स्कुले बालबालिकामाथि बुलिङ

prem bdr  thapaप्रेमबहादुर थापा



बालबालिकाको सर्वाङ्गीण विकासको प्राज्ञिक निकाय स्कुल हुन् तर स्कुलमा बालबालिका अस्वीकृत व्यवहारको निशानामा परिरहेका हुनसक्छन् ।  स्कुलका कर्मचारी, शिक्षक, सहपाठी वा विद्यार्थीबाट गरिने निम्न व्यवहार व्यक्तिको सर्वाङ्गीण विकासमा बाधक बनेका हुन्छन् ।  हेप्ने, सताउने, आँखा तरेर हेर्ने, रूवाउने, अनाहक बेइज्जत गर्ने, दुःख दिने, हात हाल्ने, घचाड्ने, अकारण मानहानी गर्ने, कमारो बनाउने, शोषण गर्ने, तड्पाउने, विभिन्न उपनाम राखेर बोलाउने, खिसिट्युरी गर्ने, चित्त दुखाउने, स्वार्थे भकुण्डो बनाउने, चीजवस्तु खोसेर खाइदिने आदि पर्छन् ।  यस्ता कार्यको एकीकृत रूप ‘बुलिङ’ हो ।  यस्ता कुकर्मलाई जनाउने एउटा अङ्ग्र्रेजी शब्द ‘बुलिङ’ नेपालीमा पनि उच्चारण हुँदै बिस्तारै व्यवहारमा समेत प्रयोगमा आउँदै गएको छ ।
एक व्यक्तिले अर्कोलाई शारीरिक, मानसिक र संवेगात्मक रूपमा दुःखी बनाउने लक्ष्यका साथ निरन्तर गरिने आक्रामक किसिमको व्यवहार बुलिङ हो ।  बुलिङका चार रूपमा शारीरिक (चिमोट्ने, हिर्काउने वा लात हान्ने), शाब्दिक (नाम काढेर बोलाउने, व्यङ्ग्य गर्ने) सम्बन्धात्मक (साथीत्व तोड्ने, सम्बन्ध भत्काउने) र साइबर बुलिङ (अरूलाई आघात पु¥याउन झुक्याउने, अश्लील फोटो तथा प्रयाङ् भिडियो बनाएर अपलोड गर्ने) जस्ता व्यवहार पर्छन् ।  यस्तो व्यवहारबाट पीडितमा मनोवैज्ञानिक त्रास पैदा हुन्छ ।  आत्मविश्वास घट्दै जान्छ ।  काम गर्ने क्षमता ह्रास हुँदै जान्छ ।  त्यसले हिंसा र दुव्र्यवहारको अवस्था सिर्जना गर्छ ।  धेरैले उठाएको तर विशेष प्राथमिकताभित्र नपरेको बुलिङबाट नेपाली विद्यार्थी प्रताडित छन् ।  बुलिङ सम्बन्धमा कानुनसमेत मौन देखिन्छ ।  शिक्षक, विद्यालय व्यवस्थापक तथा अभिभावकद्वारा बालबालिकाले खेप्दै आएको बुलिङप्रति त्यति चासो देखाएको पाइँदैन ।  विद्यार्थी बुलिङबाट सताइए पनि शिक्षक, घर परिवारका सदस्य, साथीभाइ, तथा आफन्तसँग व्यक्त गर्ने आँटै गर्दैनन् ।  
बुलिङले सुरक्षित र भयरहित वातावरणमा विद्यार्थीले सिक्न पाउने अधिकारलाई अवरोध गरेको छ ।  बुलिङले तत्कालको पठनपाठन र विद्यालयको गतिविधिलाई मात्र असर गर्दैन, बालबालिकाको भावी जीवनलाई अन्धकारतिर धकेलिदिन्छ ।  यसबाट पीडितको मात्र नभई पीडकको पनि भावी जीवनलाई असर पार्छ ।  बुलिङ विद्यालयको परिसरमा मात्र सीमित छैन ।  अतिरिक्त क्रियाकलाप, खेलकुद, शौचालय, चमेना गृह, सवारी साधन, बसको प्रतिक्षालयलगायत विद्यालयभित्र र बाहिर सबै स्थानमा हुनेगर्छ ।  बुलिङबाट प्रताडित भई धेरै बालबालिकाले आफ्नो विद्यार्थी जीवनमा पूर्णविराम लगाउन बाध्य छन् ।  बीचैमा विद्यालय छाड्ने, घर परिवारसँग राम्रो सम्बन्ध नहुने, घर नै छोडेर भाग्ने जस्ता व्यवहार बुलिङका कारणबाटै सिर्जना भएका हुन्छन् ।  यसले विद्यालय शिक्षा प्रणालीमा नराम्रोसँग प्रभाव पारेको छ ।  
विद्यार्थीबीच हुने हेपाहा व्यवहार बुलिङ (हेप्ने, जिस्काउने, पिट्ने, गाली गर्ने, नाम बिगार्ने, सामान चोर्ने आदि) प्रायः शिक्षक र अभिभावकको जानकारीमा आउँदैन र आए पनि उनीहरूले यसलाई गम्भीर रूपमा लिने गरेको देखिँदैन तापनि यसले सिकाइ वातावरणलाई नकारात्मक रूपमा असर पारेको हुन्छ ।  त्यस्ता अनिच्छित व्यवहार, हेपाइ वा बुलिङको सिकाइ उपलब्धिमा प्रभाव सम्बन्धमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०१५ मा नेपालका स्कुलमा एक अध्ययन गरेको थियो ।  अध्ययनमा कक्षा ३ र ५ मा ५४ प्रतिशत विद्यार्थी कुनै न कुनै प्रकारको हेपाइ वा बुलिङबाट प्रताडित छन् ।  ठूलो सङ्ख्यामा विद्यार्थीले गम्भीर प्रकारको हेपाइको सामना गर्नुपरेको देखिन्छ ।  सो हेपाइ सामना गरेका विद्यार्थीको उपलब्धि त्यस्तो अनुभव नगरेका विद्यार्थीकोभन्दा अत्यन्त कम रहेको देखिएको छ ।  
नर्वे, फिनल्यान्ड, डेनमार्क, स्वीडेन, बेलायत, जापानजस्ता मुलुकका विद्यालयमा हुने बुलिङका सम्बन्धमा १९८० को दशकदेखि अनुसन्धान हुँदै आएको पाइन्छ ।  पछिल्ला अनुसन्धानले विद्यालयमा झण्डै १५ प्रतिशत विद्यार्थी बुलिङको शिकार भएको देखाएका छन् ।  
बुलिङमा जिस्क्याउने, धम्क्याउने, हिर्काउने, व्यङ्ग्य गर्ने, चोर्ने प्रत्यक्ष व्यवहार हुन् ।  यस्ता कार्य पीडितका विरुद्ध एक वा एकभन्दा बढी विद्यार्थीले गर्छन् ।  प्रत्यक्ष प्रहारका अतिरिक्त जानाजानी सामाजिक रूपमा एक्लाउने, नियतवश बहिष्करण गर्ने जस्ता कार्य अप्रत्यक्ष बुलिङमा पर्छन् ।  केटाहरू बुलिङका प्रत्यक्ष विधिमा बढी संलग्न हुन्छन्, जबकि केटीहरू अफवाह हल्ला फैलाउने, सामाजिक बहिष्करण गर्ने जस्ता बुलिङका अप्रत्यक्ष रणनीति उपयोग गर्ने कुरा विज्ञहरू उल्लेख गर्छन् ।  प्रत्यक्ष वा अप्रत्यक्ष जे भए पनि बुलिङले व्यक्तिलाई शारीरिक तथा मनोवैज्ञानिक क्षति पु¥याउँछ ।  व्यक्तिलाई हतोत्साहित गराउँछ, दुव्र्यवहारको शिकार बनाउँछ ।  
शारीरिक, शाब्दिक र सम्बन्धात्मक रूपमा बुलिङ प्रायः जसो प्राथमिक विद्यालय र सोभन्दा अझ अघि पनि देखापर्छन् ।  साइबरमार्फत हुने बुलिङ प्राथमिक विद्यालयमा भन्दा माध्यमिक विद्यालयमा बढी देखिन्छ ।  पछिल्लो समय देखापरेको डिजिटल प्रकृतिको साइबर बुलिङबाट किशोरकिशोरी झनै हैरान छन् ।  मोबाइल फोन, इमेल, अक्षर सन्देश वा सामाजिक सञ्जाल फेसबुुकमार्फत नराम्रो महसुस गराउने, टीकाटिप्पणी गर्ने, सताउने, गालीगलौज, बेइज्जती जस्ता व्यवहार हुने गरेका भेटिन्छन् ।  विद्यालयमा हुने कुनै पनि प्रकारका बुलिङमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्छ ।  बुलिङको रोकथामका लागि शिक्षा ऐन तथा नियमावलीको नयाँ संस्करणमा समेत समाधान खोजिनुपर्छ ।  विद्यार्थीलाई द्वन्द्व समाधान पद्धति अनुसार पाठ्यक्रमबाटै सशक्तीकरण गर्नुपर्छ ।  अभिभावक शिक्षामार्फत जनचेतना जगाउनुपर्छ ।  बुलिङलाई शिक्षक तथा आमाबाबुले गम्भीरतापूर्वक लिई सोको न्यूनीकरणका लागि पर्याप्त अभ्यासमा जुट्नुपर्छ ।  विद्यार्थीको नेतृत्वमा ‘एन्टी बुलिङ’ अभियान चलाउनुपर्छ ।  विद्यालयका हरेक सदस्य रचनात्मक
परिवर्तनको संवाहक बन्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना