औंशी, कुशेऔंशी र कुश

Ram prashad dhitalरामप्रसाद धिताल    




ग्रहगणितअनुसार सूर्य र चन्द्रमा एउटै राशीमा पर्ने दिनलाई औंशी भनिन्छ ।  शास्त्रमा औंशीका दुई भेद बताइएका छन् ।  प्रातकाल सूर्योदयभन्दा पहिले चन्द्रमा रेखास्वरूपमा देखिए सिनीवाली भनिन्छ ।  चन्द्रमाको अवशेष नै नदेखिने औंशी कुहू हो ।  ज्योतिषशास्त्रअनुसार प्रत्येक तिथिका स्वामी भएजस्तै औंशी तिथिका स्वामी पितृ हुन् ।  औंशीका दिन शास्त्रले बताएका निषिद्ध कार्यजस्तै वेदको अध्ययन नगर्ने जस्ता ‘औंशी बार्ने’ चलन छ ।  औंशीका दिन बिहानै उठेर स्नान गरी  पितृहरूको स्मरण गर्दै तर्पण गर्ने जस्ता चलन गाउँघरमा अद्यापि चलेकै देखिन्छन् ।  आमाबाबु नहुनेले औंशीको दिन खनजोत नगर्ने, नित्यपूजामा शङ्खघण्ट नबजाउने, हाँडी नबसाल्ने, बेलुकी भात नखाने, सम्भोग नगर्ने चलन छ ।  औंशीका दिन खाद्यान्न सुकाउँदा कीरा लाग्दैन भन्ने विश्वासभित्र वैज्ञानिक तथ्य लुकेको पनि छ कि !
औंशीमा श्राद्ध
सनातन धर्ममा अमावश्या (औंशी) तिथिलाई पितृको उपासना गर्ने दिनका रूपमा लिइन्छ ।  महिनामा एकपटक पर्ने औंशीका दिन पितृको उद्देश्य गरी श्राद्ध तर्पण गर्ने विधान छ ।  अनुकूलताका हिसाबले सबै औंशीमा श्राद्ध गर्न नसके पनि कुनै एक औंशीलाई विशेष महŒव दिई श्राद्ध गरिन्छ ।  सनातन समाजमा वैशाख कृष्ण औंशी, भाद्र शुक्ल औंशी र पौषकृष्ण औंशीका दिन तीर्थस्थलमा गएर श्राद्ध गर्ने चलन छ ।  वैशाख औंशीमा काठमाडौँको मातातीर्थ, भाद्र औंशीमा काठमाडौँको गोकर्ण र पौष औंशीका दिन नुवाकोटको वेत्रावतीमा श्राद्ध गर्नेहरूको घुइँचो हुन्छ ।  यीबाहेक दोभान, त्रिवेणीलगायतका पवित्रस्थानमा श्राद्ध गर्ने चलन छ ।
कुशेऔंशी
आज भाद्रकृष्ण औंशी अर्थात् कुशेऔंशी ।  आज देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ ।  पुरोहितले मन्त्रोच्चारणपूर्वक काटेको कुश यजमानका घरमा लग्ने चलन छ ।  यो कुशलाई ढोकामाथि सिउरिने गरिन्छ ।  यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्छ भन्ने विश्वास छ ।  यही कुश वर्षभरि पर्ने माङ्गलिक पितृकार्य लगायतमा प्रयोग गर्ने चलन छ ।  शास्त्रमा जुन दिन आवश्यक पर्छ, त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ ।  सबैकहाँ नहुने कारणले कुशेऔंशीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि त्यही प्रयोग गर्ने चलन चलेको बुझ्न सकिन्छ ।  कुश जरादेखि टुप्पोसम्म भएको प्रयोग गर्नुपर्ने बताइन्छ ।
लौकिक चलनअनुसार आज छोराछोरीले मीठामीठा खानेकुरासहित आफ्ना बुबाको मुख हेर्ने गर्छन् ।  नेपालमा भने काठमाडौँ उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको बुझ्न सकिन्छ ।  शास्त्रमा आजको दिन बुबाको मुख हेर्ने भन्ने विधान पाइँदैन ।  सनातन मान्यताअनुसार एकदिन मुख हेरेर वा मीठा खानेकुरा ख्वाएर सन्तानको कर्तव्य पूरा हुँदैन ।  जीवित हुँदा उनीहरूको अनुकूलको कार्य गर्ने, आफ्नो क्षमताअनुसार सेवा गर्ने र मृत्युपछि पनि श्राद्ध आदि कार्य गरेर उनीहरूको सम्मान गर्नुपर्छ ।  अन्य मुलुकमा पनि अरू दिन वास्ता नगरे पनि ‘फादर्स डे, ‘मदर्स डे’ मनाइ आमाबाबुको सम्मान गर्ने चलन छ ।  आधुनिक हुँदै गरेका नेपाली पनि आफ्नो मूल्य र मान्यता छोडेर यही बाटोमा लाग्न थालेका छन् ।  
सनातन धर्ममा कुश
कुशलाई संस्कृतमा पवित्र, दर्भ भनिएको छ ।  कुश पनि संस्कृत शब्द हो ।  सनातन धर्मावलम्बीहरूका देवकार्य वा पितृकार्य कुशविना सम्पन्न हुनसक्दैन ।  प्रत्येक कार्यमा कुशका कुड्का, औंठी र पवित्र, अनिवार्य मानिन्छन् ।  माङ्गलिक कार्यमा पूजिने कतिपय देवताका प्रतिमा र श्राद्धमा ब्राह्मणसमेत कुशबाटै निर्माण गरिन्छ ।  श्राद्धमा विशेषगरी कुशका मोटक प्रयोग गरिन्छ ।  विवाह संस्कारमा वरणी गर्दा दुलहाका बाबुले कुशबाटै बनेको बिष्टर दिने चलन छ ।  कुनै पनि संस्कारमा सङ्कल्प गर्दा कुशकै आवश्यकता पर्छ ।  कुशका कुड्काहरू कर्मपात्रमा पानीमा राखी पूजा वा श्राद्धावधिभर प्रयोग गरिन्छ ।  देवता र ब्राह्मणलाई आशन पनि कुशकै दिइन्छ ।  त्यसैले कुशलाई पवित्र वस्तु मानिएको हो ।
पौराणिक प्रसङ्ग
पौराणिक ग्रन्थहरूमा कुशको उत्पत्तिका बारेमा अनेकौँ कथा पाइन्छन् ।  कतिपय पौराणिक ग्रन्थमा भगवान् श्रीविष्णुलाई श्राप परेकाले कुश हुनुपरेको बताइएको छ ।  यसैले पनि कुशलाई भगवान् विष्णुको रूप मानिएको छ ।  महाभारतको एक प्रसङ्गअनुसार भीष्मले श्राद्ध गर्दा पिण्ड दिने समयमा बाबु शान्तनुले हात थापे ।  भीष्मले सुनको बाला लगाएका आफ्नो बाबुको हात हो भन्ने चिने तर पनि हातमा पिण्ड दिएनन् ।  शास्त्रवचनअनुसार पिण्डवेदीमा ओछ्याइएको कुशमूलमै दिए ।
आयुर्वेदमा कुश
आयुर्वेदमा कुशबाट बनेका विभिन्न औषधिको चर्चा पाउन सकिन्छ ।  क्षयरोग, चर्म, रक्त, मूत्रलगायतका रोगका लागि कुशबाट बनेका औषधिको प्रयोग गरिन्छ ।  कुशको जरा र पातबाट  विभिन्न प्रकारका औषधि बनाइन्छ ।  कुशको प्रयोगबाट हृदयरोग नहुने, शिरको दुखाइ नहुनेजस्ता आयुर्वेद र पुराणमा समेत बताइएको छ ।  नवजात शिशुलाई खुवाउने दूध नआएमा आमाले कुशको औषधिबाट फाइदा लिनसक्ने बताइएको छ ।
वैज्ञानिक अनुसन्धानमा कुश
कुशको टुप्पामा फोनेटिक भाइब्रेशन सुचालन गर्ने क्षमता भएको वैज्ञानिक बताउँछन् ।  यसले विभिन्न उपकरणबाट आउने हानिकारक विकीरणलाई नाश गर्ने क्षमता राख्छ ।  कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्तसञ्चारलाई समेत सहज बनाइदिने वैज्ञानिक अनुसन्धानले बताएको छ ।  कुशको आशनमा बसेर कुशकै औंठी लगाएर कुशकै वस्तुहरू प्रयोग गर्ने हाम्रो चिन्तन कति उच्च थियो भन्ने यसबाट प्रस्ट हुन्छ ।  ढोकामाथि सिउरिएको कुशले कोठाको वातावरणलाई स्वच्छ बनाउने अनुसन्धानबाट पत्ता लागेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना