रूपान्तरित तीज संस्कृति

nita  pokhrelनीता पोखरेल


भदौको सुरुवातदेखि नै तीजको रौनक नेपाली हिन्दु महिलामाझ देखिनथालेको थियो । अर्कोतिर परदेशिएर बसेका नेपाली महिला पनि तीजको लहर आयो वरी लै... भन्दै नाचगान गर्दै तीज मनाउन थालेका देखिन्छ । तीज पर्वसँग धार्मिक मूल्य मान्यतासहितको आध्यात्मिक कथन रहे पनि पछिल्लो समयमा यसको संस्कृतिमा विस्तृत विस्तार भएको पाइन्छ, जुन स्वाभाविक मान्नुपर्छ । तीज पर्वले संस्थागत रूप धारण गर्दै रहेको छ । परम्परागत रूपबाटै हिन्दु महिलाले मनाउँदै आएको तीज हिन्दुका आराध्य देवता शिवजीलाई पति बनाउन पाउ भनी पार्वतीले गरेको निराहार ब्रतस्वरूप पार्वतीले शिवजीलाई पति पाएको विश्वास गरिन्छ । यसै विश्वाससँग जोडिएको कथा स्वरूप हिन्दु महिलाले पनि ब्रत बस्ने परम्परा छ पतिको दीर्घायु, स्वास्थ्यको कामनासहित ।
यो ब्रत बस्दा एक थोपो पानीसम्म नखाई महिलाले निराहार एकदिन बस्ने गरिन्छ । पानीको थोपोसम्म खाएमा लोग्नेको रगत खाए समान हुने कथन रहेको पाइन्छ । ब्रत बस्ने अघिल्लो दिन छोरीचेलीलाई माइत बोलाएर मीठोमसिनो खुवाउने र भोलिपल्ट ब्रत बस्ने परम्परा हिन्दु समाजमा रहिआएको छ । त्यसैगरी ब्रतको अघिल्लो दिन र भोलिपल्ट ब्रतका दिन महिलाले घरमा भोग्नुपरेका दुःख र सुख र यातनाका कुरा आपसमा साथीसँग बाँड्दै गीत–सङ्गीतमा आफ्ना पीडा पोखेर केही क्षणलाई दुःख सबै बिर्सिएर नाच्ने गाउने गर्थें । त्यही परम्परास्वरूप विकसित हुँदै आएको तीजको दर खाने कार्यक्रमले बृहत् संस्थागतरूप धारण गरेको छ वर्तमानमा । यही खानपिन गराउने कार्यक्रमलाई दरखाने भनेर भनिन्छ । कुनै समय माइतमा बोलाएर छोरीचेलीलाई ख्वाउने परम्परा घरभित्रैको कार्यक्रममा सिमित थियो भने समाज परिवर्तन सँगसँगै यो पर्वको सांस्कृतिक रूपान्तरण भएको पर्याप्त उदाहरण देखिन्छ ।
तीजको दर खाने कार्यक्रमले समाजमा महिलालाई भड्किलो संस्कृतिको विकास गराउँदै छ भन्ने आरोप पनि लगाउने गरेको सुनिन्छ । यस्ता आरोप लगाउनेले के कुरा बुझ्नु जरुरी छ भने समाज परिवर्तनशील छ र संस्कृति परिमार्जित हुनुपर्छ । मूल मर्म बचाएर सँस्कृतिलाई विश्वव्यापी बनाउनु आफैँमा चुनौतीमात्र होइन, एउटा आन्दोलन नै हो, जुन हिन्दु नारीका महान् चाड तीजको अवसरमा भइरहेको छ । दरखाने कार्यक्रमले महिलालाई स्वतःस्फूर्तरूपमा एकत्रित र सङ्गठित बनाउँदै लगेको स्वीकार गर्नैपर्छ । महिलाले एकैसाथ रातो रङगको साडीचोलो, लाछा, सिन्दुर, पोते लगाइ सोह्रशृङ्गार गरेर झम्मझम्म छुट्टै साङ्गीतिक तालमा के वृद्धा, के तन्नेरी के बालिका नाचेर संस्कृतिको जगेर्ना र विस्तार गरिरहेका छन् । हिजो र आज पनि तीजमा गाइने गीतले समसामयिक नेपाली समाजमा महिलाले भोग्नुपरेका पीडा र वेदनाका विरुद्धमा आफ्ना अभिव्यक्ति दिँदै आएका छन् । यद्यपि अहिलेका कतिपय नयाँ गीतमा महिलाका स्वच्छन्दता, स्वतन्त्र विचार, माया र प्रेमका अभिव्यक्ति पनि पर्याप्त देखिन्छ ।
तीजको सांस्कृतिक रूपान्तरणले समाजलाई भड्किलो र भद्दा बनाएको आरोप लाग्ने गरे पनि वास्तवमा यो आरोप सबै मानेमा सही हुनसक्दैन । संस्कृतिको यो परिवर्तित स्वरूपले महिलालाई एकीकृत, सामूहिक, सिर्जनात्मक र सङ्गठित बनाउँदै लगेको छ । तीजका यस्ता स्वतःस्फूर्त सामूहिक कार्यक्रमले विना स्वार्थ, विना दबाब महिलालाई सङ्गठित, सहकार्यमा जुटाएको छ । यसलाई महिला सामाजिक रूपमा सङ्गठित हुने अवसरको रूपमा लिन पनि सकिन्छ । कुनै राजनीतिक दलका सङ्गठनमा पनि स्वःस्फूर्त ढङ्गमा यति उत्साहपूर्वक महिलालाई एकैसाथ उभ्याउन सकिएको छैन भन्दा दुई मत नहोला ।
तीजका कार्यक्रम पछिल्लो समयमा भड्किलो गरगहना र साडीको प्रदर्शनमा भन्दा पनि सिर्जनात्मक गतिविधि, नृत्य, सङ्गीतका साथै नारीचेतना जागरण जस्ता कार्यक्रममा केन्द्रित हुँदै गएको देखिन्छ । विशेषगरी उपत्यकामा बाहिरबाट आई विभिन्न पेसामा संलग्न वा घरगृहस्थीमा रहेका महिला जमघट हुने अवसर नै नै यही बनेको छ । घरमा दर खाएर र ब्रत बसी मनाइने चाड अब महिना दिन अघिबाटै सुरु हुन थालेको छ । हिजो एकदुई घरका चेलिबेटीसँगै भेला भई दुःख. सुखका वात मार्दै, अन्याय र अत्याचारका आवाज गुनगुनाउने गर्थे । अब धेरै घर र समुदायका दिदी बहिनी ठूलो सङ्ख्यामा उपस्थित भई सङ्गठित रूपमा संसारै थर्किने गरी आफ्ना दुःख सुख र प्रेमका अभिव्यक्ति विभिन्न हाउभाउमा दिनसक्ने भएका छन् । यसलाई उपलब्धि ठाल्नुपर्छ । बेथिति र कुसंस्कारलाई निम्त्याउनेभन्दा भत्काउनेतर्फ सशक्तरूपमा लागिपरेमा यस्ता कार्यक्रमले महिलालाई अझै सङ्गठित पार्न सहयोग पु¥याउँछन् ।
महिलाले तीज कार्यक्रमलाई समावेशी सहभागिता गराएर यसको रौनक झन् बढाउँदै लगेको देखिन्छ । धर्मनिरपेक्ष मुलुक नेपालमा धार्मिक विविधता भए पनि एकरूपता देख्न सकिने यो चाड महिलाहरूमाझ झन् झन् लोकप्रिय बन्दै गइरहेको छ । संस्कृतिको मूल मर्म बचाएर संस्कृति विस्तार गर्नु भनेको विकृति नभई यो संस्कृतिको विस्तार हो भन्ने बुझ्नुपर्छ । यसर्थ विशेषगरी काठमाडौँमा महिना दिनअघि तीज कार्यक्रम हुन्छ भन्ने टिप्पणीलाई सकारात्मक भएर सोच्नु जरुरी छ । काठमाडौँमा व्यस्त र कामकाजी महिला हुने हँुदा सबै आफन्तसँग दर खाने दिनमात्र भेटघाट सम्भव नहुने हुँदा र औपचारिक कार्यक्रम पनि गरिने हुँदा सम्भव हुँदैन । त्यसैले अगाडिबाटै अनुकूल दिनमा आयोजना गरिन्छ । होटल र प्यालेसमा खाने चलनलाई पनि विकृति ठान्नु हुन्न । घरमा सामूहिक तीज सम्भव छैन । तीजको रूपान्तरित संस्कृतिलाई समयसापेक्ष र स्वागतयोग्य बनाउन ध्यान दिँदै महिलाले संस्कृतिको जगेर्ना गर्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना