खोल्ने सहमती भए पनि युनिलिभर सुचारु भएन

uniliverराममणि दाहाल, हेटौँडा, भदौ २० गते । हेटौँडाको बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपाल गत एक महिनादेखि बन्द रहेको छ । गत साउन २३ गते उद्योग बन्द गर्ने प्रक्रिया सुरु गरेको बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपाल पुनः सुचारु गर्ने सहमति भएपनि उद्योग व्यवस्थापनले अझै उद्योग सञ्चालनमा नल्याएको हो ।
उद्योग व्यवस्थापन, राजनीतिक पार्टीका प्रमुखहरू, स्थानीय प्रशासन, आन्दोलनरत पक्ष, उद्योग वाणिज्य संघ, ट्रेड युनियन प्रतिनिधिलगायतको उपस्थितिमा चार बुँदे सहमतिपछि उद्योग बन्द गर्ने निर्णय व्यवस्थापन पक्षले फिर्ता लिएको थियो ।
उद्योग व्यवस्थापनले स्थानीय प्रशासनमा गरेको सहमति लत्याउँदै अझै उद्योग सञ्चालन गर्न चासो नदेखाएको अखिल नेपाल औद्योगिक मजदुर युनियन युनिलिभर इकाइका अध्यक्ष जयराम धितालले जानकारी दिनुभयो । उहाँका अनुसार सहमति कार्यान्वयन गर्न व्यवस्थापन पक्षका स्थानीय प्रतिनिधिसँग आग्रह गर्दा उद्योगमा कार्यरत मजदूरहरुलाई कमजोरी भएको भन्दै लिखित रुपमा पत्र भनिएको छ ।
पत्र नदिए उद्योग नखोल्ने मनस्थितिमा उद्योग व्यवस्थापन रहेको र आफूहरु प्रशासनमा भएको सहमति कार्यान्वयनको पक्षमा छौ धितालले भन्नुभयो । उद्योग व्यवस्थापनले साउन २३ गते बिहान कारखानाको मुल ढोकामा सूचना टाँस गरी बन्द गर्ने प्रक्रिया सुरु गरेकोमा प्रशासनमा भएको वार्तापछि सुचारु गर्ने निर्णयमा पुगेको हो । उद्योग व्यवस्थापन पक्षले नै सूचना टाँस गरी एकाएक उद्योग बन्द गर्ने प्रक्रिया सुरु गरेको थियो ।
उद्योग व्यवस्थापनले निलम्बन गरेका सातजना मजदुरको निलम्बन फिर्ता लिने र यसअघि सिविएमा भएको सम्झौता कार्यान्वन गर्ने निर्णय गरिएपछि व्यवस्थापनले उद्योग बन्द र मजदुरले आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको थियो ।
सहमति कार्यान्वयनमा उद्योग व्यवस्थापन उदासिन देखिएको वार्तामा संलग्न नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेलले बताउनुभयो । आइतबारपनि स्थानीय व्यवस्थापनसँग अनौपचारिक छलफल भएको जानकारी दिंदै उहाँले भन्नुभयो, युनिलिभरको मुख्यालयमा असुरक्षित रहेको सन्देश पठाएका कारण उद्योग सुचारुमा समस्या भएको हो ।
मजदुरको गैह्रकानूनी माग कारण पटकपटक उद्योगमा अवरोध भएकोले उद्योग बन्द गर्नुपरेको उद्योग व्यवस्थापनको दावी छ ।
यसैगरी आवास पुनःनिर्माणका लागि आवास कोषबाट मजदुरलाई दुईलाख रुपियाँ एक महिनाभित्रमा दिने र दुई वर्षसम्म कुनैपनि माग राखेर बन्द हड्ताल मजदुरले नगर्ने सहमति भएको थियो ।
युनिलिभर बन्द भएसँगै यसका लागि उत्पादन गर्दै आएका हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका युनिक शोप, गंगा शोप र नेशनल शोप उद्योग पनि बन्द हुने अवस्थामा पुगेका थिए । उद्योग व्यवस्थापनले सहमती उलङ्घन गरेको भन्दै मजदुरहरु आन्दोलनमा थिए । उनीहरुले उद्योगको उत्पादनमा गत साउनमा बिक्री वितरणमा रोक लगाउँदै आएका थिए ।
२०५२ सालदेखि सञ्चालित उद्योगले साबुन, पेष्ट, सेम्पु सर्फलगायत सौन्दर्य प्रशाधनका सामग्री उत्पादन गर्दै आएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना