पानीको मुल सुक्न थालेपछि मुहान संरक्षण अभियान सञ्चालन

डडेल्धुरा भदौ २७ गते ।  विश्वव्यापी रूपमा देखा परिरहेको जलवायु परिवर्तनको असरले अल्प विकसित मुलुक नेपाललाई झन बढी मात्रामा प्रभावित तुल्याइरहेको छ ।  विशेष गरी हिमालको हिउँ पग्लदै जानुु, खण्डवृष्टि, अतिवृष्टि, अनावृष्टिले गर्दा कहि खडेरी पर्ने त कही ठूलो बाढी, पहिरो जानेजस्ता समस्या नेपालमा पछिल्लो चरणमा बढी मात्रामा देखा परिरहेका छन् ।  अझै भन्नुपर्दा प्राकृतिक स्रोतमाथि आश्रित समुदायले यसको असर बढी भोगी रहनुपरिरहेको छ ।  जलवायु परितर्वनले मुख्यतया कृषि तथा खाद्य सुरक्षा, वन तथा जैविक विविधता, जलस्रोत तथा ऊर्जा, मानव स्वास्थ्य, पूर्वाधार र सहरी विकास असर परिरहेको छ ।  हिउँ पल्गदै जाँदा हिमालको क्षेत्रफल घट्दै जान थालेको छ भने पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा डुबानको समस्याले आक्रान्त बनाउँदै गइरहेको छ ।  चुरे क्षेत्रमा भूस्लखनको समस्याले विकराल रूप लिँदै गइरहेको छ ।  जसका कारणले गर्दा पानीका मूलहरू पुरिने, भाँसिने तथा हराउने प्रवृत्ति देखा पर्न थाल्दा अधिकांश बस्तीमा खानेपानीको समस्या देखिन थालेको छ ।  
वनजङ्गलको फडानी, खुला चरिचरन, जथाभावी अतिक्रमण, वातारणीय अध्ययन अनुसन्धान बिनागरिएको भौतिक पूर्वाधार विकास तथा अनियन्त्रित बस्ती विकासले गर्दा पानीका मुहान सुक्दै जान थालेको विभिन्न अध्ययनले देखाउँदै आएको छ ।  यति हुँदा पनि यो क्रम रोकिएको छैन ।  वातावरणीय प्रभावको मूल्याङ्कनबिना नै गाउँगाउँमा सडक विस्तार हुनु, सडक यातायातको सुविधापछि पहाडी भूभागको वन जङ्गल विनास हुँदै जानुले थप समस्या पारेको छ ।  यही कुरालाई दृष्टिगत गरी सरकारले पहाडी क्षेत्रमा पानीका मुल संरक्षण अभियान सञ्चालन सुरु गरेको छ ।  muhan
स्थानीय बासिन्दाका लागि भरपर्दो पानीको स्रोत व्यवस्थापन गर्न सरकारले पश्चिम नेपालका विभिन्न जलाधार क्षेत्रमा यस्तो अभियान सञ्चालन गरिरहेको छ ।  यो अभियान सञ्चालन गर्न वन तथा भूसंरक्षण मन्त्रालय अन्तर्गतको भू तथा जलाधार संरक्षण विभागद्वारा पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समानुकूलन आयोजना सञ्चालन गरिएको छ ।  जसअन्तर्गत पश्चिम सेती तथा बुढी गङ्गा जलाधार क्षेत्रमा पर्ने बझाङ, अछाम, बाजुरा, डोटी, डडेल्धुरा र बैतडी जिल्लाका १०८ वटा गाउँ विकास समितिमा पानीको मुहान संरक्षण अभियानमा स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको कुरा भू तथा जलाधार संरक्षण विभागले जनाएको छ ।  विभागका अनुसार सुदूरपश्चिमका यी जिल्लामा सुरु गरिएको यो अभियानलाई नमुना कार्यक्रमका रूपमा लिइएको छ ।  जलवायु लगानी कोष, एसियाली विकास बैङ्क र नर्डिक विकास कोष लगायतका सहयोगी सङ्घ, संस्थाको सहयोग रहेको यो अभियानमा स्थानीय बासिन्दालाई नै पानीको मुहान संरक्षण अभियानमा प्रत्यक्ष रूपमा संलग्न गराइदै बताइएको छ ।  
सरकारले तयार पारेको जलवायु परिवर्तन समानुकूलन राष्ट्रिय रणनीतिक कार्यक्रमको पहिलो अङ्गका रूपमा यो अभियानलाई लिइएको छ ।  जलवायु परिवर्तन समानुकूलन राष्ट्रिय रणनीतिले एकीकृत जलस्रोत र पारिस्थिकीय प्रणालीमा आधारित पद्धतिको निर्माण गर्ने तथा जलवायु परिवर्तनको असरले प्रत्यक्ष र बढी मात्रामा प्रभावित समुदायहरूलाई उपयुक्त जलवायु समानुकूलनका उपायहरू सिकाउनु अनि अबलम्बन गराउने उद्देश्य राखेको छ ।  नमुना कार्यक्रमका रूपमा सञ्चालन भइरहेको यो अभियानबाट प्राप्त भएका असल सिकाइलाई देशका अन्य भागमा पनि सञ्चालन गरिने विभागले जनाएको छ ।  चुरे भावर र पहाडी भूभाग रहेको पश्चिम नेपालको डडेल्धुरा जिल्लामा यो अभियानअन्तर्गत झण्डै दुई सय पानीका मुहानको संरक्षण गर्ने कार्य भएको छ ।  जिल्ला भूसंरक्षण कार्यालय डडेल्धुराका अनुसार जिल्लाका मष्टामाण्डौँ, गणेशपुर, नवदुर्गा, कोटेली, कैलपालमाण्डौँ, असीग्राम, अमरगढी नगरपालिका, बेलापुर र मणिलेक गाउँ विकास समितिमा यो अभियान गत वर्षदेखि नै सञ्चालनमा रहेको र यी क्षेत्रमा सुकेका र सुक्न थालेका पानीका मुहानमा संरक्षणमुखी कार्यक्रम सञ्चालन गरिएका छन् ।  पानीको स्रोत कम भएकै कारणले समाजमा व्याप्त जातीय छुवाछूतको समस्या झन् विकराल बन्दै गएपछि जिल्ला भूसंरक्षण कार्यालय डडेल्धुराले सबै जातजातिलाई समान रूपमा सहभागी गराउँदै संयुक्त रूपमा मुहान संरक्षण गर्नका लागि अभिप्रेरित गराउँदै आएको छ ।  जसले गर्दा सबै जातजातिका साझा धारा निर्माणसमेत हुने गरेको छ ।  
जिल्ला भूसंरक्षण कार्यालय डडेल्धुराका अनुसार मुहान संरक्षणका लागि मुहान वरिपरि वृक्षरोपण गर्ने, मूल वरपर पोखरी निर्माण गर्ने, ससाना खाडल निर्माण गरी पानीलाई बग्नबाट बचाई पानीको रिचार्ज बढाउने लगायतका कार्यहरू स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने गरेका छन् ।  उपभोक्ता समिति निर्माण गर्ने चरणदेखि नै सबै जातजाति, वर्ग समुदायको समान र सक्रिय सहभागिताको अनिवार्यता गरिएको यो अभियानमा साझा समस्याको समाधानका लागि सबैले उत्तिकै जिम्मेवारी निर्वाह गर्ने भएकाले यो कार्यक्रमले छोटो समयमा ठूलो प्रतिफल दिएको कुरा आयोजना निर्देशक रामसिंह थापाले बताउनुभयो ।  पानीको मुहान संरक्षण गर्ने र खानेपानीका लागि इन्टेक, ट्याङ्की तथा धारा लगायतका पक्की संरचना निर्माण कार्यका लागि सकभर स्थानीय स्तरमा उपलब्ध भएका साधन स्रोतलाई उपयोग गर्ने र स्थानीय व्यक्तिलाई नै रोजगारी दिने अनिवार्य शर्तले एकातिर संरक्षणमा स्थानीय सहभागिता देखिएको छ भने अर्काेतिर स्थानीय तहमा रोजगारीको सिर्जना गरेको छ ।  स्थानीय तहमा विशेष गरी महिला तथा पछाडि परेका समुदायको नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्ने कार्य पनि यो कार्यक्रम मार्फत भइरहेको छ ।  


समुदायका लागि उत्कृष्ट कार्यक्रम

रामसिंह थापा, आयोजना निर्देशक

हिजोका दिनमा बस्ती नजिकै रहेका पानीका मुहान आज विभिन्न कारणले सुक्दै गएपछि बस्ती विकासमा ठूलो चुनौती देखा पर्न थालेको छ ।  यही समस्या समाधानका लागि सरकारले पश्चिम नेपालका छवटा जिल्लामा मुहान संरक्षण अभियान सञ्चालन गरी दिगो रूपमा मुहानबाट पानी सञ्चालन गर्ने काममा हात हालेको छ ।  यो अभियान नमुना कार्यक्रमका रूपमा लिइएको छ ।  स्थानीय बासिन्दाको प्रत्यक्ष र सक्रिय सहभागितामा यो अभियान सञ्चालन भइरहेको छ ।  संरक्षणका माध्यमबाट पानीको मुहानको दिगो संरक्षण र निरन्तरताका लागि भइरहेको कामलाई स्थानीय बासिन्दाले आफ्ना लागि सञ्चालन भएको कार्यक्रमका रूपमा लिइरहेका छन् ।  यसमा जनसहभागिता निकै उत्साहजनक रहेको छ ।  मुहान संरक्षण अभियानले सफलता पाइरहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना