विशेष दूत कूटनीतिको सन्देश

GOPAL SHOWAKOTIप्रा.डा. गोपाल शिवोकाटी

 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकीमा रहेको आशङ्का र असमझदारी हटाएर सम्बन्धलाई सन्तुलित पार्ने कार्यलाई प्राथमिकतामा राखी विशेष दूतकारूपमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भारतमा सन्देशसहित पठाउनुभयो । यसले छिमेकीमा रहेको अविश्वास तथा आशङ्का हट्नुको साथै उच्चस्तरीय भ्रमणको आधार समेत तयार गरेको छ ।
एमाओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सत्ता परिवर्तन भएको अवस्थामा छिमेकीमा शङ्का उत्पन्न गर्ने र गराउने काम भएकोले प्रधानमन्त्रीले सरकारमा जाने बित्तिकै छिमेकीमा रहेको असन्तुलित नीतिलाई सन्तुलन गर्ने कुरालाई प्राथमिकतामा राख्नुभएको हो । नेपालले छिमेकीप्रति सन्तुलनको नीति लिने आवश्यकतालाई कार्यान्वयन गर्नका लागि समानस्तरमा विशेष दूत पठाएर दुवै छिमेकीसँग समान र सन्तुलित सम्बन्ध कायम गर्ने सन्देश दिन चाहेको थियो । प्रधानमन्त्रीले दिन चाहेको यो सन्देशलाई छिमेकीले समेत सकारात्मक रूपमा लिएका छन् ।
छिमेकीसँगको असमझदारी र चिसोपना नेपालको कूटनीतिमा रहेको कमजोरी, असक्षम कूटनीतिको परिणाम हो, अब कूटनीतिमा परिवर्तन र गुणात्मक सुधार गर्नुपर्छ भन्ने आवाज उठिरहेकै हो । छिमेकीसँग सम्बन्ध सुधार र अविश्वास समाप्त गर्न विशेष दूत पठाउने कार्य र भागबण्डाको रूपमा प्रस्तावित राजदूत सिफारिसलाई फिर्ता गर्ने काम यसैको लागि हो । सत्ता परिवर्तन नेपालमा संविधान कार्यान्वयन नगर्न, चीनसँग भएका सम्झौतालाई कार्यान्वयन नगर्न तथा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुन नदिनका लागि हो भनी जुन हल्ला मच्चाइएको थियो, त्यो भ्रम हटाउन र विश्वासको वातावरण बनाउन तथा भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भनी जुन सन्देश प्रवाहित गर्न खोजिएको थियो, त्यसलाई चिर्नका लागि पनि प्रधानमन्त्रीको विशेष दूत कूटनीतिलाई अपनाइएको हो । यो भ्रमणले चीनमा रहेका आशङ्का समाप्त गरी चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सुनिश्चित गर्ने तथा चीनसँग भएका सन्धि सम्झौता कार्यान्वयन सम्बन्धी आशङ्का हटाउन सफल भएको छ । चीनले पनि विशेष दूतमार्फत नेपालको सत्ता परिवर्तन नेपालको आन्तरिक मामिला भएकोले यो सत्ता परिवर्तनले चीनलाई कुनै असर पर्दैन भन्ने सन्देश दिएको छ । नेपालमा शान्ति, स्थायित्व र समृद्धिलाई नै चीनले प्राथमिकता दिएको र नेपालसँग सम्बन्धको दायरा थप्न इच्छुक रहेको भन्ने सन्देश दिएको छध्र
भारतले नेपालमा शान्ति, स्थिरता र विकासको लागि सहयोग गर्ने वचन दिएको छ । यो भ्रमणले भारतका राष्ट्रपतिको भ्रमण र नेपालका राष्ट्रपतिको भ्रमणको निधो साथै प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणको मिति तय गरेको छ । निधिले भारतसँगको सम्बन्धमा आएका सुधार प्रधानमन्त्री प्रचण्डको भ्रमणमा देखिने दाबी पनि यसैले गर्नुभएको हो ।
भूराजनीतिक स्थितिले छिमेकीको चासो नेपालप्रति बढ्दै गएको छ । उनीहरूको सुरक्षा संवेदनशीलता समेत बारम्बार प्रकट भएका छन् । यही दुवै छिमेकीको बढ्दो चासोले गर्दा नै भारत र चीन दुवै देशका राष्ट्रपतिको नेपाल भ्रमण एकैचोटि तय भएको छ । मुलुकको आन्तरिक राजनीतिमा छिमेकीको चासो कूटनीतिक दायराभित्र पर्दैन तर छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाएर उच्चस्तरीय भ्रमण सम्पन्न गरी विकास परियोजनाका लागि छिमेकीको साथ र सहयोग आवश्यक हुन्छ । नेपालको सन्दर्भमा त दुवैको साथ लिएर मात्र नेपालले विकास गर्न सक्छ भन्ने स्वीकार गरिएको छ । यसै सन्दर्भमा दुवै मुलुकका राष्ट्रपतिले एकै समयमा नेपाल भ्रमण गर्नुलाई विशेष दूत कूटनीतिको सफलताकै रूपमा लिइनुपर्छ । विशेष दूतलाई छिमेकीले उच्च सम्मान र महŒव दिएकोले सम्बन्ध सुधार र विश्वासको वातावरण बनेको छ । यो दूत कूटनीतिले स्थापना गरेको नयाँ विश्वास र सुधारलाई अरू निरन्तर कूटनीतिक प्रयासबाट सन्तुलित र विकास गरी दुवै छिमेकीलाई विश्वासमा लिँदा नै नेपालको हित हुनेछ ।
नेपालले दुवै छिमेकीको विश्वास जिती व्यक्त भएका संवेदनशीलताप्रति पनि ध्यान दिनुपर्छ । नेपाल अहिले चीन र भारतबाट घेरिएका नभएर जमिनद्वारा जोडिएको मुलुक भएकोले पनि तिनै मुलुकबीचको सम्बन्ध विशिष्ट खालको हुने हुँदा यसै खालको सम्बन्ध विकास गरिनुपर्छ । प्रचण्डले सपथ लिएको हप्ता पनि नबित्दै चीन र भारतमा विशेष दूत पठाएको कुराले नेपालको कूटनीतिक क्षेत्रमा पराकम्पका तरङ्ग गएका छन् । यसबाट नेपालले कस्तो खालको कूटनीति अवलम्बन गर्ने भन्ने चासो भइरहेको अवस्थामा समानस्तरका दूतहरू पठाएर छिमेकीसँग समान र सन्तुलित कूटनीति अख्तियार गरेको सन्देश दिएको छ तर यो सुधारिएको सम्बन्ध नरुचाउनेहरूलाई अघात परेकोले उनीहरूबाट विभिन्न खालका प्रतिक्रिया समेत आएका छन् । भारतमा समेत नेपालसँग समान सम्बन्ध नचाहनेहरूको पराकम्प भारतीय पत्रपत्रिकामा देखिएका छन् । प्रचण्डको छिमेकीप्रतिको सन्देशमा सघन कूटनीतिक, सामरिक, व्यापारिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध भएका छिमेकीसँग द्विपक्षीय थुप्रै सहयोगको एजेन्डा भए पनि भारततर्फ भारतसँग नजिक रहनुभएका विमलेन्द्र निधिलाई पठाएर मोदीसँग सम्बन्धको सुधारको प्रस्ताव राख्नुले भारतसँगको उहाँको सन्देश प्रस्ट भएको छ । प्रचण्डले मोदीलाई भारतसँगको सम्बन्धलाई उच्च सम्मान गर्ने, भारतको चासोको विषयलाई सम्बोधन गर्ने सन्देश दिनुका साथै उच्चस्तरको भ्रमण गराइ सम्बन्धलाई अरू सुधार गर्ने सन्देश दिनुभएको छ । भारतले पनि यसप्रति सकारात्मक सङ्केत दिएको देखिन्छ ।
प्रचण्डले चीनसँग विशेष सम्बन्ध भएका महरालाई चीन पठाएर सरकार परिवर्तन हुँदैमा चीनसँगको सम्बन्धमा प्रभाव नपर्ने सन्देश दिनुभयो । चीनले पनि राष्ट्रपतिको भ्रमण गराउने भनेर यसलाई सकारात्मक सङ्केत दिएको देखिन्छध्र
असामान्य परिस्थितिलाई सामान्य बनाउनका लागि विशेष दूतलाई पठाउने गरिने भएकोले नेपालले पठाएको दूतका बारेमा समेत नेपालमा विभिन्न खालको टीकाटिप्पणी भएको देखिन्छ । कतिपयले यसलाई परराष्ट्रमन्त्री र राजदूतसमेत नभएको बेलामा उपप्रधानमन्त्रीहरूलाई पठाउनुलाई अपरिपक्व र सरकारलाई पूर्णता नदिँदै पठाइएकोले हतारो गरेको भनी आलोचना गरेका छन् । दिल्लीमा संविधान संशोधनको कुरा भएकोले यसले राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप भएको भनी विरोध गर्नुका साथै प्रचण्डले मोदीलाई पठाएको पत्रकोे बारेमा समेत विवाद खडा गरेका छन् । भारतका पत्रपत्रिकाले यो पत्रको बारेमा लेखेकोले नेपालमा यसको टिप्पणी भएको हो । प्रचण्डले यो सामान्य कूटनीतिक रूपमा लेख्ने पत्रको रूपमा मात्र रहेको र संविधान संशोधनको कुरा नभएको भनी प्रस्ट पार्न बाध्य पारेका छन् । केहीले फास्ट ट्रयाकजस्ता भारतीय चासोका परियोजना सुम्पने भनी यो भ्रमणको विरोधसमेत गरेको देखिन्छ । एमाले त यो भ्रमणबाट नेपालको राष्ट्रिय स्वार्थमा असर पर्न सक्ने भनी सचेत रहन आफ्ना कार्यकर्तालाई निर्देशनसमेत गरिसकेको छ । माओवादीभित्रै पनि फास्ट ट्रयाक, नौमुरे र पुलिस एकेडेमी निर्माणको सम्झौता नगर्न प्रचण्डलाई खबरदारी गर्ने काम समेत भएको छ । यसबाट माओवादीभित्रै पराकम्पको सङ्केत देखिएको छ । विशेष दूत निधिले दिल्लीमा दिएका अभिव्यक्ति र उहाँको भारतीय पक्षसँग भएको छलफलले पनि विवाद सिर्जना गरेको हो । प्रचण्डले पठाएको पत्र भारतीय पत्रपत्रिकामा छापिनुले पनि निधिको नियतमाथि नै शङ्का गरिएको छ । उहाँले प्रधानमन्त्री र राष्ट्रपतिलाई मात्र नभेटी अरूलाई समेत भेट्नुले विशेष दूतको गहन जिम्मेवारीको आचारण विपरीत काम भएको हुँदा नेपालमा पराकम्प उत्पन्न गरेको हो ।
विशेष दूत कूटनीतिले दुई छिमेकीबीचमा रहेको असन्तुलनको सम्बन्ध र अविश्वासलाई कम गराउने काम भएकोलाई महŒवका साथ लिइएको छ तर यो विश्वास पछिका परिणामले नै प्रमाणित गर्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना