बुद्धमार्ग र संविधान लेखन


bashanta11बसन्त महर्जन,
नेपालका लागि वर्तमान प्रमुख मुद्दा संविधानसभाद्वारा लेखिनु पर्ने संविधान हो । ऐतिहासिक जनआन्दोलन २०६२÷६३ का उपलब्धिहरुलाई संस्थागत गर्न त्यही अनुरुपको संविधान चाहिएको छ तर संविधान निर्माणको काम विविध समस्याले ढिला भइरहेको छ । नेपाल वर्षौं अघिदेखिका अनेकौं समस्यामा जेलिइरहेको छ । त्यसबाट मुक्त हुनु नितान्त जरुरी छ तर त्यसलाई थाँती नै राखेर भए पनि संविधान निर्माणमा ध्यान दिनुपर्ने अर्को बाध्यता हो । संविधान निर्माण र घोषणापछि मात्रै अन्य समस्यामा गम्भीर भएर लाग्न सकिने भएका कारण जतिसक्दो चाँडो वर्तमान सुहाउँदो र भविष्यका लागि पनि चित्तबुझ्दो हुनसक्ने संविधान जारी गर्नु सिंगो राष्ट्रकै लागि चुनौती भइरहेको छ ।
पहिलो संविधानसभामा अनेक पक्षमाथि विविध आयाममा अनेकौं पल्ट छलफल र बहस भयो । यही क्रममा कतिपय नसुल्झिएका विषय सुल्झिन पुगे भने कतिपय त कम्तीमा बहसका विषय बने । हतार गरेर मात्र हुँदैन । कतिपय कुरा हतारमा निर्णय गर्दा पछुताउनु पर्ने पनि हुनसक्छ । अपठित वा अशिक्षित नै सही, समूहमा बसेर आफ्नो समस्यामाथि गहिरिएर छलफल र बहसमा उत्रने हो भने गहन चिन्नत हुनुका साथै गहकिलो निष्कर्ष पनि निस्कने हुन्छ । संविधान निर्माणको प्रक्रियामा संविधानसभाका निश्चित सदस्यमात्रै छलफल र बहसमा छैनन्, सिंगो राष्ट्र नै यो भूमिकामा रहनु ऐतिहसिक र युगान्तकारी घटना हो । पटक पटक म्याद थपे पनि अन्ततोगत्वा संविधान जारी नै नगरी हठात् पहिलो संविधानसभा विघटन गरियो भनेर आलोचना गर्नेहरुको संख्या पनि प्रशस्त छ ।
दोस्रो संविधानसभाबाट एक वर्षभित्रै संविधान जारी गर्ने प्रतिबद्धता जाहेरी गरिए पनि हुनसकेन । यसलाई सकारात्मक र नकारात्मक दुवै दृष्टिले हेर्न सकिन्छ तर यही समयावधिमा एक समय जोडदार मागका रुपमा आएका मुद्दा छलफल र बहसबाट संशोधन भएका छन् भने यसरी नै कुनै बेला छलफलको विषय नै नहुने कुराहरु आज प्रमुखतम् मुद्दा हुनपुगेको छन् । छलफल र बहस सभ्य समजमा अपरिहार्य छ । यी सकारात्मक कुराले नेपालको भविष्य उज्ज्वल गर्ने छन् भन्ने कुरामा धेरै आशावादी हुन सकिन्छ तर संविधान जारी हुन विलम्ब हुँदा क्षति नेपाल र नेपालीलाई नै भइरहेको छ । थुप्रै मुद्दामा छलफल र बहस गर्दै निष्कर्षमा पुग्दै आए पनि केही पक्षमा निर्णय हुन नसक्दा सारा काम कारबाही अड्किइरहेको अवस्था छ । यो अवस्था किन आयो र सही निकास दिन सकिएन भने कस्तो नतिजा भोग्नुपर्ने हुन्छ भन्ने सन्दर्भमा अब गम्भीर भएर गम्नुपर्दछ । यो अवस्थामा गौतम बुद्धकोे सिद्धान्त वा शिक्षाको कसीमा राखेर बुझ्न खोज्दा पनि निकासा निस्कन्छ कि जस्तो पनि लाग्दछ ।
ईसापूर्व ५६३ को वैशाख पूर्णिमाका दिन वर्तमान नेपालकै लुम्बिनीमा जन्मेका गौतम बुद्धले बुद्धत्व प्राप्ति (ई.पू. ५२८) पछिका ४५ वर्ष जीवन–जगतको हित, सुखकै लागि शिक्षा दिएर गए । उनको शिक्षा वर्तमानमा पनि उत्तिकै सान्दर्भिक र आवश्यक भएकाले ज्ञानीहरु प्रशंसा गरेर थाक्दैनन् । यसलाई धर्मकै रुपमा अंगिकार गरी जीवनको मार्ग दर्शन बनाउनेहरु आज संसारभरि छन् र संसारका प्रमुखतम् धर्ममध्ये एक भएको छ । बुद्ध आफ्नो मध्य मार्गका कारण चर्चितमात्रै होइन सफल पनि भएका छन् । उनी मध्यम–मार्गलाई जोड दिन्छन् । मध्यम–मार्ग र संविधान निर्माणलाई जोड्दा समस्याले सही निकासा पाउने सम्भावना प्रशस्त छन् र यसै भएर यसमाथि चिन्तन गर्नु आवश्यक देखिन्छ ।
ब्ुाद्धत्व प्राप्तिका लागि श्रमण गौतम (बुद्धत्व प्राप्ति अघिको नाम) ले कठोर तपश्चर्या गरेका थिए । उनको त्यो अभ्यास पूर्ववर्ती साधकहरुको भन्दा उच्चतम् हुन्थ्यो । यस्तो दृढता र कठोर साधनाबाट तत्कालीन समाज श्रमण गौतमको प्रशंसा पनि गर्दथ्यो तर त्यो साधना उपलब्धिविहीन भइरहेको थियो । बरु उनको देह जीर्ण हुँदै झन्डै मृत्युको चपेटामा पनि पुग्यो । यही बेला आफू घर–गृहस्थीमा छँदाको एउटा घटना सम्झना भयो । कृशा गौतमी नामकी एक महिलाले धेरै कसिलो गरी वीणाको तार बाँध्दा चुडिएको र खुकुलो हुँदा बजाउनै नमिलेको भावसहितको गीत गाइरहेको सम्झना भयो । यो गीतको सम्झनाले श्रमण गौतमलाई केही सोच्न बाध्य पा¥यो । वास्तवमा यो गीत श्रमण गौतमका लागि ठूलो पाठ भयो र अतिवादी हुनुहुन्न भन्ने दृष्टिकोण निर्माणमा सहायक बन्यो । तत्क्षण उनले कठोर तपश्चर्या परित्याग गरी ध्यानमार्ग अपनाउने निधो गरे । ध्यानविधि बारे उनी बालककालमा नै परिरिचत थिए र उनी ध्यानलाभी पनि थिए । ध्यानका लागि शरीरलाई तपाउनु पर्दैन बरु सही स्थितिमा ल्याउन उचित भोजन लिनु पर्ने भयो । भोजन ग्रहणको घटनाबाट क्षुब्ध परम्परावादी साथीहरु साथ छाडेर हिंडे पनि । वास्तवमा यो बुद्धको मध्यम–मार्ग हो । यसबाट विस्तारै शरीर बन्यो र ध्यान साधना गर्दै अन्ततः वैशाख पूर्णिमाका दिन बुद्धत्व प्राप्त गरी बुद्ध बन्न सफल भए ।
ब्ुाद्धका तमाम शिक्षा मध्यममार्गी छन् । जसरी वीणाको तार धेरै कस्यो भने चुडिन्छ अथवा खुकुलो बनाउँदा बजाउनै सकिंदैन त्यसरी नै अतिवादी दृष्टिकोणले सही दिशा निर्देश गर्दैन । भात पकाउँदा पनि आगो पुगेन भने पाक्दैन तर बढी भए डढ्छ । सही मात्रामा खायो भने औषधि हुन्छ तर बढी वा घटी हुँदा त्यही कुरा विष सावित हुन्छ । एउटा उखान नै छ– अति भए खति हुन्छ ।
नेपालमा संविधान निर्माणका क्रममा अतिवादी दृष्टिकोण ‘हावी’ हुन पुगेको देखिन्छ । अतिवादीहरु आफूलाई सही नै ठान्छन् । त्यसैका लागि संघर्षरत् हुन्छन् । उनीहरुसँग पनि अनेक तर्क हुन्छन् । ती तर्क तथ्यमा आधारित पनि होलान् । अझ भनौं तिनका आग्रहहरु हितकारी र लाभदायक नै पनि होलान् तर त्यहाँ तिनीहरु मात्रै नभएर अर्कै सोच र पृष्ठभूमिका विपक्षीहरु पनि हुन्छन् र उनीहरुका पनि त्यस्तै सोच र आग्रह हुन्छन् । यस अवस्थामा त्यहाँ सबै पक्ष एउटा सम्झौताको बिन्दुमा त पुग्नैपर्छ । ‘मेरो गोरुको बा¥है टक्का’ भनेर अडान लिनु द्वन्द्व निम्त्याउनु हो । यस्तो अवस्थामा मत बाँझिएको हदसम्म पुनः छलफल र बहस गर्न सकिन्छ । मध्यम–मार्ग अपनाएर केही छाड्ने र केही लिने हुनुपर्छ । यसलाई अर्को भाषामा ‘‘वीन वीन सिचुएशन’ पनि भनिन्छ अर्थात् मैत्रीपूर्ण वातावरणमा सबै जित्ने, कोही नहार्ने । वास्तवमा यही बुद्धको मध्यममार्ग हो ।
हामी नेपाली बुद्ध नेपालमा जन्मेको भन्न पाउँदा औधी गौरव गर्छौं तर उनै बुद्धको शिक्षालाई आत्मसात् गर्न नसक्नु वा वास्तै नगुर्न अँध्यारोमा बत्ती हातमा लिएर आँखा चिम्लनु जस्तै मात्रै हो । बत्तीको प्रशंसा गर्नुको कुनै तुक छैन । संविधान लेखिएपछि लेख्यो लेख्यो, अपरिवर्तनीय नै नहुने त होइन । चित्त नबुझेको पक्ष भोलि संशोधन पनि गर्न सकिन्छ तर यो मध्यम–मार्गको अवलम्बलनबाट मात्रै सम्भव हुन्छ । अनिर्णयको बन्दी अवस्थामा निकाशा पाउन गा¥हो हुन्छ, द्वन्द्व र द्वेष मात्रै सिर्जना गर्दछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना