तडकभडकले तीजको मौलिकता हराउने खतरा

सीता शर्मा

काठमाडौँ, भदौ १९ गते ।  हिन्दु महिलाको महान् पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महŒवका साथ मनाइने भए पनि आधुनिकताका नाममा नचाहिँदो तडकभडकले गर्दा यसको वास्तविक मौलिकता हराउने खतरामा पर्न थालेको छ ।
तीज मनाउने नाममा महिलाले महिनौँसम्म पार्टी प्यालेसदेखि पाँचतारे होटलमा दर खाने, ख्वाउने र बहुमूल्य वस्तुहरूको प्रदर्शनी गर्ने होडबाजी चल्न थालेपछि तीज पर्वको वास्तविक मौलिकता हराउन थालेको हो ।  
संस्कृतिविद् गोविन्द टण्डनले धार्मिक र सांस्कृतिक मौलिकतालाई चटक्कै बिर्सेर तीजलाई समयानुकूल परिस्कृत गर्ने नाममा तीज आउनु महिनौँ अघिदेखि पार्टी प्यालेस र होटलमा महँगा गरगहना, कपडा प्रदर्शनी गर्ने र टिकट बिक्री गर्ने प्रवृत्ति पुनः विकास भएको बताउनुभयो ।
दुई वर्षअगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भड्किलो र खर्चिलो गरी तीज मनाउनेलाई सामाजिक सुधार ऐन अनुसार कारबाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि केही कमी आए पनि सम्बन्धित निकायले त्यस कार्यलाई निरन्तरता दिन नसकेकाले यो वर्ष पुनः भड्किलो भएको उहाँको भनाइ छ ।  
सहरिया तीज भड्किलो र खर्चिलो बन्दै गएपछि यसले सर्वसाधारण परिवारमा पार्ने आर्थिक भार र मानसिक असरलाई ध्यानमा राखेर लगातार दुई वर्ष वर्षअघि अख्तियारले सार्वजानिक सूचना जारी गरेर चाडपर्व भड्किलो गरी मनाउनेलाई कारबाही गर्न जिल्ला प्रशासनलाई निर्देशन दिएको थियो ।  teej-ko-foto
सोही निर्देशनबमोजिम जिल्ला प्रशासन कार्यालयहरूले तारे होटल र पार्टी प्यालेसमा भड्किलो र खर्चिलो गरेर तीज मनाउनेलाई कानुन अनुसार २५ हजार रुपियाँ जरिवाना वा १५ दिन थुनामा राख्ने वा दुवै सजाय गर्ने भनेपछि दुई वर्ष केही कमी आएको थियो ।  
संस्कृतिविद् टण्डनले अघिल्लो वर्ष भूकम्पका कारण तीजमा तडकभडक खासै नदेखिएको भए पनि यो वर्ष भने फेरि एक महिना अघिदेखि नै तीजको दर खाने खुवाउने कार्यले निरन्तरता पाएको बताउनुभयो ।  साथै उहाँले आमदिदीबहिनी स्वयंले तीजको वास्तविक महŒव बुझेर यसको धार्मिक र सांस्कृतिक पक्ष संरक्षण हुने गरी पुस्तौँपुस्तासम्म जोगाउँदै लानुपर्ने आवश्यकता औँल्याउनुभयो ।  
आफ्नो मौलिकता गुमाएर भड्किलो बन्दै गएको तीजको संस्कृतिलाई निरन्तरता दिने नाममा विकृतिलाई पक्षपोषण गरिएको भन्दै समाजशास्त्री आरती शर्माले ‘धनाढ्य’का कारण निम्नवर्गीय परिवारमा पनि मौलाएको जबरजस्त खालको देखासिकीले अनावश्यक आर्थिक भार थोपरेको छ भन्नुभयो ।  संस्थासंस्थाबीच पालैपालो दर खुवाउने वा मोटो रकम उठाएर पार्टी प्यालेस र होटलहरूमा दर खाने चलन सीधै कथित ‘इज्जतको सवाल’सँग गएर ठोक्किन पुगेकाले निम्न तथा मध्यम वर्गका परिवारलाई समस्या भएको उहाँको भनाइ छ ।  
राष्ट्रिय महिला आयोगका पूर्व कार्यवाहक अध्यक्ष मनु हुमागाईंले धार्मिक आस्था र विश्वासका साथ मनाइने तीज पर्वलाई केही उच्च वर्गका महिलाले यसको महŒवलाई चटक्कै बिर्सेर तडकभडक गर्दै महँगा होटलमा तीज मनाउने प्रचलनले पुुनः व्यापकता पाएपछि निम्न तथा मध्यम वर्गका महिलाका लागि तीज पर्व निल्नु न ओकल्नुजस्तै भएको बताउनुभयो ।  उहाँले उच्च वर्गका सम्भ्रान्त परिवारका महिलालाई महँगा तारे होटलमा दिनहुँ फरकफरक पहिरनमा सजिएर तीजको दर खानु सामान्य भए पनि हुँदा खाने निम्न तथा मध्यमवर्गीय परिवारका महिलालाई अलगअलग पहिरनमा ठाँटिनुपर्ने बाध्यता कम सकसपूर्ण नभएको तर्क गर्नुभयो ।
यता तीज वा अन्य भोजभतेर तडकभडकका साथ गर्नेलाई सामाजिक सुधार ऐन अनुसार कारबाही गर्ने जिम्मेवारी पाएका जिल्ला प्रशासन कार्यालयहरूले भने केही महिलासम्बन्धी सङ्घसस्थाले तीजको दरसँगै महिलाका आर्थिक, सामाजिक सशक्तीकरणका कार्यक्रम गरे पनि तीजको दर खाने नाममा मात्रै पाँचतारे होटलमा कार्यक्रम आयोजना गरेको नपाइएको दाबी गरेको छ ।  
काठमाडौँ जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौँ जिल्लामा केही एकाध कार्यालयमा तीजका दर खाने वा खुवाउने कार्यक्रम आयोजना गरिए पनि सामान्य तरिकाले निकै सौहार्दपूर्ण वातावरणमा सबैलाई सहज हुने गरी गरिएका थिए ।   यता महिला अधिकारकर्मी चाँदनी जोशीले चाडपर्वलाई आधुनिकताको विकास र विस्तारसँगै प्राचीन रूढिवादी संस्कार तोडेर नयाँ संस्कृति र परम्पराको विकास गर्नुपर्छ भन्दैमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिँदै मौलिक संस्कृतिलाई उपेक्षा गर्न नहुने तर्क गर्नुभयो ।  
तीज पर्व महिला आन्दोलनको माध्यम भएकाले यसलाई समयानुकूल परिस्कृत गरेल लानुपर्ने भन्दै उहाँले परिस्कृतका नाममा नचाहिँदो विकृति ल्याउन खोज्नेलाई स्वयं सचेत महिलाले नै रोक्नुपर्छ भन्नुभयो ।   
महिला हक, अधिकार, जागरण  र सामाजिक अग्रगमनका स्वरहरू बोकेर तीजको सांस्कृतिक महŒवलाई उजागर गरिएका गीतहरूलाई निरन्तरता दिन सकेमा तीज पर्वको महŒव अझै बढ्ने पनि उहाँको भनाइ छ ।
हरितालिका तीजका बारेमा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार पर्वतराजा हिमालयकी पुत्री पार्वती शिवजस्तो शक्तिशाली स्वामी पाउन भनी निराहार व्रत बस्नुभएको थियो ।  शिव पति पाउन पार्वतीले गरेको हरितालिका
व्रत अहिलेको ‘हडताल’ वा ‘आमरण अनशन’जस्तै हो ।  पार्वतीका लागि लक्ष्य प्राप्त गर्न पानीसम्म पनि नपिई व्रत बस्नुका दुई उद्देश्य थिए– पहिलो कठिन तपद्वारा शिवलाई खुसी पार्नु र दोस्रो घरबाट विद्रोह गरी भागेर अनशन बसी मातापितालाई विष्णुसँगको अनिच्छित कन्यादान रोक्न विवश पार्नु ।  यी दुवैमा पार्वती सफल भएको दिन हो, भाद्र शुक्ल तृतीया ।  यस दिनलाई धेरैले आआफ्नै किसिमले व्याख्या गर्ने गरेको पाइन्छ ।  जे जसरी व्याख्या गरिए पनि यसको धार्मिक पाटो नै समाजमा बलियो गरी स्थापित भइसकेको छ ।  
सोही परम्परा अनुसार यस दिन विवाहित नारीले आफ्ना श्रीमान्को दीर्घायुका लागि र अविवाहित नारीले सुयोग्य वर प्राप्तिका लागि निराहार व्रत वसेर श्री महादेव र पार्वतीको पूजा आराधना गर्ने गर्छन् ।  

तीजको शुभकामना

काठमाडौँ, भदौ १९ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली महिलाको महान् पर्व तीजको अवसरमा शुभकामना दिनुहुँदै देशविदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले नेपालको सबैखाले परिवर्तनकारी आन्दोलनमा महिला वर्गले खेलेको भूमिकाको प्रशंसा गर्दै प्राप्त उपलब्धिप्रति गर्व गर्न तीज पर्वले प्रेरणा मिलोस् भनी कामना गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द आचार्यले बताउनुभयो ।
यसैगरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली महिलाको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिनुहुँदै देश तथा विदेशमा रहेका महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा आपसी भाइचारा र भ्रातृत्वको भावना जगाउन उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले नेपालजस्तो बहुभाषा, बहुजाति, संस्कृति र परम्परा भएको देशमा यसप्रकारका चाडपर्वले आपसमा मित्रता र सद्भाव बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताउनुभयो ।
यसैगरी नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शुभकामना दिँदै संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान जारी भएर त्यसको कार्यान्वयनको अवस्थामा रहेको बेला संविधानप्रदत्त महिला हक अधिकारलाई सुनिश्चित गरी राज्य र राजनीतिक दल सहितका विभिन्न निकायमा महिला सहभागिता बढाउँदै लानुपर्नेमा जोड दिनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना