नेपाली खेलकुदकाे नियती ःघाइते रङ्गशाला उपचार कहिले ?

 

दीपेन्द्र सापकोटा (रासस) , काठमाडौँ, भदौ १५ गते । करिब दुई वर्षअघि बङ्गलादेशमा भएको टि–ट्वन्टी क्रिकेट विश्वकपमा नेपाल छनोट भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले भन्नुभएको थियो, “विश्वमा नेपाली क्रिकेट खेलाडी मात्र यस्ता भाग्यमानी हुन् जसले फुटबल मैदानमा अभ्यास गरेर क्रिकेटको विश्वकप खेल्ने अवसर पाए ।”
उहाँको यो भनाइलाई त्यतिबेला विश्वभरका सञ्चार माध्यमले प्राथमिकताका साथ ‘कभरेज’ गरेका थिए तर अहिले वास्तविकता त्योभन्दा धेरै टाढा भइसकेको छ । बरु कीर्तिपुरस्थित त्रिवि मैदानमा कम्तीमा क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता जेनतेन भइराखेका छन् । यसै वर्ष नामिबियाले विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल नेपालसँग खेलेर गयो । यसैबीच, अहिले क्रिकेटभन्दा फुटबलको कथा अझ मार्मिक भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला करिब डेढ वर्ष यता खेल्न लायक छैन । कारण पुनःनिर्माण ।
करिब दुई वर्षअघि सुरु भएको रङ्गशाला पुनःनिर्माण कार्य शायद अहिले सकिएको हुन्थ्यो होला ! यदि विसं २०७२ वैशाख १२ गते भूकम्प नआएको भए । र नाकाबन्दी नलागेको भए । भूकम्प र नाकाबन्दीपछिको अन्योलका कारण लामो समय पुनःनिर्माण कार्य स्थगन हुन पुग्यो । तर अहिले फेरि थालिएको उक्त कार्य कहिले सकिएला भन्ने अझै टुङ्गो छैन ।
भूकम्पपछि सम्बन्धित निकायले जाँच गरेर रङ्गशालाको विशिष्ट (भिआइपी) प्याराफिटतर्फ रातो स्टिकर (खतराको सङ्केत) राखेको छ भने साधारणतर्फ पहेंलो ((मर्मत गर्दा हुने) राखेको छ । तसर्थ साधारणतर्फ मर्मत कार्य फेरि थालिएको हो । तर अर्कोतर्फ (भिआइपी) भने प्रयोग गर्न लायक हो, होइन अझैसम्म पूरै जाँचिएको छैन । जाँच्ने कामका लागि मल्टी डिसिप्लीनरी कन्सल्टेन्ट प्रालि, इन्गर कन्सल्टेन्ट प्रालि र इन्क्लुसिभ कन्सल्टेन्ट प्रालि (मल्टी–इन्गर–इन्स्क्लुसिभ जेभी) जस्ता तीन कम्पनीलाई परीक्षणको जिम्मा दिइएको छ । मल्टी–इन्गर–इन्स्क्लुसिभ जेभीका टोली नेता विजय न्याछ्यो परीक्षणको काम भइरहेको र यसको परिणाम अहिले सार्वजनिक गर्न हतारो हुने बताउदै भन्नुहुन्छ, “जाँच्ने काम भइरहेको छ । यसको परिणाम जतिसक्दो चाँडो निकाल्ने भनेरै हामी लागिरहेका छौं ।” राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गतको पूर्वाधार निर्माण तथा मर्मत शाखा प्रमुख अरुण उपाध्याय रङ्गशाला मर्मत लायक छ, छैन भनेर जाँच्ने काम नै नसकिएकाले निर्धारित समयमा पुनःनिर्माण नसकिने बताउनुहुन्छ । करिब डेढ दुई महिनाभित्र जाँच (भिआइपी प्याराफिट)को कार्य सकिने र त्यसपछि पुनःनिर्माण तीव्र गतिमा बढ्ने आशा व्यक्त गरेका उहाँ भन्नुहुन्छ, “हामीले अबको एक वर्षभित्र पुनःनिर्माणको पूरै काम सक्ने लक्ष्य राखेका थियौं, तर भिआइपी प्याराफिटका कारण अब त्यो सम्भव नहोला कि ?”
यदि कारणवश भिआइपी प्याराफिट मर्मत योग्य नभए त्यसलाई पूरै भत्काएर बनाउनुपर्ने हुन्छ । यदि त्यस्तो भएमा (भिआइपीसहित मर्मत गर्दा) नयाँ रङ्गशाला बनाउन जत्तिकै खर्च लाग्ने तर्क गर्नुहुन्छ आर्थिक शाखा प्रमुख कपिलमणि पोखरेल । उहाँ भन्नुहुन्छ, “त्यस्तो अवस्थामा रङ्गशाला मर्मत गर्न अर्बांैै रुपैंयाँ लाग्छ, जुन झण्डै–झण्डै नयाँ रङ्गशाला बनाउनु सरह हो ।”
रङ्गशालाको पुनःनिर्माणका लागि अघिल्लो वर्ष (आव २०७१÷७२)मा करिब रु तीन करोड छुट्याइएको थियो । यसमध्ये हालसम्म करिब रु एक करोड २५ लाख खर्च भइसकेको छ । त्यसबाहेक भूकम्पपछिको पुनःनिर्माणका लागि भनेर पूरै देशैभरिका लागि सरकारले राखेपलाई रु ११ करोड छुट्याएको थियो जुन रकम रङ्गशाला (दशरथ)का भागमा पनि परेको राखेपका कर्मचारीहरु बताउँछन् । तर त्यो कति रकम थियो भनेर आर्थिक शाखा प्रमुख पोखरेलले खुलाउन चाहनुभएन । उहाँले भन्नुभयो, “सबैतिरका लागि एकमुष्ट आएको रकम हो । यहाँ कति आयो यकिन भएन तर आव २०७२÷७३ मा पनि रङ्शाला (दशरथ)का लागि बजेट छुट्टिएको छ । प्रक्रिया मै रहेकाले कति छ थाहा छैन ।”

काम कति भयो ?

विसं २०२२ सालमा निर्माण भएको अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशाला करिब २० हजार दर्शक क्षमताको हो । दुई किसिमका प्याराफिटमध्ये साधारणतर्फ १५ हजार तथा विशिष्ट (भिआइपी)तर्फ तीन हजार सिट राख्ने योजना छ ।

भिआइपीलाई छोडेर कुरा गर्दा साधारणतर्फका सिट हाल्न बाँकी भएपनि दक्षिण र पूर्वतर्फको करिब ७० प्रतिशत सिट निर्माणको काम सकिसकेको छ । तर उत्तरतर्फको काम बाँकी रहेको छ । निर्माण कार्यमा संलग्न राखेपका इन्जिनियर श्यामकृष्ण श्रेष्ठ भन्नुहुन्छ, “तयार भएको सिट हाल्ने मात्रै काम गर्न खासै समय लाग्दैन ।” त्यस बाहेक शौचालय तयार भएका छ भने पिलर मजबुत बनाउने, रङ्गरोगन, ‘एक्स्पानसन’ (दुई ब्लग जोड्ने काम) भइसकेको छ ।

रङ्गशाला पुनःनिर्माणका लागि ठेकेदारी पाएको किराँतेश्वर कन्ट्रक्शन एन्ड डिलिङ कम्पनीका व्यवस्थापक दीपेश प्याकुरेल पटक–पटक रङ्गशाला निर्माण नक्सा परिवर्तन भएकाले कठिनाइ मात्र नभएर आर्थिक भार परेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “नक्सा परिवर्तनका कारण पहिले ल्याएका सामान परिवर्तन गर्नुप¥यो, यही शुक्रबार (भदौ १० गते) नयाँ नक्सा ‘फाइनल’ भयो अब काम अघि बढाउन सजिलो होला कि !”

साधारण प्याराफिटका सिट अलकत्रा र प्लास्टिक मिसाएर बनाइएको छ । प्रति सिटको रु एक हजार लगानी पर्छ । नेपालमै निर्माण भएको पेप्सी फाइबर ग्लास नामको सिटका लागि टक्सार निर्माण सेवाले आपूर्तिको जिम्मेवारी लिएको छ । भूकम्प र नाकाबन्दीसँगै विगतमा विभिन्न समयमा भएका टिप्पर व्यवसाय, क्रसर उद्योग बन्द आदिको असरले आपूर्तिमा समस्या आएको आपूर्तिकर्ताको भनाइ छ ।

क्रिकेटको कथा फुटबलमा दाहोरियो

क्रिकेट कप्तान खड्काले फुटबल मैदानमा खेलेर आफूहरुले विश्वकप खेलेको बताए झै पछिल्लो समयमा फुटबल खेलाडीले पनि त्यस्तै नियति व्यहोर्नु परिहेको छ । नियमित राष्ट्रिय रङ्गशाला (दशरथ) भत्किएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का तत्कालीन अध्यक्ष गणेश थापालाई लागेको भ्रष्टाचारको आरोप र निलम्बन तथा कप्तानसहित पाँच खेलाडीले गरेको खेल मिलेमतो (म्याच फिक्सिङ) जस्ता कठिन समस्याले फुटबल खेल क्षेत्र ग्रस्त छ । तर यस्तै कठिन समस्याबीच नेपाली फुटबलले नयाँ युग सुरु ग¥यो । गत जनवरीमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु गोल्डकप नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित्यो । त्यस्तै, त्यसको करिब एक महिनापछि भएको दक्षिण एसियाली खेलकुद (साग)मा बलियो टोली तथा आयोजकसमेत रहेको भारतलाई हराउँदै नेपालले करिब २३ वर्षपछि स्वर्ण पदकमाथि कब्जा जमायो । समस्यै समस्याबीच रहँदै कृत्रिम मैदानमा अभ्यास गरेर पनि लगातार दुई उपाधि जितेको नेपाली टोलीले क्रिकेटको पदचिन्ह पछ्याएको कतिपयको विश्लेषण छ । हुन पनि नेपाली क्रिकेट टोलीले नेपाल क्रिकेट सङ्घ (क्यान) विवाद र आर्थिकसँगै विविध कठिनाइबीच देशलाई सफलता दिँदै आएको छ ।

एन्फाका कावा अध्यक्ष नरेन्द्र श्रेष्ठ फुटबलले गति लिएका बेला रङ्गशालाको झन् आवश्यकताको महसुस भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “रङ्गशाला नहुँदा सबभन्दा पीडित हामी भएका छौं । ‘ए’ डिभिजन लिग आउन लाग्यो, खेल्ने ठाउँ भने छैन ।”

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना