पर्सा वन्यजन्तु आरक्ष दुर्लभ वन्यजन्तुको सुरक्षित बासस्थान

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ   भदौ २७ गते ।  पर्सा वन्यजन्तु आरक्ष विश्वमै दुर्लभ मानिएका बाघ र हात्ती जस्ता वन्यजन्तुका लागि सुरक्षित बासस्थानका रूपमा स्थापित हुन थालेको छ ।  मध्य तराईमा अवस्थित यो आरक्षमा पछिल्लो समयमा बासस्थान सुधारसम्बन्धी सञ्चालन गरिएका कार्यक्रमका कारणले तराई र चुरे शिवालिक क्षेत्रमा पाइने वन्यजन्तु तथा जैविक विविधताका लागि सुरक्षित बासस्थानका रूपमा स्थापित हुन थालेको हो ।  
पूर्वी तराई तथा चुरे क्षेत्रमा बाघ हराउँदै गएको अवस्थामा पर्सा वन्यजन्तु आरक्षमा भने बाघको सङ्ख्या दोब्बर देखिएको छ ।  अघिल्लो वर्ष १० वटा मात्र बाघ देखिएको यो क्षेत्रमा आर्थिक वर्ष २०७२/२०७३ मा गरिएको गणनामा बाघको सङ्ख्या १९ पुगेको आरक्ष प्रशासनले जनाएको छ ।  त्यसैगरी आरक्षमा हात्तीको सङ्ख्या करिब ६५ भन्दा बढी पुगेको अनुमान गरिएको छ ।  पछिल्लो अध्ययन अनुसार गौरी गाईको सङ्ख्या १०५ जति र गैंडाको सङ्ख्या पाँच भेटिएको आरक्षले जनाएको छ ।  
बारा, पर्सा र मकवानपुर जिल्लासम्म फैलिएको मध्य तराईको संरक्षित क्षेत्र विशेष गरी नेपालमा बाघको संरक्षणका लागि उपर्युक्त स्थानका रूपमा चिनिन थालेको छ ।  वि.स. २०४० सालमा स्थापना भएको यो आरक्ष ६२७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।  चारकोशे सालको जङ्गल रहेको र रैथाने हात्तीको उचित बासस्थान भएकाले यो क्षेत्रको संरक्षण आवश्यक महसुस गरेर यो आरक्षको स्थापना गरिएको हो ।  बाघ लगायतका महìवपूर्ण वन्यजन्तुका लागि सुरक्षित बासस्थान निर्माण गर्ने उद्देश्यले विस २०७२ सालमा यो आरक्षको १२८ किलोमिटर क्षेत्रफल बिस्तार गरिएको आरक्षका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले बताउनुभयो ।  चुरे तथा शिवालिक क्षेत्रको संरक्षण गर्दै अन्न भण्डारका रूपमा रहेको तराईको मलिलो माटोको संरक्षण गर्न यो आरक्षको महìवपूर्ण भूमिका रहेको छ ।  धार्मिक तथा ऐतिहासिक स्थलसमेत रहेको यो क्षेत्रमा पर्यापर्यटनको सम्भावना पनि निकै बढी रहेको छ ।  tigerr
यो क्षेत्रमा ३०० प्रजातिका चराचुरुङ्गी पाउने गरेका छन् भने ३२ प्रजातिका स्तनधारी र ३१ प्रजातिका पुतली पाउने गरेका कुरा आरक्षको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो ।  जैविक विविधताको स्थिति हेर्ने हो भने यहाँ ३३४ प्रजातिका विभिन्न किसिमका वनस्पतिको संरक्षण भइरहेको छ ।  तीमध्ये कतिपय वनस्पति विश्वमै दुर्लभ र सङ्कटापन्न प्रजातिमा रहेका बताइएको छ ।  आरक्षको कुल क्षेत्रफलमा रहेको जङ्गलमध्ये करिब ९० प्रतिशत जङ्गल सालको रहेको छ ।  
आरक्षको वरिपरि बस्ती क्षेत्र रहेकाले आरक्षभित्रका वन्यजन्तुहरू बस्तीमा जाँदा हानी नोक्सानी पुर्याई रहने कुरालाई ध्यानमा राखी आरक्षले आरक्षको १० किलोमिटर क्षेत्रमा सौर्य तारवारको निर्माणसमेत गरेको छ ।  प्रमुख संरक्षण अधिकृत रेग्मीका अनुसार पछिल्लो समयमा वन्यजन्तु र मानवबीच द्वन्द्व न्यूनीकरण गर्ने विभिन्न प्रयासहरू भइरहेका छन् ।  तीमध्ये सौर्य तारवारको निर्माणले पनि वन्यजन्तु सहजै बस्तीमा प्रवेश गर्न नसक्ने अवस्थाको सिर्जना भएको छ ।  हाल आरक्ष प्रशासनले स्थानीय बासिन्दा, प्रशासनलगायत सबै सरोकारवालाको सहयोग र समन्वयमा वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापारलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको दाबी आरक्ष प्रशासनको गरेको छ ।  
अर्काेतर्फ दुर्लभ वन्यजन्तुको बासस्थान सुधार गर्ने कार्य पनि भइरहेको आरक्षका संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।  उहाँका अनुसार जलवायु परिवर्तनका असरलगायतका कारणले चुरे तथा आरक्ष क्षेत्रभित्र पानीका मुल सुक्दा वन्यजन्तुलाई पानीको अभाव भइरहेको छ ।  यो समस्यालाई समाधान गर्न सके वन्यजन्तुका लागि लाभदायिक हुने उहाँले बताउनुभयो ।  आरक्ष वरिपरि भइरहेको अतिक्रमण, राजमार्गमा हुने दुर्घटनाले समेत वन्यजन्तुलाई हानिनोक्सानी पुर्याइरहेको छ, यस्ता खालका घटनालाई न्यूनीकरण गर्न सके संरक्षण कार्य अझ प्रभावकारी हुने संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।  काठमाडौँ, चितवन, जनकपुरधाम, कोशी टप्पु, गढीमाई धामलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको करिडोरमा रहेको यो आरक्षमा पर्यापर्यटनको उत्तिकै सम्भावना रहेको छ ।  यहाँ पाइने वन्यजन्तु, जैविक विविधतालगायतका कुराहरूको प्रचार प्रसार गर्न सकेको खण्डमा मध्यवर्ती क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा सुधार ल्याउन सकिने प्रशस्त सम्भावना रहेकाले आरक्ष प्रशासन र मध्यवर्ती क्षेत्रसँग सरोकार राख्ने सबै निकाय र व्यक्तिहरूले त्यसतर्फ ध्यान दिन जरुरी छ ।  


संरक्षणका कार्यमा
विशेष कार्यक्रम सञ्चालन

युवराज रेग्मी, प्रमुख संरक्षण अधिकृत

मध्यतराईमा रहेको यो आरक्ष विश्वमै दुर्लभ मानिएका वन्यजन्तु तथा जैविक विविधताका लागि महìवपूर्ण बासस्थान हो ।  पछिल्लो समयमा हामीले आरक्षको बिस्तार पनि गरेका छौँ ।  विस्तारित क्षेत्रले बाघ लगायतका थप वन्यजन्तुको संरक्षण गर्न सहज भएको छ ।  चुनौती त थुप्रै रहेका छन् तर ती चुनौतीलाई हामीले एक पछि अर्काे गर्दै समाधान गर्न प्रयास गरिरहेका छौँ ।  पछिल्लो समयमा संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन भइरहेका छन् ।  राजधानीदेखि नजिक रहेको यो आरक्ष पर्यापर्यटनको विकासको सम्भावना पनि निकै रहेकाले त्यतातर्फ पनि केही काम गर्न सके अझै राम्रो हुने थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना