कपिवस्तुमा लामो खडेरीले धान मर्न थाल्याे

dhan_1बसन्त गिरी, कपिलवस्तु , भदौ २० गते । लामो खडेरीले कपिलवस्तु कृषकहरुले लगाएको धान मर्न थालेको छ । खेतमा पानी अभावले धान खेतमा धाँजा फाटेका छन् । पानी कै अभावमा सप्रिन नसकेर धान बाली सुक्न थालेपछि किसानहरु चिन्तित छन् । गत साउन ११ यता जिल्लामा पानी परेका छैन । चर्को घामले गर्दा खेतको माटो सुकेर फुटेको छ । सिचाई सुबिधा जिल्लाको १२ प्रतिशत क्षेत्रमा मात्र रहेको हुँदा बाँकी ८८ प्रतिशत धानखेती आकाशे पानीकै भरमा पर्ने गरेको छ । 

आकाशे पानीमा निर्भर कृषकहरू सप्रिरहेको धानलाई चाहिने बेलामा बर्षा नभए पछि चिन्तित बनेका हुन । गत असार अन्तिम साता भाडाको पम्मसेटबाट सिंचाई गरी बल्लतल्ल ६ बिघा खेतमा धान रोपेका महुवा गाबिस– ३ का कृषक मुन्नु पासीले खेडेरीले धानजति सुकाएको पीडा सुनाउनुभयो ।
खेतीका लागि ६ हजार रुपिया लगानी गरेका र पानी कै अभावमा धान खेतीमा घाटा लाग्ने दाबी गर्नुभयो । साउन ११ मा आएको भीषण बर्षाले उहाँको पुुरै धान खेत डुबेको थियो । त्यस यता बर्षा नभए पछि धान सुकेर पहेलो भएको छ । ‘यस बर्ष लागनी समेत डुब्ने भयो, चामल समेत किनेर खाने स्थिति देखिएको छ ’ पासीले भन्नुभयो । महाराजगंग– १ का कृषक सलाउद्दीन मुसलमानले खडेरीले धानको बोट पुरै सुकेको जानकारी दिनुभयो । कुल १५ हजार लगानी गरी आफनो १० बिगहा खेतमा धान लगाएका उहाले लगानी बराबरको पनि धान उत्पादन हुने आश मारि सकेको बताउनुभयो ।
कोपवाका किसान भभुते थारुले पनि दाना पसाउने बेलामा पानी नपाएर धान सुक्दै गएको दुःखेसो पोख्नुभयो । लामो समयदेखि बर्षा नभए पछि खेतमा रहेको धान ढड्न थाले पछि उहाँ अहिले निकै चिन्तित बन्नुभएको छ ।
घरमा रहेका धान चामल बेचेर बल्लतल्ल पैसाको जाहो गरी गत साउनमा ४ बिघा खेतमा उहाले धान रोपाई गर्नुभएको थियो । ‘ खेतमा पसाउन लागेका धान जति सबै डढन लागी सक्यो, एक हप्ता भित्र पानी नपरे सारा लगानी खेर जान्छ , ’ निराश हुदै उहाले भन्नुभयो ‘ सिंचाईको कुनै ब्यवस्था छैन, अब त भगवान मालिक ’ । पम्पसेटबाट गरिएको सिंचाई एक हप्तामै सुक्ने गरेको महुवाका किसान भुलई यादवको भनाई छ । सिंचाईका लागि कुनै ब्यवस्था छैन, पम्पसेटले सिंचाई गर्दा पनि साध्यै लाग्दैन ’ उहाले निराश हुदै भन्नुभयो ।
जिल्लाकै प्रमुख बालीका रुपमा रहेको धान खेतीको उत्पादनमा पानी नपरे पछि निकै कमी आउने कृषकहरु बताउँछन् । कृषि कार्यालयले पनि खडेरीले धान बालीको उत्पादनमा कमी आउने बताएको छ । कृषि प्राबिधिकहरू पानी बिना धानको उत्पादन हुनै नसक्ने दाबी गर्छन् ।
धान र पानीको सम्बन्ध नङ र मासुको जस्तै हुने भएकाले धानलाई सप्रन खेतमा २ देखि ३ सेन्टिमिटर पानी चाहिन्छ । धानमा गाज आउने सयम भएकाले पानी कै अभावमा त्यसमा अहिले ठूलो असर परेको प्राविधिकहरू बताउछन् । खडेरीले जिल्लाका दक्षिणी भेगमा बढी असर गरेको कृषि कार्यालयका बाली विकास अधिकृत अरबिन्दमणि त्रिपाठीले जानकारी दिनुभयो ।
दक्षिण्ी गाबिसहरू हरनामपुर, महराजगंज, बहादुरगंज, पकडी, गणेशपुर, लगायतका गाबिसमा ३० देखि ५० प्रतिशत सम्म उत्पादनमा कमी आउने प्रारंम्भिक अनुमान गरिएको छ । अहिलै कै अवस्था आकलन गर्दा धानमा अनुमान गरे भन्दा २७ दशमलव ५ प्रतिशत कम उत्पादन हुने त्रिपाठीको अनुमान छ ।
यस बर्ष ७२ हजार हेक्टरमा धान खेती गरिएकोमा प्रति हेक्टर ३ दशमलव ४५ का दरले २ लाख ४८ हजार ५ सय उत्पान हुने अनुमान गरिएको थियो । हप्ता दिन अझै पानी नपरे उत्पादनमा भारी गिरावट आउने कृषि कार्यालयका प्रमुख राकेश ओझाले बताउनुभयो । ‘ खडेरीले धानमा ठुलो असर परेको छ , एक हप्ता अझै पानी नपरे स्थिति भनै बिग्रने देखिएको पक्का छ ’ उहाले भन्नुभयो । लामो समयको खडेरीले जिल्लाको कृषि उपजका साथै बर्षभरी खाने धानबाली नष्ट भएको भन्दै राजनितिक दलहरुले कपिलवस्तुलाई सुख्खाग्रस्त जिल्ला घोषणा गरि किसानलाई राहत तथा क्षतिपूर्ति दिन माग गर्दै आएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना