कोरला नाका खोल्ने चर्चा भए जति काम भएको छैन

पोखरा, भदौ १९ गते। हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ ।
नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थितिलगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको हो ।
पर्यटकीय नगरी पोखरा र आसपासका क्षेत्रबाट अत्यन्त नजिक पर्ने यो नाका सञ्चालनसँगै अरु सम्भावनाका अतिरिक्त यस क्षेत्रको पर्यटकीय विकासका लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ ।
सम्भाव्यता अध्ययनका लागि पछिल्लो समयमा व्यवस्थापिका–संसदको विकास समितिका सदस्यहरुबाट भएको स्थलगत अवलोकन भ्रमणपछि कोरला नाका सञ्चालनमा ल्याइनुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवम् पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याउने विषय राज्यको प्राथमिकतामा परेको प्रस्ट हुन्छ ।
पछिल्लो समयमा नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने कामलाई पनि अघि बढाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार नाका सञ्चालनमा ल्याउन अत्यावश्यकीय भन्सार कार्यालय एवम् सुरक्षा निकायका लागि जग्गा सीमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको छ ।
भन्सारसहित क्वारेन्टाइन, अध्यागमन, सीमा सुरक्षालगायतका कार्यालयका लागि छोनुप गाविसस्थित नेचुङमा १०० रोपनी जग्गा सिमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, नेपाली सेनाका लागि लोमान्थाङमा एक हजार रोपनी जग्गा सीमाङकन गरिएको छ ।
“अत्यावश्यकीय कार्यालयका लागि जग्गाको सीमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित निकायमा पठाइसकिएको छ,” उहाँले भन्नुभयो – “ कोरला नाका जाने मुख्य मार्ग जोमसोमदेखि कोरलासम्मको १०९ किलोमिटर बाटो स्तरोन्नति एवम् निर्माणका लागि बोलपत्र भैसकेको छ । मौसमको अनुकूलताका आधारमा आगामी फागुनदेखि काम सुरु हुने सम्भावना छ ।”
पोखराबाट म्याग्दीको बेनीसम्म कालोपत्रे सडक र जोमसोम–लोमान्थाङ कच्ची मार्ग हुँदै चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका पुग्न सकिन्छ ।
नाकाबाट ३० किलोमिटरको दूरी पार गरेपछि ढोङ्वासेन पुगिने र त्यहाँबाट केही पर शिगात्सेबाट आएको चाइना नेसनल हाइवे भेटिने भएकाले प्रदेश नं ४ का लागि उत्तरी सम्पर्कको यो एक उपयुक्त मार्ग हुने देखिन्छ ।
लोमान्थाङबाट विभिन्न हिमाली दृश्य अवलोकन गर्दै पुग्न सकिने कोरला नाकाको २४ नं सीमास्तम्भले नेपाल र चीनको भूगोललाई छुट्याएको छ ।
नेपालतर्फ केही पनि पूर्वाधार निर्माण भएको देख्न नसकिए पनि त्यहाँ पुगेपछि चीनले आफ्नातर्फ घेरोको तारबार र ताला लगाएको द्वार हेरेर नेपाली पर्यटक फर्कने गरेका छन् ।
चीन सरकारले ठाउँ–ठाउँमा सोलार प्यानल जडान गरी त्यसैबाट सञ्चालन हुने सिसिटिभी र अन्य उपकरणहरु जडान गरी राखेको छ ।
पोखरासहित यस आसपासका क्षेत्रको पर्यटकीय विकासका लागि नाका खुलाउनु पर्ने आवश्यकता पछिल्लो समयमा पर्यटन क्षेत्र सम्बद्ध निकायहरुबीच छलफलको विषय बनेको छ ।
नाका सञ्चालनका सम्भावना र भौगोलिक अवस्थाको स्थलगत अवलोकनका लागि गत जेठमा पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराका पर्यटन व्यवसायी एवम् सञ्चारकर्मीको टोली कोरला नाका पुगेको थियो ।
सुनौलीदेखि पोखरा हुँदै जोमसोम र लोमान्थाङबाट कोरला नाका पुग्न सकिने भएका कारण चीन र भारत जोड्ने यो नाका सबैभन्दा छोटो र कम खर्चिलो हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउनुहुन्छ ।
“दुई देशबीचको उच्चस्तरीय पहलबाट मात्र नाका सञ्चालनमा ल्याउने विषय निष्कर्षमा पु¥याउन सकिने भएकाले त्यसको वातावरण नेपाल सरकारले निर्माण गर्नुपर्छ,” उहाँले भन्नुभयो – “नेपालमा चीनका राष्ट्रपतिको भ्रमण हुँदै गरेका अवस्थामा सरकारले नाका सञ्चालनसँग जोडिएको सुरक्षाको प्रत्याभूति लगायतका विषयमा चीन सरकारलाई आश्वस्त पार्न सक्नुपर्छ ।”
मुस्ताङमा अवस्थित मुक्तिनाथ, दामोदर कुण्ड, झोङ् गुफा, चुङ्सी गुफा, ल्हो घ्याकार गुम्बा, लामो पर्खालले घेरिएको लोमान्थाङ दरबार र गुम्बा जस्ता स्थलहरू यहाँका मुख्य पर्यटकीय आकर्षण भएको लोमान्थाङका मुखिया झवाङ विष्टले बताउनुभयो ।
नाका सञ्चालनको विषय लामो समय अघिदेखि पटक पटक चर्चाका आइरहेको भए पनि त्यसले गति नपाएको बताउँदै उहाँले नाका सञ्चालन सँगै यस क्षेत्रको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गर्नुभयो ।
मुस्ताङ क्षेत्रको अवलोकन भ्रमणका लागि बर्सेनि हजारौंको सङ्ख्यामा विदेशी पर्यटक आउने गरेका छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने यस क्षेत्रको अवलोकनका लागि सन् २०१३ मा तीन हजार ३४४, २०१४ मा चार हजार १४६ जना र २०१५ मा भूकम्प र नाकाबन्दीका कारण दुई हजार ६८६ जना विदेशी पर्यटक आएका थिए ।
यस वर्ष पनि उल्लेख्य सङ्ख्यामा विदेशी तथा स्वदेशी पर्यटकहरू यस क्षेत्रको अवलोकन भ्रमणमा आएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना लोमान्थाङ इकाईका कर्मचारी विकास अधिकारीले बताउनुभयो ।
स्थानीय समाजसेवी कुलबहादुर थकालीले मुस्ताङ क्षेत्रका ऐतिहासिक एवम् धार्मिक महत्वका स्थलका साथै आसपासमा रहेका भृकुटी, नीलगिरि, तिलिचो लगायतका हिमालहरू यहाँको पर्यटकीय आकर्षण भएको बताउनुभयो ।
“पछिल्लो समयमा राज्य स्तरबाट व्यक्त चासो र चर्चा हेर्दा नाका खुली हाल्ने हो कि जस्तो देखिन्छ,” उहाँले भन्नुभयो – “वास्तविकतामा भने नाका खोल्ने विषय कछुवाको गतिमा अघि बढिरहेको छ । आवश्यक पर्ने पूर्वाधार निर्माणलाई पनि सरकारले खासै अघि बढाएको देखिँदैन ।” रासस ९तस्बिर उपलब्ध छ०

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना