अर्थतन्त्रको ताजा अनुहार

Junar_babuजुनारबाबु बस्नेत

 


नेपाल राष्ट्र बैङ्कले गत आर्थिक वर्षको असार मसान्तसम्मको अर्थतन्त्रका मूलभूत परिसूचक भर्खरै सार्वजनिक गरेको छ । मुलुक राजनीतिक अस्थिरताको चरणमा रहेका बेला कतिपय आर्थिक परिसूचकले नेपाली जनजीवन असाध्य कष्टकर रहेको देखाउन थालेको छ । उच्च महँगीबाट उपभोक्ता पीडित हुँदै छन् । लगानीको अवस्था प्रतिकूल छ । निर्यात खुम्चिँदा आय घटेको छ । उत्पादनमा विराम लागेको छ । यसले रोजगारीमा नकारात्मक असर परिरहेको छ । लगानीको वातावरणमा सुधार नआउने हो भने देशले चालू आर्थिक वर्षमा पनि आशातित लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन । चालू बजेटले लिएका लक्ष्य र उद्देश्य पनि पूरा हुनसक्ने छैन । बजेटले राखेको साढे छ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य एकादेशको कथामात्र हुनेछध्र
गत आर्थिक वर्षमा सबैभन्दा जटिल अवस्था भनेको उच्च मूल्यवृद्धि नै हो । मूल्यवृद्धि लगभग दोहोरो अङ्कले बढ्दो छ । गत असार मसान्तसम्ममा मुद्रास्फीति ९.९ प्रतिशत रहेको केन्द्रीय बैङ्कको तथ्याङ्कमा छ । यो लगभग दोहोरो अङ्कको मूल्यवृद्धिदर हो । अघिल्लो आर्थिक वर्षमा यस्तो मूल्यवृद्धि ७.२ प्रतिशत रहेको थियो । असार महिनामा त १०.४ प्रतिशतको मूल्यवृद्धि देखियो । अघिल्लो असारमा मात्र वृद्धि ७.४ प्रतिशत रहेको मूल्यवृद्धि यो असारमा उच्च भयो । असारमै दोहोरो अङ्कको उच्च भएको मूल्यवृद्धि साउनयता अझ तीव्र हुने खतरा छ । खासगरी बजेटले कर्मचारीहरूको तलबमान उच्च वृद्धि गरेपछि महँगी अझै व्यापक हुने खतरा बढेको छ । यसले नियमित आय नहुने सर्वसाधारणको जनजीवन कठिन हुँदै गएको देखिन्छध्र
खासमा मुद्रास्फीति भन्नु पैसाको किन्न सक्ने क्षमतामा आउने ह्रास हो । पैसामा किन्न सक्ने क्षमताको ह्रासले उही वस्तु किन्न उपभोक्ताले थप व्ययभार बहन गर्नुपर्ने हुन्छ । खाद्यान्नको मूल्यवृद्धि त मुलुकको औसत मूल्यवृद्धिभन्दा अझै उच्च छ । गत आर्थिक वर्षमा खाद्यान्न समूहको मूल्यवृद्धि १०.९ प्रतिशत देखिएको छ । अधिकांश उपभोक्ताको आयको ठूलो अंश खाद्यान्नमा नै खर्च हुन्छ । नेपाली उपभोक्ता दैनिक जीवन टार्नकै लागि आयको महŒवपूर्ण अंश खर्च गरिरहेको देखिएको छ । बचत दर अहिले ५.३ प्रतिशत छ भने उपभोग उच्च भएर ९४.७ प्रतिशतमा पुगेको छ । नेपालजस्तो कृषि प्रधान देशमा वार्षिक एक खर्ब रुपियाँभन्दा बढीको खाद्यान्न आयातले आयको ठूलो अंश बाहिरै गइरहेको पनि देखाइरहेको छध्र
महँगीको अवस्था देशका अन्य भागमाभन्दा काठमाडौँ उपत्यकामा अझ उच्च रहेको नेपाल राष्ट्र बैङ्कको ताजा तथ्याङ्क बोल्छ । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ११.६ प्रतिशतको मूल्यवृद्धि देखिएको छ । यो अचाक्ली उच्च वृद्धि हो । राजधानीमा आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा पनि मूल्यवृद्धिको चाप उच्च देखिएको हो । कतिपय व्यापारीको बदनियत, प्रभावकारी अनुगमनको अभाव र ढुवानी सिण्डिकेटले पनि उच्च मूल्यवृद्धिलाई साथ दिइरहेको छ । तराई क्षेत्रमा सबैभन्दा कम, ८.८ प्रतिशतको मात्र मूल्यवृद्धि देखिएको छ, यो ठूलो राहत हो । पहाडी भेगमा दोहोरो अङ्कै, १०.८ प्रतिशतको मूल्यवृद्धि रहेको छ । जहाँ आय पनि न्यून छ र उनीहरूले उच्च मूल्यवृद्धि पनि भोग्नुपरिरहेको छध्र
आयातमा आधारित अर्थतन्त्र हो नेपालको । त्यतिमात्र होइन, सबैभन्दा बढी आयातको अंश भारतसित रहेको छ । गत आर्थिक वर्षमा नाकाबन्दी र भूकम्पसमेतको प्रभावले हुुनुपर्छ, भारतको तुलनामा नेपालमा असाध्य नै उच्च मूल्यवृद्धि देखिएको छ । भारतमा महँगी दर ५.२ प्रतिशतमात्र रहेको छ । गत आर्थिक वर्षमा पनि उसको मूल्यवृद्धि ५.३ प्रतिशतमात्र रहेको थियो । केही वर्ष अघि त ९ प्रतिशतसम्म थियो । आयातमा आधारित अर्थतन्त्र हुनु र भारतमा न्यून मूल्यवृद्धि हुँदा पनि नेपालले उच्च मूल्यवृद्धि भोग्नु अर्थतन्त्रमा आपूर्ति समस्मा चरम अवस्था छ भन्ने पनि देखिन्छ ।
भारतको आर्थिक वृद्धि साढे सात प्रतिशत हाराहारी रहेको छ । यो उच्च आर्थिक वृद्धि हो । नेपालमा अहिले यो तहको आर्थिक वृद्धि ‘आकाशको फल’ नै भएको छ । दुई दशकअघि २०५० ताकामात्र नेपालमा सात आठ प्रतिशतको आर्थिक वृद्धि थियो । त्यसयता छ प्रतिशत आर्थिक वृद्धि केवल लक्ष्यमा मात्र सीमित छ । पछिल्ला वर्षहरूमा त आर्थिक वृद्धिलाई मूल्यवृद्धिले निरन्तर दबाब दिइरहेको छ । आय न्यून रूपमा बढेको छ तर महँगी उच्च दरमा बढको छ । भारतमा आर्थिक वृद्धिले महँगीलाई थिच्दै गएको छ ।
केन्द्रीय बैङ्कको वर्षभरिको यो तथ्याङ्कमा गत आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन अर्थात् आर्थिक वृद्धि ०.८ प्रतिशत रहेको देखाएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आर्थिक वृद्धि २.३ प्रतिशत रहेको थियो । महँगी बढ्दै जाने र आय वृद्धि निरन्तर घट्ने नाजुक अवस्थामा नेपाली उपभोक्ता छन् । अर्थतन्त्रले राहतको गुहार खोजिरहेको छध्र
अर्थतन्त्रको आधारभूत रूपमा विश्लेषण गर्ने हो भने औद्योगिक क्षेत्रको अवस्था नाजुक हुँदै गएको छ भने सेवा क्षेत्रमा पनि ह्रास आएको छ । कृषि क्षेत्र र गैरकृषि क्षेत्रका आधारमा हेर्नेे हो भने क्रमशः १.३ र ०.६ प्रतिशतको वृद्धि देखिन्छ । सेवा र उद्योग क्षेत्रमा अब केही गर्नैपर्ने चुनौती पनि सरकारका सामुन्ने थपिएको छध्र
केन्द्रीय बैङ्क र समकालीन प्राप्त तथ्याङ्कले के देखाउँछ भने नेपाली अर्थतन्त्र अति न्यून आर्थिक वृद्धिमा अति उच्च मूल्यवृद्धिको दबाबमा रहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरू उच्च तरलताले लगानीको वातावरण छैन भन्ने देखाउँछ । नेपाली अर्थतन्त्र अर्को मारमा पनि पर्ने खतरा बढेको छ । नेपाली युवा बाहिर गएर काम गरी नेपाल पठाउने पैसा अर्थात विप्रेषण आय (रेमिट्यान्स) मा पनि प्रतिकूल प्रभाव पर्न थालेको छ । गत आर्थिक वर्षमा छ खर्ब ७५ अर्ब रुपियाँ विप्रेषण आय प्राप्त भयो । यो कुल गार्हस्थ उत्पादनको २९.६ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षभन्दा रेमिट्यान्स बढी भए पनि वृद्धि दर भने क्रमशः घट्न थालेको छ ।
पेट्रोलियमा आएको मूल्य ह्रासले खाडी अर्थतन्त्र प्रतिकूल हुँदै गएको छ । नेपाली युवा खाडीमै काम गर्छन् । खाडीमा आएको पेट्रोलियमको प्रतिकूल प्रभाव बिस्तारै नेपाली अर्थतन्त्रमा पनि पर्न थालेको छ । देशभित्र रोजगारीको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने चुनौती अझै व्यापक रूपमा देखिन थालेको छ । वर्तमान सरकारलाई लगानी बढाइ अर्थतन्त्रलाई क्रियाशील बढाउने गुरुत्तर चुनौती छ । ढुकुटी बाँडेर होइन, उत्पादनलाई बढाएर मात्रै महँगीको मारबाट सर्वसाधारणलाई जोगाउन सकिन्छ भन्ने हेक्का राख्नु जरुरी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना