नेपाली भाषामा बनावटी समस्या

mahimansing bistaमहिमानसिंह विष्ट

  



भाषा भनेको एउटाको मनको कुरा वा भाव अर्कोलाई बोलेर, लेखेर वा हाउभाव गरेर दर्शाउने र अर्को पक्षले पनि पहिलो पक्षले भनेको कुरा, भाव बुझेर प्रतिक्रिया दर्शाउने माध्यम हो ।  एक्लै व्यक्ति वा जनावर भाषाको प्रयोग गर्न सक्दैन ।  कोइलीको कुहु–कुहु भन्ने स्वर होस् कि कमिलाको ताँतीको बीच हुने भाषा भाव होस्, बोलेको वा लेखेको वा हाउभाउ गरेको इशारा पनि भाषाको प्रयोगभित्र नै पर्छ ।  
देवनागरी लिपिको नेपाली भाषा प्राचीन भाषामध्ये एक भाषा हो ।  आधुनिक नेपाली भाषाको विकास जुम्ला जिल्लाको सिंजा क्षेत्रबाट उत्पत्ति भई अहिलेको अवस्थामा विकसित भएको पाइन्छ ।
नेपाली भाषाको विकासमा नेपाल प्रज्ञाप्रतिष्ठानको ठूलो देन छ ।  यहाँबाट प्रकाशित बृहत् शब्दकोशलाई वि.सं. २०६७ देखि केही भाषाविद्ले परिमार्जनको नाममा जुन बेथिति ल्याए, यो दण्डनीय किसिमको अपराध हो ।  प्रत्येक व्यक्तिको स्वरले निर्धारण हुने कानूनलाई कानुन, लण्डनलाई लन्डन, श्रेष्तेदारलाई स्रेस्तेदार, रजिष्ट्रारलाई रजिस्ट्रार पेशलाई पेस, देशलाई देस, दशैंलाई दसैं, दशलाई दस, बीसलाई बिस, तीसलाई तिस, विद्यालयलाई विद्यालय, शुरुलाई सुरु, वकीललाई वकिल, पद्धतिलाई पद्धति, उद्धारकलाई उद्धारक, उद्धवलाई उद्धव, उद्योगलाई उद्योग, आशालाई आसा, फूललाई फुल, विषयलाई विसय, पीडितलाई पिडित, जून (चन्द्रमा) लाई जुन, शक्तिलाई शक्ति, भक्तिलाई भक्ति, अतिरिक्तलाई अतिरक्त, सानोठिमीलाई सानो ठिमी, गृहमन्त्रीलाई गृह मन्त्री, प्रधानमन्त्रीलाई प्रधान मन्त्री, सोह्र, वाह्रलाई वार, दीपकलाई दिपक, राष्ट्रियलाई रास्ट्रिय, सिद्धान्तलाई सिद्धान्त, दीनानाथलाई दिनानाथ गरी जुन भाषागत अपराध भएको छ, यसलाई सच्याउनुपर्छ ।  उल्लिखित पछिल्लो शब्द कायम गर्नेहरूको सपनालाई सपनामा नै सीमित गरिनुपर्छ ।
अर्काको दबाबमा वि.सं. २०६७ तिर भाषागत अपराधको जग बसेको देखिन्छ ।  निजी विद्यालयमा नेपाली भाषा कमजोर र अङ्ग्रेजी सजिलो बनाउने गुरु योजना अनुरूप तत्कालीन नेपाल सरकारलाई समेत झुक्याइ पाठ्यक्रम विकास केन्द्रले २०६७ जेठ १६ मा “सम्पादन प्रकाशन शैली २०६३’’ परिमार्जन गर्न कथित भाषाशास्त्रीको समूह तयार भई कार्यदल बनाएर २०६८ पुस २२ मा उल्लिखित पछिल्ला शब्द (बिद्यार्थी आदि) बनाइ वर्णविन्यास परिमार्जन गरेर सिफारिससाथ प्रतिवेदन तयार गरियो ।  उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मालाई समेत झुक्यानमा पारी (सही गर्नुपर्ने धेरै फाइल एकैपटक लगेर हुलमुल गरी) २०६९ साउन २२ मा शिक्षामन्त्रीको हस्ताक्षर गराइ सदर गराएर यसको दुष्प्रयोग वि.सं. २०७० सालबाट सुरु भयो ।  यसमा तत्कालीन शिक्षामन्त्रीले भाषा बिगार्नमा आफ्नो भुलबस भूमिका रहेकोमा आत्मालोचना गरिसकेको अवस्था छ ।
अब के गर्ने ?
कथित वर्णविन्यास परिमार्जन
(२०६९ साउन २२) मा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा तयार भएकोलाई तत्काल वदर गर्ने ।  स्वनामधारी विद्वान्हरूले लेखेको पछिल्लो निजी क्षेत्रको शब्दकोश बजारबाट सङ्कलन गरी बिक्री वितरणमा प्रतिबन्ध लगाउने ।  शिक्षा मन्त्रालयद्वारा गरिएको भनिएको कथित भाषा सुधारको परिपत्र तत्काल खारेज गरेको जानकारी प्रत्येक जिल्ला शिक्षा कार्यालय र विद्यालयलाई गराएर खारेज भएको सूचना टाँस गर्न लगाइ रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रमार्फत तत्काल प्रचार प्रसार गर्ने ।  साविक नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित बृहत् नेपाली शब्दकोशलाई नै नेपाली भाषाको सही रूप हो भनी नेपाल राजपत्रमा सूचना जारी गरिनुपर्छ ।  नेपाली भाषा बिगार्ने विद्वान्लाई विद्यालय तहदेखि नै शब्द, वर्णविन्यास बिगारेकोमा सार्वजनिक रूपमा माफी माग्न लगाउनुपर्छ ।  यिनीहरू नेपाली भाषा बिगार्न भुसको आगोझैँ भित्रभित्रै पुगेका छन् ।  प्रत्येक विद्यालयमा परिपत्र गराइ, साझा प्रकाशन, सर्वोच्च अदालतमा भाषा विज्ञको रूपमा, जनक शिक्षा सामग्री केन्द्रमा पनि आफू अनुकूलका विज्ञ पठाइ धेरै भाषागत बेथिति गराइसकेका छन् ।  हृदयचन्द्र सिंह प्रधानको एक चिहान उपन्यासमा जुन साझा प्रकाशनबाट प्रकाशित भएको हो, यिनै विद्वान्को चङ्गुलमा परी पाठ तीनलाई पाठ तिन, पाठ बीसलाई पाठ बिस
(ब काटेको) पाठ तीसलाई पाठ तिस पारिएको छ ।  राष्ट्र बैङ्कलाई समेत रु. दशको नोटमा रु. दस  लेख्न लगाउने, रु. बीसको नोटमा रु. बिस  लेख्न लगाउने गलत प्रवृत्तिको पत्राचारसमेत गरिएको भन्ने बुझिएकोले त्यसो नगर्न राष्ट्र बैङ्कलाई साविकमा नै उल्लिखित नोटको भाषा कायम गरी राख् न प्रेरित गरिनुपर्छ ।  अबदेखि नेपाली भाषाको हिज्जे, वर्ण विन्यास र ह्रस्व–दीर्घ कुनै विद्वान्को लहडमा परिवर्तन नगरियोस् ।  नेपाल प्रज्ञाप्रतिष्ठानको साविकको बृहत् शब्दकोशको नै प्रयोग गरिनुपर्छ ।  कथित रूपमा नेपाली भाषाका शब्द बिगार्ने काम शिक्षा मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, भाषा सुधारका नाममा गठन हुने, भएका कथित समिति, समूह (अहिले यो बेमौसममा भाषा सुधारको नाममा टाउको दुखाउने समूह हो) द्वारा पनि नगरियोस् ।  
उच्चारणको आधारमा नेपाली भाषा लेखिने होइन ।  जस्तै बेहुला बेहुलीलाई उच्चारण गर्दा व्याउला व्याउली भनी उच्चारण गरिन्छ ।  त्यसो त क देखि ज्ञ सम्मको उच्चारण क् + अ = क देखि ज्ञ् + अ = ज्ञ हुने हो तर महिमान लेख्दा उच्चारण म्अह्इम्आन्अ हुन्छ भनेर मेरो नाम म्अह्इम्आन्अ  लेख्ने त ?
ज्ञ् + आन = ज्ञान हुने हो तर ज्ञ्आन बनाएर  लेख्नुभएन ।  त्यस्तै पत्र + आचार = पत्राचार हुने हो ।  उच्चारण पत्रआचार भए पनि  लेख्ने पत्राचार नै हो ।  अध् + इकार = अधिकार हुने हो ।  अधइकार  लेख्ने त होइन ।
शब्दको हिज्जे (एक लाइन धर्कोमा कति  लेख्ने ?)
वनमन्त्री, संचारमन्त्री, रक्षामन्त्री, प्रधानमन्त्री, नयाँठिमी, सानोठिमी, पुरानोठिमी, गोरखापत्र आदि एक धर्कोमा लेखिने शब्द हुन् ।  वन मन्त्री, संचार मन्त्री, रक्षा मन्त्री, प्रधान मन्त्री, नयाँ ठिमी, सानो ठिमी, पुरानो ठिमी, गोरखा पत्र आदि  लेख्ने होइन, किनकि उल्लिखित शब्द जस्ता सबै एकै धर्कोमा लेखिने ढङ्गले स्वर वाचन हुन्छ ।
ह्रस्व–दीर्घ ः ह्रस्व–दीर्घ पनि कुनै विद्वान्को लहडले परिवर्तन हुने होइन ।  छोटो स्वर उच्चारण हुने ह्रस्व र लामो स्वरमा उच्चारण हुने दीर्घ शब्द हो ।  यसरी ह्रस्व दीर्घ छुट्याउन स्वरले सजिलो गरिदिएको छ ।  जस्तैः स्थानीय, कानून, फूल, वकील, स्वीकार, दीर्घ, जीवन, ठीक, बीच, बीमा, ईश्वर, तीन, बीस, आदि शब्द लामो उच्चारण हुने हुनाले दीर्घ भए ।  मिति, अस्विकार, तिथि, समिति, अवधि, प्राविधिक, प्रविधि, बेठिक, विज्ञान, इनार, संविधान आदि छोटो उच्चारण हुने हुनाले ह्रस्व लेखिए ।  अङ्ग्रेजी अक्षर विना अपवाद दीर्घ लेखिन्छन् ।  वी, सी, डी, ई, जी, आई, पी, टी, यू, भी ।  आदेशात्मक शब्द दीर्घ लेखिन्छन् ।  नियम बमोजिम गर्नू, खानू, सुत्नू, पढ्नू, बस्नू, पठाउनू, जानू आदि ।
थोरै र ठिक्कको तितो– तितो, धेरै तीतो
– तीतो  ।
थोरै र ठिक्कको गुलियो– गुलियो, धेरै गुलीयो – गुलीयो  ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना