साझा छानो ओजोन

harkaman lunkhelहर्कमान लुङ्खिम्बा
 


इस्वी संवत्को हरेक वर्ष सेप्टेम्बर १६ लाई विश्व ओेजोन दिवसका रूपमा संसारभरि मनाइन्छ ।  सन् १९९४ देखि मनाउन सुरु गरिएको यो दिवसले विश्वभरका मानिसमा ओजोन तहको महŒव र यसको संरक्षणको बारेमा जनचेतना प्रदान गर्ने काम गरेको छ ।  
धेरै मानिस ओजोन तहका बारेमा अनभिज्ञ हुन सक्छन् ।  पृथ्वीको भूसतहबाट करिब १० देखि ५० किलोमिटरको उचाइमा वायुमण्डलमा रहेको ओजोन वास्तवमा एक प्रकारको रङ्गहीन ग्यास हो, जुन अक्सिजनको तीन वटा परमाणु मिलेर बनेको हुन्छ ।  जब सूर्यको प्रकाश अर्थात् पारावैजनी विकिरणले अक्सिजनको अणुलाई विखण्डन गरी अक्सिजनको परमाणुमा परिवर्तन गरिदिन्छ तब विखण्डित ती अक्सिजनका परमाणुले फेरि अक्सिजनका अणुसँग प्रतिक्रिया गरी ओजोन ग्यासको निर्माण हुन पुग्छ ।  हाम्रो वायुमण्डलमा झण्डै तीन अर्ब मेट्रिक टन परिमाणमा ओजोन रहे पनि यसको हिस्सा समग्र वायुमण्डलको शून्य दशमलव ००००६ प्रतिशत मात्र हुन आउँछ ।  
ओजोन तहविनाको पृथ्वी छानाविनाको घरजस्तै हुन्छ ।  जसरी घरको छानाले घरलाई असिना पानी, झरी तथा घामबाट जोगाउँछ, त्यसरी नै पृथ्वीको बाहिरी वायुमण्डलमा रहेको ओजोनले पनि सूर्यबाट आउने हानिकारक पाराबैजनी विकिरण सोसेर अथवा छेकेर पृथ्वीको भूसतहसम्म पुग्नबाट रोक्छ ।  यदि सूर्यबाट आउने ती हानिकारक पारावैजनी विकिरण पृथ्वीसम्म सिधै आइपुग्ने हो भने जीव जन्तुदेखि लिएर मानिस एवं समग्र पृथ्वीको परिस्थितिकीय प्रणालीमाथि नै गम्भीर असर पुग्नेछ ।  
सूर्यबाट आउने पारावैजनी विकिरण पूर्ण क्षमतामा पृथ्वीको सतहसम्मै आइपुगेको खण्डमा यसले मानिसको शरीरमा विभिन्न स्वास्थ्य सम्बन्धी समस्या उत्पन्न गराउँछ ।  जस्तै शरीरको छालामा क्यान्सर, आँखामा असर पुग्ने, छाला चाउरी परी छिट्टै बूढो देखिने आदि ।  त्यसरी नै पृथ्वीको तल्लो वायुमण्डल अर्थात् ट्रोपोस्फियरमा पारावैजनी विकिरणका कारण ओजोनको मात्रा बढ्न पुग्छ र यसले थप स्वास्थ्य सम्बन्धी समस्या निम्त्याउने गर्छ ।  किनकि ओजोन आफैँमा एक विषालु ग्यास पनि हो ।  
विशेषगरी कलिला बच्चा, बूढापाका, दम तथा यस्तै श्वासप्रश्वास सम्बन्धी समस्या भएका यसबाट सजिलै प्रभावित हुन सक्छन् ।  त्यस्तै यसबाट हाम्रो रोगसँग लड्ने शक्तिलाई कमजोर बनाउनेदेखि छाती दुख्ने, घाँटी एवं फोक्सोलाई समेत असर पुग्न सक्छ ।  
त्यति मात्र होइन, यसले पानी तथा जमिनमा पाइने वनस्पतिको जीवनचक्र, वृद्धि तथा विकासमा समेत नकारात्मक प्रभाव पार्छ ।  धेरैजसो उभयचर प्राणीका प्रजाति दिनानुदिन घट्दै जानुमा यो पनि एक कारण हो भन्ने धेरै वनस्पति तथा जीव विज्ञहरूको धारणा छ ।  लण्डनस्थित प्राणी अध्ययन संस्थानमा आबद्ध वैज्ञानिकहरूले सन् २०१० मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार क्यालिफोर्नियाको तटीय क्षेत्रमा धेरै ह्वेल माछामा सूर्यको किरणले असर गरेको भेटिएको थियो ।  यो हुनुको प्रमुख कारण पनि ओजोन तह पातलिएर आएका सूर्यका पारावैजनी विकिरण नै हो भन्ने वैज्ञानिकहरूको ठहर छ ।  
कृषि क्षेत्र पनि यसबाट अछूतो छैन ।  आर्थिक र खाद्यान्नको हिसाबमा अति महŒवपूर्ण बाली जस्तै धान बाली जसको जरामा नाइट्रोजन जम्मा गर्नका लागि हुने साइनोब्याक्टेरिया भन्ने सूक्ष्म जीव पारावैजनी विकिरणप्रति अति नै संवेदनशील हुन्छन् ।  यी हितकारी साइनोब्याक्टेरिया माथिको नकारात्मक असरले धान उत्पादनमा ह्रास आई खाद्य सङ्कट उत्पन्न हुने सम्भावना देखिएको छ ।  
प्राकृतिक रूपमै ओजोन ग्यास टुक्रिने र बन्ने प्रक्रिया भइरहन्छ तर विभिन्न मानव क्रियाकलापबाट सिर्जित वस्तु अर्थात् यौगिकहरूले ओजोन तह पातलिने प्रक्रियालाई अझ बढाइदिने गर्छ ।  ओजोन तह पातलो बनाउनमा सक्रिय हुने मानव सिर्जित वस्तु अर्थात् यौगिकमा क्लोरोफ्लोरो कार्बन, हाइड्रोक्लोरोफ्लोरोकार्बन, ह्यालोनस्, मिथाइल ब्रोमाइड, कार्बनटेट्राक्लोराइड, क्लोरोब्रोमोमिथेन, मिथाइल क्लोरोफम आदि पर्छन् ।  जब सूर्यको पारावैजनी किरणको उपस्थितिमा तिनीहरू विखण्डन हुन्छन्, विखण्डनपश्चात् निस्कने क्लोरिन र ब्रोमिनका परमाणुले ओजोनलाई नस्ट गर्न थाल्छन् ।  यतिसम्म कि एउटा क्लोरिनको परमाणुले एक लाख ओजोनका अणुलाई नष्ट गर्ने क्षमता राख्छ ।  ओजोन तह पातलिनुले वायुमण्डलको दोस्रो तह अर्थात् स्ट्राटोसफियरमा रहेको ओजोनको मात्रा घट्न जान्छ तर पृथ्वीको सतह नजिक रहेको तल्लो वायुमण्डलमा ओजोनको मात्रा बढ्न पुग्छ ।  ओजोन आफैँमा एउटा प्रदूषक एवं हरितगृह ग्यास पनि हो ।  जसले गर्दा यसले विश्व तापमान वृद्धि तथा जलवायु परिवर्तन गर्नमा पनि महŒवपूर्ण भूमिका खेल्छ ।  
ओजोन तह नस्ट गर्ने विभिन्न वस्तु अर्थात् यौगिक मानवले गर्ने विभिन्न क्रियाकलापबाट नै उत्सर्जित हुन्छन् ।  जस्तै औद्योगिक कल कारखाना, सवारी साधन, वनजङ्गल फडानी आदि ।  दुःखका साथ भन्नुपर्दा अविकसित मुलुकभन्दा विकसित औद्योगिक मुलुक नै यसमा बढी जिम्मेवार छन् तर त्यो भन्दैमा कम विकसित वा अविकसित मुलुकको संलग्नता पटक्कै छैन भनेर खुट्टा तान्न पनि मिल्दैन ।  
सबै देश र त्यहाँका मानिसले चाहे विकास निर्माणका काम गर्दा होस् वा औद्योगिक कलकारखाना सञ्चालन गर्दा या त अन्य जुनसुकै क्रियाकलाप नै किन नहुन्, सबै ओजोन तह मैत्री हुनुपर्छ ।  प्रविधिको छनोट, ऊर्जाको उपयोग एवं मानव जीवनशैली आदिले ओजोन तह संरक्षण गर्नमा महŒवपूर्ण भूमिका खेल्छ ।  
यो पृथ्वी सबै मानवजातिको साझा घर हो ।  चाहे सम्पन्न विकसित देश होस् या अति कम विकसित नै किन नहोस् हामी सबै मानिसजाति मात्र नभएर समग्र जीवजन्तु तथा वनस्पतिको जीवनको अस्तित्व र भविष्य यस पृथ्वीको ओजोन तहसँग जोडिएको छ ।  घर सुरक्षित भए त हामी पनि सबै सुरक्षित हुन्छौँ ।  तसर्थ यस साझा घरको वास्ता र चासो हामी सबैलाई हुनु आवश्यक छ ।  यो वर्षको नाराले पनि यही कुरा अगाडि सारेको छ ।  सारा संसार एकजुट भएर लागेनौँ भने ओजोन तथा जलवायुलाई पहिलाको जस्तो सामान्य अवस्थामा ल्याउन सकिँदैन ।  तसर्थ स्वस्थ र सुरक्षित मानव भविष्य एवं दिगो र सन्तुलित वातावरणका लागि हामी सबै सरोकारवलाले हातमा हात मिलाएर हाम्रो साझा घरको छानो अर्थात् पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तह संरक्षणतिर सचेत भई एक जुट भएर लाग्नुपर्ने खाँचो छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना