बौद्धिकताको उपहास

shiv adhikari शिव अधिकारीे



देशको समृद्धि सबैको चाहना हो ।  यद्यपि केबाट र कतिसम्म हुँदा समृद्धि चुलिन्छ भन्ने कुनै सीमा छैन ।  संस्कारगत मान्यतालाई सम्मान गर्दै आर्थिक सम्पन्नतातर्फ चुलिँदै जानु नै समृद्धि हो ।  फेरि यससँगै चौतर्फी विकासको कुरा पनि गरियो त्यो चाहिँ के हो त ? आफूभित्रको तागतको जानकारी लिँदै त्यसको प्रयोगमा अग्रसरता देखाएर आफूलाई समाजमा क्रियाशील राख्न सके चौतर्फी विकास हुन्छ भन्दा वेसै होला ।  जे होस् आर्थिक समृद्धि, यो समाजलाई शान्ति, सुव्यवस्था र अमन चैन व्यवस्थित गर्ने माध्यम हो र यसको विकल्प छैन ।  
देश बन्छ भनेर कसैलाई सोधे “मलाई के मतलव, देशको जिम्मा त नेतालाई दिएकै छ नि” भन्ने आशयका जवाफ सुनिन्छ ।  कोही यो देशको जिम्मेवार नागरिक हुँ भन्न रुचाउने पक्षमै छैन ।  यस्तो लाग्छ, विचरा यो देश कति बेवारिस भयो नि ? किनभने सरकारमा कुन पार्टी पुग्यो त्यो पनि कुन नेता हो, त्यसको नजिक कसरी पुग्ने भन्ने फुस्रा बुद्धिजीवी र आशामुखी कार्यकर्ताको दाउ मार्ने तरिकाले यो देश बेवारिस अवस्थामा पुगेको हो ।  जबसम्म यो सोचबाट यहाँका बुद्धिजीवी भनिनेहरू मुक्त हुँदैनन् देश बन्दैन ।  
अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ ।  उहाँको अगाडि–पछाडि लागेर केही पद लिने र फाइदा उठाउने धन्दा धेरैको होला ।  फेरि समझदारीबमोजिम नौ महिनापछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने रे, त्यहाँ पनि चाकडीको चकचकी चलेकै होला ।  यसरी एकपछि अर्को हुँदै फेरिएको सरकारी माहोलमा बुद्धिजीवीहरू बिटुलिएर काम नलाग्ने भइसकेका हुन्छन् ।  अब सोचौँ बुद्धि नै नभएकोले बुद्धि दिँदा हुने उपलब्धि के हो ? बुद्धिजीवी भनेको बुद्धिले बाँच्ने हो, चाकडी र चाप्लुसीमा लाग्ने हो भने यो वर्गको अध्ययन र सिकाइ सबै व्यर्थ नै भएको मान्नुपर्छ ।  देशको विकास गर्न सोच र विचार दिने शक्ति बौद्धिक शक्ति नै हो ।  यो शक्ति सशक्त ढङ्गले सबैलाई बौद्धिक खुराक दिन सधैँ प्रयत्नरत रहने र आफ्नो पेसाप्रति इमानदार हुने हो भनेमात्र देशले नयाँ मोड लिन सक्छ ।  
बुद्धिजीवी र राजनीतिलाई संयुक्तमा हेर्दा विभिन्न सिद्धान्तको फलाको रट्नेहरू सबैको आडम्बरी पारा देखिएकै छ ।  माक्र्सवाद पढेर राजनीतिका पण्डित कहलिने होइन कम्युनिस्टको सदस्यता लिने बित्तिकै माक्र्सवादी दर्शनको ज्ञाता भइसकेकाको चुरीफुरी साँच्चीकै यो देशमा टिठलाग्दो छ ।  माक्र्सले पदार्थको व्याख्या गरे ।  त्यो पदार्थ प्रयोग गर्दा लिन सकिने लाभ र त्यसलाई सट्टापट्टा गर्दा लिइने फाइदाको कुरा थाहा छ त त्यस्ता पण्डितहरूलाई ? फेरि हाम्रो जस्तो गरिब देशमा केही अभिजात्य धनी छन् र उनीहरू नै पण्डित छन् ।  उनीहरू नै अर्तिबुद्धि दिन्छन् ।  यतिमात्र कहाँ हो र शिक्षण संस्था, वित्तीय संस्था, स्वास्थ्य संस्था सबै यिनीहरूकै स्वामित्वमा चलिरहेका छन् ।  अनि त्यस्ता संस्थाबाट सर्वसाधारणले पाउने सुविधा के होला ? यो स्वतः सिद्ध जानकारीको विषय हुन सक्छ ।  
बुद्धिमान हुन त बुद्ध हुनुपर्छ ।  बुद्ध वास्तवमा ज्ञानी मान्छे हो ।  गौतम बुद्धले त बाटोमात्र देखाएका हुन् ।  मान्छे ज्ञानी हुन कोसिसै नगर्नेे तर बुद्धको मूर्ति पूजा गरेर बुद्ध हुन खोजिरहेको पाइन्छ ।  बुद्धले राजपाट सबै त्यागे, सम्पत्ति र परिवारसमेत छाडेर सांसारिक बने तर हामी छाडेर सांसारिक होइन, सम्पूर्ण वैभव धन सम्पत्तिबाट सांसारिक हुने प्रयत्न गरिरहेका छौँ ।  के यसबाट साँच्चै समाजमा केही परिवर्तन दिन सकौँला त ?
नेपाल यो तपोभूमि हो ।  यो धर्ती विभिन्न युगपुरुष वीर र विराङ्गनाले सिर्जित र संरक्षित छ ।  फेरि इतिहास भनिरहेको छ मञ्जुश्रीजस्ता महापुरुषले सिर्जना गरेर बसालेको बस्ती यो तपोभूमि नै हो ।  फेरि रत्नाकरले आपराधिक बाटोबाट मुुक्ति लिन शरीरमा धमिरा लागुञ्जेल तपस्या गर्दा वाल्मिकी भएको कथा हामीले पढिरहेका छौँ र यिनै वाल्मिकी रचित ग्रन्थहरूलाई पूजाकोठामा राखेर हिन्दु पनि कहलिएका छौँ ।  यद्यपि आफैँ वाल्मिकी हुन हामीले कोसिसै गरेनौँ ।  
यस अवस्थामा हामीले अहिले परिवर्तन खोजिरहेका छौँ ।  त्यो परिवर्तन नमूना गाउँ निर्माणबाट हुन्छ भन्ने विश्वास हामीभित्र जागृत भएको छ ।  नमूना गाउँमा हामी ‘अष्ट ज’ को स्रोत खोजी गर्छौं ।  त्यसको प्रयोगबाट आय आर्जनका प्रशस्त आयाम दिन खोजिरहेका छौँ ।  ‘अष्ट ज’ को प्रयोगका लागि बुद्धको अष्टमार्गमा अभ्यस्त जनशक्तिको निर्माणको प्रयत्न गरिरहेका छौँ ।  अन्यथा अहिले नै विश्व गरिबीको सूचीमा १७ नम्बरमा परेको यो देशलाई कसरी समस्याबाट मुक्त गर्ने हो ? यो सोचाइ कहाँबाट बनिरहला ? अब बौद्धिक जमात गम्भीर हुनुपर्छ, सोच्नुपर्छ ।  
अब समाजलाई नयाँबाटोमा हिँडाउन बौद्धिक जमात सक्रिय हुनुपर्छ ।  किनभने हामी हाम्रो देशलाई बुद्धको भूमि भनिरहेका छौँ तर हामीसँग यसको पहिचान दिने केही बौद्ध स्मारक, स्वयम्भू, बौद्धनाथ र लुम्बिनी सिवाय के बाँकी रहेको छ त ? खाली भारतले बुद्ध भारतमा जन्मेको भन्यो भनेर चिच्याइरहने ? भारतमा अम्बेडस्करले बुद्धको बाटो लिन खोजेर सामाजिक राज्य व्यवस्थाको परिकल्पनाका साथ आरक्षणको आधार बनाउन खोजे ।  त्यस्तै भुटानका तत्कालीन राजा जिग्मेसिङ्गे वाङ्चुकले राष्ट्रसङ्घको प्रति व्यक्ति उत्पादन (जीडीपी) कोे बाटोबाट नहिँडेर राष्ट्रिय सुख (जीएनएच) को घोषणा सन् १९७२ मै गरिसकेका थिए ।  आज यसैलाई आधारित गरेर राष्ट्रसङ्घले समेत सुविधा सूची (ह्यापिनेस इण्डेक्स) प्रकाशित गर्ने गरेको छ ।  थाइल्यान्डका भूमिबोलले समृद्ध आर्थिक प्रणालीको घोषणा १९७३ मै गरेका थिए ।  त्यस्तै जापानले सोकागुकी कार्यक्रम धेरै पहिलेदेखि नै सुरु गरेर समृद्धियात्रा थालेकै हो ।  यी सबै बुद्ध अर्थशास्त्रमा आधारित हुन् ।  ‘स्मल इज ब्यूटिपूmल’ भन्ने पुस्तकमा इ.एफ. शुमेकरले यसको स्पष्ट व्याख्या गरेका छन् ।  
यसैले सरकारले सबै गाउँलाई नमूना गाउँ बनाउने कार्यक्रम ल्याओस् ।  प्रत्येक गाउँका युवा तथा सक्रिय जनतालाई ग्रामीण उद्यमशीलता विकास कार्यक्रम लागू गरेर व्यापक तालिम तथा सीप आर्जनको कार्यक्रम सञ्चालन गरिहालोस् ।  यसबाट स्वयं रोजगार बन्ने आधार दह्रो बन्छ ।  तराईमा सधैँ उत्पीडित बनेका जनताको समस्या अहिलेको हल्लामा भएको आन्दोलनबाट समाधान हुँदैन ।  त्यहाँ त सामाजिक सुरक्षा तथा विकास कार्यक्रम ल्याउनुपर्छ ।  पहाडमा पशुपालन, खाद्यान्न उत्पादन जडिबुटीले भरिभराउ पार्नुछ ।  हिमालमा पशुपालन तथा जडिबुटी उत्पादनको भण्डार बनाउनु छ ।  यसै बाटोबाट पूर्वपश्चिम तराई मधेस जातजाति वर्ग र पेसाका जनताको विकास हुन्छ ।  भूकम्प, बाढी पहिरोको पीडा तत्काल समाधान गर्न सकिने गरी पुनर्निर्माण तथा पूर्वाधार विकास बैङ्क ल्याउने र त्यसैअन्तर्गत जम्मा भएको रकम सदुपयोग हुने गर कार्यक्रम सञ्चालन गर्नु उचित हुन्छ ।  
सरकार, बौद्धिक समाज र अगुवा सबै इमानदार बनेर यहाँको स्रोत परिचालनमा अग्रसर बनेमा कुनै पनि नेपाली विदेशीको ढोका कुर्न र सफाइ काम खोज्न भौतारिइरहनुपर्दैन ।  सबै एकजुट भएर कार्यक्रममा अग्रसर भए देशको चौतर्फी विकास र धनी देश नेपाल नै हुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना