कुर्बानीको पर्व ‘इदुल अजहा’

भउचप्रसाद यादव

काठमाडौँ, भदौ २८ गते ।  इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद मङ्गलबार सुरु हुनेछ ।  तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इदुल अजहा’ पनि भनिन्छ ।  इस्लामिक क्यालेन्डर अनुसार, १४३७ हिजरी संवत्को अन्तिम महिना जिलहिज्जा १० तारिखका दिन विश्वभरिका मुस्लिम समुदायद्वारा मनाइने यो पर्व यस वर्ष नेपालमा भदौ २८ , २९ र ३० गते मुलुकभरि मनाइँदैछ ।  यस पर्वको अवसरमा सरकारले मङ्लबार सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।
बकरइद मुस्लिम समुदायको सबभन्दा ठूलो पर्व ‘इद उल फित्र’ पछिको दोस्रो ठूलो पर्व हो ।  ‘इद उल फित्र’ समापन भएको ठीक दुई महिना दश दिनपछि यो पर्व आउँछ ।  हज कुर्बानी गर्नुपर्ने प्रमुख विशेषता रहेको बकर इदमा मुस्लिम समुदायका लागि हज र कुर्बानी अनिवार्य मानिन्छ ।  इस्लामको पाँच आधारस्तम्भ आस्था, नवाज, हज, रोजा र जकातमध्ये हजलाई मुख्य मानिन्छ ।
मदिना जामे मस्जिद, वीरगञ्जका मौलाना (इमाम) हदिबु रहमानले बकरइदको पहिलो दिन बिहान इदगाहमा भेला भएर नमाज पढिसकेपछि पशुको कुर्बानी दिइने जानकारी दिनुभयो ।  कुर्बानी दिएपछि जन्नत (स्वर्ग) को बाटो खुल्छ भन्ने विश्वास छ ।  
उहाँका अनुसार, यस पर्वमा स्वस्थ चौपायाको कुर्बानी दिनुपर्छ ।  कुर्बानीको मासु तीन भागमा बाँड्नुपर्छ ।  एक भाग आफ्नो लागि, एक भाग इष्टमित्रका लागि र अर्को भाग समाजमा रहेका गरिब विपन्न वर्गका लागि छुट्टयाइन्छ ।  समाजका कोही पनि मुस्लिम समुदाय मासु खानबाट वञ्चित हुनु नपरोस् भने मान्यता यस पर्वमा हुन्छ ।  आर्थिक अवस्थाका कारण कुर्बानी दिन नसक्नेको घरमा पनि यस पर्वको रौनक आओस् भन्ने उद्देश्यले कुर्बानीको मासु (तनुका) बाँडिन्छ ।
इस्लामिक मुलुकहरूमा जति ठूलो चौपायाको कुर्बानी दिने त्यति नै बढी धर्म हुने विश्वास भए पनि नेपालमा खासगरी खसी बोकाको नै बलि दिइन्छ ।  यस समुदायका सम्पन्न व्यक्तिले तीन दिन नै बलि दिने गरे पनि सामान्य आर्थिक अवस्था भएकाले एक दिन मात्र बलि दिन्छन् ।  भनिन्छ, हजरतले मक्कामा विजय हासिल गरेपछि कुर्बानीलाई व्यवस्थित गरिएको हो ।
मौलाना रहमानले भन्नुभयो, “कुर्बानीका दिन बिहानै उठी नित्य कार्य सकेर गाउँबाट पर खुला मैदानमा गई नमाज पढ्नुपर्छ ।  यस पर्वमा हाँस, कुखुरा लगायत साना पशुपक्षीको कुर्बानी दिइँदैन ।  कुर्बानीका लागि उपयुक्त मानिने पशुपक्षी स्वस्थ्य हुनुपर्छ ।  
कुर्बानी दिइने पशुको सिङ, कान र पुच्छर काटेको हुनुहुँदैन ।  ठूला पशुमा सात जना मिलेर र खसी र बाख्रामा एक जनाले कुर्बानी दिनुपर्ने नियम छ । ” कुर्बानीको मासु बिक्री गर्न मिल्दैन, कुर्बानीको दिइएको पशुको छाला मदरसालाई दिनुपर्ने धार्मिक मान्यता छ ।
तीन दिनसम्म कुर्बानी दिनेहरूकहाँ पहिलो कुर्बानी घरमूलीको नामबाट दिइन्छ भने बाँकी कुर्बानी परिवारका अन्य सदस्यको नामबाट दिने चलन छ ।  जसको नामबाट कुर्बानी दिइन्छ त्यो व्यक्तिले कुर्बानीसम्बन्धी सम्पूर्ण काम समापन नभएसम्म कुनै प्रकारका अन्न जल ग्रहण गर्नु हुँदैन भन्ने मान्यता छ ।  जसको नामले कुर्बानी दिइन्छ त्यो व्यक्तिले कुर्बानीको मासु प्रसादको रूपमा ग्रहण गरिसकेपछि मात्र बलिदान सम्पन्न र सफल भएको मानिन्छ ।  सदियौँदेखि कायम रहँदै आएको नेपालीहरूबीचको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउन राज्यले यस पर्वलाई पनि राष्ट्रिय पर्वको मान्यता दिई सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना