‘किनाराका मान्छे’को कथा

_murariकाठमाडौँ, फागुन ३ गते । नेपाली पाठकले सानैमा बिहे गरेका, लोग्नेले भकुरेका, घरभरि बकुन्द्रै सन्तान भएका, पेटभरि खान नपाएका, सुढेनी बन्न जाँदा आफैँ बलात्कारमा परेका, नागरिकता नपाएका जस्ता ‘किनाराका मान्छे’को कथा पनि पढ्न पाउने भएका छन् ।

समाजमा पछाडि पारिएका गरिब, दलित, निमुखा र पीँधका मान्छेका सफलताका विवरण त्यसमा पाइन्छ । सामाजिक परिवारको आत्मकथा सो कृति कथात्मक शैलीमा लेखिएको छ । उदयपुर, सिरहा, सप्तरी, धादिङ, लमजुङ र गोरखाका २८ महिला र पुरुषका ती कथाले इमान र परिश्रमले सभासद् एवं राज्यमन्त्रीसम्म बनेकाहरुको मार्मिक तर प्रेरणामयी भावना अभिव्यक्त गरेका छन् ।

समग्र विकास सेवा केन्द्र, चाबहिल काठमाडौँले तिनलाई दिएको विविध तालिम, आँट र भरोसाले उनीहरु अहिले समाजमा सम्मानित जीवन बिताउँदैछन् । केही दैनिक पत्रिकामा ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’स्तम्भ लेख्दै आउनुभएका भण्डारीले स्थलगत रुपमै किनारामा पारिएका मानिसहरुलाई भेटी आत्मकथासङ्ग्रह लेख्नुभएको हो । कृतिको प्रकाशक केन्द्रले चलाएको सामाजिक परिवार गठन अभियानमा डा देवेन्द्रराज पाण्डे र डोरनाथ न्यौपाने आदि संलग्न हुनुहुन्छ । डोरनाथले विसं २०४१ मा पाल्पाको झडेवा, बगाले बस्तीमा सुँगुरको विष्टा सोरेर सो अभियान सुरु गर्नुभएको थियो । पत्रकार भैरव रिसाल, रुद्र कोइरालाले पनि केन्द्रको अभियानमा साथ दिनुभएको थियो ।

तसर्पु–९ दामेचौर, धादिङका नागरिकता लिनका लागि गरेको सङ्घर्षमा एउटै पत्नीसँग दुई पल्ट बिहे गरेका प्रेमबहादुर नेगी लामा, सीतापुर प्रध–१, सलोखरी सिरहाका बाहुन बनेका चमार अधिकलाल राम र पण्डित बनेका रामचन्द्र राम, बाटो खनेर टारीखेत कमाएका बोर्लाङ–८, क्यामुनटार, कुमालबस्ती गोरखाका गुञ्जमान कुमाल, सानैमा बिहा गरी पछि बाह्र उत्तीर्ण गरी सिलाइको तालिम लिएर नाम कमाई पछि गाउँमा बुहारी पढाउने लहर चलाएकी कर्जनाहा–६, बगाहा सिरहाकी मञ्जु महतो, भारत माइत भई सभासद् र राज्यमन्त्री भएकी डिमन–६ सप्तरीकी रमणीदेवी राम, बाबुको मादल बनाउने पेसा लिएकी बडहरामाल–१, सिरहाकी हिरामाया विश्वकर्मा आदिका रोचक कथाले सबैमा उत्साह जगाउने गर्छ ।

परम्परादेखि सिनो फाल्ने पेसा छाडेर विद्रोह गर्ने हर्दिया–७, कामदटोल, सप्तरीका चन्द्रदेव रामले भारतमा समेत नेपालको सामाजिक परिवार अभियान पु¥याएको रोचक कथा कृतिमा समेटिएको छ । लेखकले विभिन्न पात्रका माध्यमबाट छाला प्रशोधन गर्ने, मादल बनाउने, परवर खेती गर्ने प्राविधिक तरिका पनि सिकाएका छन् । “धनीका कथा धेरै लेखिए, मैले गाउँ नगरमा तल्लोस्तरमा काम गरी मुलुक थामेका यी गरिब र पीँधका नागरिकले नै मैले मुलुक थामेको देखेँ र तिनका कथा लेख्न मन लाग्यो, जसरी स्वर्गमा पनि देवताहरुले मोजमस्ती गरिरहँदा त्यहाँ एकथरि ऋषिमुनिहरु जङ्गलमा ध्यान र तपस्या गरीस्वर्गलाई पतन हुनबाट बचाएको पौराणिक कथा छ”,लेखक भण्डारीले भन्नुभयो ।
कानुन, पत्रकारिता, राजनीति र समाजसेवामा रुचि राख्ने लेखक भण्डारी भ्रमण, लेखन र कृषिकर्ममा पनि संलग्न हुनुहुन्छ । विद्यार्थीकाल, पत्रकारिता गर्दाका बखत र राजनीतिक कारणले उहाँ थुनामा परिसक्नुभएको छ ।
पत्रकार माधव ढुङ्गेलले सम्पादन गरेको सो कृतिमा केन्द्रका डोरनाथको रोचक भूमिका पनि समावेश छ । ठाउँ ठाउँमा वर्णविन्यासगत त्रुटि पनि भेटिन्छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना