ्यो तर यो कार्यक्रममा गीतकारहरूले नेपाली र अङ्ग्रेजी गीतजस्तै आधुनिक बाजाहरूको साथमा लिम्बू गीतहरू गाए ।  यस प्रकारका गीतहरूले युवा पुस्ताको ध्यान आकर्षित गरेको आभास प्रस्ट रूपमा नै पाइयो ।  गीत, कवितामा प्रयोग गरिने छन्द, अनुप्रास, रस आदिले भाषालाई परिस्कृत र परिमार्जित बनाउन मद्दत पु¥याएको छ ।  साहित्य र सङ्गीत गोष्ठीमा भएको श्रोताहरूकोे सहभागिताले युवापुस्तालाई कवि र गीतकार बन्न उत्साहित गरेको देखिन्छ ।  
वास्तवमा लिम्बू भाषा र साहित्यको विकासको निमित्त आधार भूमि भनेको अरूण पूर्व कोसी र मेची अञ्चलका नौ जिल्ला नै हुन्, जसलाई परम्परागत रूपमा लिम्बूवान भनिन्छ ।  अमर तुम्याङ, येहाङ लाओती, सावन फुरुम्बो, विष्णु यक्सु, टेक लाओती, राजेन्द्र जवेगु, भवानी तावा, लक्ष्मी सेर्मा, दिलेन्द्र कुरुम्बाङ, सागर केरुङ, मलिसा याक्थुङ्बाजस्ता अहिलेका उदीयमान कविहरू र मनु नेम्बाङ, ब्रविम सेर्मा, मनमाया वनेम, मिलन नेम्बाङजस्ता गीतकारको योगदानको क्षेत्र लिम्बूवानलाई बनाउनुपर्छ ।  कार्यक्रमका प्रमुख अतिथि बनाइनुभएका अनन्त थेबे जस्ता लिम्बू भाषा बोल्न नजान्ने तर जान्न चाहनेलाई सहानुभूतिपूर्वक यो भाषाको महिमा अवगत गराई भाषा सिक्नमा उत्साही गराउनुपर्छ ।  गीत र कविताको माध्यमबाट नयाँ पुस्तामा यो भाषा सिक्ने चाहना जागृत गराउनु पर्छ र दैनिक जनजीवनमा लिम्बू भाषालाई प्रयोगको भाषा बनाउनुपर्छ ।  यसो भएमा गाउँघरमा पनि लिम्बू भाषा नयाँ पुस्तामा हस्तान्तरण हुन सक्छ ।  उपत्यकामा युवायुवतीमा देखिएको भाषा मोहले लिम्बू भाषाको विकासको सुन्दर भविष्यलाई सङ्केत गर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना