खाद्य सुरक्षा र बदलिँदो परिवेश

prakash thapaप्रकाश थापा



खाद्य सुरक्षा भन्नाले हामीले खानेकुराजस्तै चामल, दाल, तरकारी, फलफूल, विभिन्न जडिबुटी र अन्य खाने अन्नको पहुँच, संरक्षण, उत्पादन र दीगो उपयोग भन्ने बुझिन्छ ।  विश्वका विभिन्न देशमा समय समयमा लाग्ने खाद्य सङ्कट अर्थात् भोकमारीले गर्दा खाद्य सुरक्षाको आवाज ठूलो स्वरमा उठेको छ ।  खाद्य सुरक्षाका हिसाबले हेर्दा दक्षिण एसियामा नेपाल अरू राष्ट्रभन्दा बलियो स्थानमा आउँछ ।  ग्लोबल हङ्गर इन्डेक्स (विश्व भोकमरी सूचकाङ्क) २०१५ को प्रतिवेदनमा खाद्य सुरक्षाको सूचकाङ्कमा नेपाल ५८औँ स्थान हासिल गरेर दक्षिण एसियाका राष्ट्रमध्ये बलियो अवस्थामा देखिएको छ भने भारत नेपालभन्दा पनि कमजोर अवस्थामा अर्थात् ८०औँ स्थानमा छ ।  दक्षिण एसियामा खाद्य सुरक्षाका दृष्टिकोणले पछाडि परेको अफगानिस्तानको स्थान ९७औँ मा छ ।  दक्षिण एसियामा अरू राष्ट्रभन्दा बलियो स्थानमा देखिए पनि नेपाल आफैँमा खाद्य सुरक्षाको हिसाबले गम्भीर अवस्थामा छ ।
खाद्य सुरक्षाका लागि कृषि, वन र पशुपालनको महŒवपूर्ण भूमिका रहेको हुन्छ ।  यसको संयोजन गर्ने दायित्व सरकार र उपभोक्ता दुवैको साझा हो ।  खाद्य उत्पादनमा कृषकको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ ।  तसर्थ हरेक उपभोक्ताले हरेक दिन एक पेट खाना पाउँदा पहिलो धन्यवाद कृषकलाई दिनुपर्छ र कृषकलाई नै ईश्वर सम्झनुपर्छ ।  कृषि पेसा अँगाल्ने व्यक्तिलाई सबैभन्दा ठूलो मानिस सम्झनुपर्छ ।  यो संस्कारको विकास नेपालमा नहुनाले पनि कृषि पेसाप्रति सकारात्मक धारणा बन्न र आकर्षण बढ्न सकेको छैन ।  
नेपालमा खाद्य सुरक्षाको प्रबन्ध मिलाउन कृषि क्षेत्रको विकास गर्नु अत्यावश्यक छ ।  कृषिको कुरा गरिरहँदा वन क्षेत्र पनि योसँगै जोडिन आउँछ ।  कृषि र वनले एक आपसमा पारस्परिक सम्बन्ध राख्छन् ।  कृषिको उत्पादकत्व बढाउन वनको उत्तिकै महŒव हुन्छ ।  त्यसैले खाद्य सुरक्षा बढाउन वन क्षेत्रको विशेष भूमिका रहन्छ ।  कृषि, वन र पशुपालनको सम्बन्ध अति घनिष्ठ छ ।  कृषिका लागि चाहिने हलो, जुवादेखि लिएर घरभित्रका आवश्यक कुरा निर्माण गर्न वन नै चाहिन्छ ।  वनमा रहेको सोत्तर र मलिलो माटोले कृषि क्षेत्रको उत्पादकत्व बढाउँछ ।  कृषि कार्यका लागि पशुपालन अर्को महŒवपूर्ण अङ्ग हो ।  पशुपालनलाई चाहिने घाँस वन क्षेत्रले उपलब्ध गराउँछ भने कृषि उत्पादनका लागि चाहिने मल र साधन पशुपालनले उपलब्ध गराउँछ ।  
वन क्षेत्रको उपयोग परापूर्व कालदेखि नै हुँदै आइरहेको हो ।  हामीले वनबाट विभिन्न किसिमका जडिबुटी र फलफूल उपयोग गरिरहेका छौँ ।  जस्तो कि हामीलाई ज्वरो आउँदा हामीले चिराइतोको प्रयोग गर्छौं भने पेट दुख्दा सतुवा खान्छौँ ।  यस्ता जडिबुटी प्रयोग गर्ने हाम्रा आफ्नै परम्परागत सीप र ज्ञान पनि छन् ।  तरकारी तथा अचारका रूपमा वनमा पाइने कोइरालो, सिप्लिकान, बाँको, रूपा साग, तरुल, गिठा, भ्याकुर, बाँसको तामा, टुसा आदि खाँदै आइरहेका छौँ ।  यी सबै खाद्य वस्तु हुन् ।  हामीले प्रत्यक्ष वा परोक्ष रूपमा खाद्य सङ्कट टार्न कृषि, वन र पशुपालनको अधिकतम उपयोग गरिरहेका छौँ ।  यसरी कृषि, वन र पशुपालन एक अर्काका परिपूरक क्षेत्र हुन् ।  खाद्य सुरक्षाका लागि यी तीन वटै क्षेत्रको महŒवपूर्ण भूमिका रहन्छ ।  
नेपालमा खाद्य सुरक्षा हालैका वर्षहरूमा एकदमै जटिल अवस्थामा पुगेको छ ।  मूलतः जनसङ्ख्या वृद्धि, प्राकृतिक प्रकोप, अव्यवस्थित भूउपयोग प्रणाली, मजदुरको कमी, वैदेशिक रोजगारप्रतिको आकर्षण, भौगोलिक प्रभाव आदि कुराले नेपालको खाद्य सुरक्षामा जटिल समस्या थपिदिएको छ ।  जनसङ्ख्याको वृद्धि व्यापक मात्रामा भए पनि हामीहरूको खेतीयोग्य जमिन भने सीमित मात्रा छ ।  अझ भनौँ अव्यवस्थित भूउपयोग प्रणालीले त भएको खेतीयोग्य जमिन नै घटिरहेको छ ।  हरेक गाउँ, ठाउँमा अव्यवस्थित सहरीकरणको कारण धान फल्ने खेतहरू धमाधम प्लटिङ गरी घडेरीको रूपमा बिक्री भइरहेका छन् ।  यो प्लटिङको रोग हरेक जिल्लामा व्यापक रूपमा फैलिरहेको छ ।  जलवायु परिवर्तनको नकारात्मक प्रभावले प्राकृतिक प्रकोप दिनानुदिन बढिरहेका छन् ।  बाढी र पहिराले खेतीयोग्य जमिन नस्ट पारिरहेको अवस्था छ ।  जलवायु परिवर्तनको कारण कृषिवालीको चक्रमा नै फेरबदल भइरहेको छ ।  तापक्रम वृद्धिले खेतीमा समस्या छाएको छ ।  अन्नबालीमा रोग, किराको प्रकोप बढिरहेको छ ।  यसैगरी देशको जैविक विविधता समेत सङ्कटमा छ ।  यसरी जलवायु परिवर्तन पनि खाद्य सुरक्षाका लागि जटिल समस्याका रूपमा देखापरिरहेको छ ।  
हाम्रो सामाजिक तथा आर्थिक अवस्थाका कारण नेपालीको वैदेशिक रोजगारप्रति आकर्षण प्रतिवर्ष बढ्दो अवस्थामा छ ।  रोजगारीका लागि खाडी मुलुक, भारत, जापान, अमेरिका, अस्ट्रेलिया, युरोपलगायतका विभिन्न देशमा जाने क्रम बढ्दो छ ।  दैनिक रूपमा विप्रेषणबाट आउने रकमले समाजमा सकारात्मक परिवर्तन पनि ल्याएको छ तर पनि ग्रामीण भेगमा वैदेशिक रोजगारका नकारात्मक असर देखिन सुरु भइसकेका छन् ।  युवा जनशक्तिको विदेश पलायनले गाउँघरतिर खेतीपातीको लागि ज्याला मजदुर पाउन अति गाह्रो छ ।  पहिलेदेखि चलिआएको अर्म पर्म लगाएर काम गर्ने, खेतीपातीमा सहयोग गर्ने प्रचलन बिस्तारै हराउँदै छ भने गाउँमा रहेको महँगो जनशक्ति पनि समयमा उपलब्ध नहुनुले खेती गर्न अति गाह्रो छ ।  विप्रेषणका कारण सहरमा बसिखानेको सङ्ख्या बढी र कृषि पेसामा लाग्नेहरूको सङ्ख्या कम हुने क्रम तीव्र गतिमा छ ।  विप्रेषणबाट आएको रकमसमेत उपयुक्त तरिकाले प्रयोगमा छैन ।  खाद्य सुरक्षाको बढावाका लागि प्रयोग गरिनु त परै जाओस्, उल्टै लगानी जति कृषियोग्य धान खेतलाई नस्ट गरी घर घडेरी र जग्गा प्लटिङको व्यवसाय बढिरहेको छ ।  यसले गर्दा खाद्य सुरक्षामा थप चुनौती थपिएका छन् ।  विप्रेषणले गर्दा कृषि क्षेत्रमा मात्र नभई वन तथा पशुपालनमा समेत प्रभाव परेको छ ।  मानिसहरूको जीवन शैलीमा आएको परिवर्तनले गर्दा वन गएर घाँस दाउरा गर्ने, जडिबुटी ल्याउने, फलफूल टिप्ने प्रचलनमा पनि कमी आइरहेको छ ।  पशुपालन गर्नेको सङ्ख्यामा पनि कमी आइरहेको छ भने बजारमा खाद्य सामग्रीको माग अत्यधिक छ ।  यसरी एकातर्फ खाद्यान्नको उत्पादन घट्नु र अर्कातर्फ खाद्यान्नको माग बढ्नु राम्रो सङ्केत होइन ।  यसले अन्त्यमा खाद्यान्न सङ्कट ल्याउँछ ।
बढ्दो जनसङ्ख्या, सहर केन्द्रित बसाइँ, जलवायु परिवर्तन र वैदेशिक रोजगारप्रतिकोे आकर्षण अवश्य पनि खाद्य सुरक्षाका चुनौती हुन् ।  बदलिँदो परिवेशका कारण खाद्य सुरक्षामा जोखिमपूर्ण अवस्था छ ।  नेपालमा हालसालैको भारतीय नाकाबन्दीको प्रभावले पनि हाम्रो खाद्य सुरक्षाको अवस्थालाई प्रस्ट रूपमा झल्काएको छ ।  खाद्य सुरक्षालाई बढावा दिन कृषि, वन तथा पशुपालनको विकासमा राज्यले विशेष जोड दिनुपर्छ ।  जलवायु परिवर्तन, भूउपयोग तथा वैदेशिक रोजगारीका सवालमा राज्यले उपयुक्त कदम चाल्नुपर्ने देखिन्छ ।  बदलिँदो परिवेशलाई समयमा नै सम्बोधन गर्न नसके भविष्यमा यसले खाद्य सङ्कटको जटिलता निम्तिने निश्चित
छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना