लागू औषध तस्करीमा संलग्न दुई इञ्जिनियर पक्राउ

लक्ष्मण पौडेल, भैरहवा, भदौ १७ गते । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इञ्जिनियरलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुपन्देहीको सौराहा फर्सा्टिकर–१ का २८ वर्षीय नविनराज बास्तोला र वडा नम्बर–२ का २५ वर्षीय महेश गैरे रहेका छन् । बास्तोला सिभिल इन्जिनियर हुन् भने गैरे आइटी इन्जिनियर हुन् ।
रुपन्देहीको सीमावर्ती भारतीय बजार सुनौलीबाट अवैध रुपमा झोलामा लुकाई छिपाई ल्याउने क्रममा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक शंकर खनालले बताउनुभयो ।
उनीहरूको साथबाट ठूलो परिमाणमा नुफिन, फेनारगन, नाइट्राभेट लगायतका दुई हजार सिसि, नगद २३ हजार रुपियाँ, तीन वटा मोबाइल, ल्यापटप र उनीहरुले प्रयोग गरेको लु १८ प ९३८१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको डिएसपी खनालले बताउनुभयो । बरामद लागुऔषधको बजार मूल्यअनुसार करिब साढे ६ लाख रुपियाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
‘भैरहवाको खुल्ला सिमानाकाबाट अत्यधिक रुपमा लागुऔषध नेपालमा भित्रिन थालेको सूचना आउन थालेपछि हामीहरुले लागुऔषध नियन्त्रणका लागि गोप्य रुपमा दस्ता नै खडा गरेर तीनवटा टोली सिमाना वरिपरि खटाएर अपरेशन चलाएका छौं,’ डिएसपी खनालले भन्नुभयो, ‘बरामद लागुऔषध ठूलो परिमाणमा छ । यी लागुऔषध मुलुकमा भित्रिएमा धेरै युवा युवतीको जीवन बर्बाद हुन सक्थ्यो । यो अपरेशनको सफलता हो ।’
पक्राउ परेका युवाहरूले उक्त लागुऔषध विभिन्न स्थानमा पुर्याएबापत ३० हजार रुपैयाँ पाउने प्रारम्भिक बयानमा खुलेको डण्डाका सशस्त्र प्रहरी निरीक्षक तुलसीराम पाण्डेले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका बास्तोलले योभन्दा अघि पनि एकपटक लागुऔषध ओसारपसार गरेका थिए । र दोस्रो पटकमा उनी पक्राउ परेका हुन् ।
बरामद लागुऔषधहरू बट्टामा टेपले र्याप गरिएको छ । लागुऔषध राखिएका बट्टामा विभिन्न स्थानका विभिन्न व्यक्तिहरुको नाम छ । त्यसैका आधारमा प्रहरीले अनुसन्धान जारी राखेको छ । ‘जुन लागुऔषधको बट्टा जसलाई दिने हो, त्यो बट्टा माथि उक्त व्यक्तिको नाम र ठेगाना लेखिएको छ,’ निरीक्षक पाण्डले भन्नुभयो, ‘हामी थप अनुसन्धान गर्दैछौं ।’
बरामद लागुऔषध पाँच जना व्यक्तिसमक्ष लैजान खोजिएको पाइएको छ । जसमा सोनु भन्ने खैरनीटारको नाममा आठ वटा बट्टा छन् । एउटा बट्टा भित्र ९० सीसी लागुऔषध टिडी जेसिक रहेको थियो ।
त्यस्तै खैरनीटारकै राजन भन्ने व्यक्तिको नाममा तीन बट्टा, खैरनीटारकै रैबन भन्ने व्यक्तिको नाममा एक बट्टा, मनकामनास्थित कमल भन्ने व्यक्तिको नाममा १० बट्टा र पोखराको अर्जुन भन्ने व्यक्तिको नाममा दुई बट्टा छन् ।
घटना विवरण अनुसार सिभिल इन्जिनियर बास्तोलाले रुपन्देही फर्साटिकरमा आफ्नै रेष्टुरेण्ट सञ्चालन गर्छन् भने गैरे वर्डलिंक नेटवर्क प्रालिमा कार्यरत छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना