किन नपढ्ने पत्रकारिता ?

laxaman pantaलक्ष्मणदत्त पन्त

 

पत्रकारले सीप, ज्ञान र शिक्षा हासिल गर्नुपर्छ भन्ने चेत नेपालमा पत्रकारिता अभ्यास गर्ने बहुसङ्ख्यक व्यक्तिमै अझै खुलिसकेको छैन । जालझेल र छलकपट गर्र्न सिपालु र राजनीतिक आवरणमा पत्रकारिता गर्न अघोषित छुट पाएका विकास, प्रविधि, शिक्षा, विविधता र स्वीकार्यताको धरातल फराकिलो भइसक्दा समेत आफूलाई त्यसअनुकूल परिमार्जन गर्न तयार छैनन् । समाज, समुदाय र विश्व परिवेशलाई हेर्न, बझ्न र तद्अनुसार सूचना सम्प्रेषण गर्न शिक्षा र सीपको प्रशस्त अवसर हुँदाहुँदै पनि अक्षर मात्रै चिनेकाको पत्रकारितामा दबदबा हुनु विडम्बना मात्र होइन, दशकौँदेखि पत्रकारिताकै विशिष्टिकृत विधामा देश–विदेशबाट शिक्षा हासिल गर्नेका लागि ठूलो चुनौती समेत हो । प्रविधि र सामाजिक विविधताको धरातल अत्यन्तै फराकिलो भएको सन्दर्भमा विद्यालयस्तर अर्थात् एसएलसी उत्तीर्णले पत्रकारिता गर्ने अवसर पाइरहनु निरक्षरले पत्रकारिता गर्नु सरह नै हो । पत्रकारिता पेसा भइसकेको स्वीकार गर्ने तर त्यसअनुसार सीप र शिक्षा हासिल गर्ने दिशातर्फ तल्लीन नरहने प्रवृत्तिले हाम्रा शैक्षिक संस्था र विश्वविद्यालयले प्रदान गर्दै आएको ज्ञानको समेत अवमूल्यन भएको छ ।
पत्रकारिता विषयको औपचारिक अध्ययन तथा अध्यापन हुन थालेको चार दशक नाघिसकेको छ । वि.सं. २०५८ सालसम्म पत्रकारिता शिक्षाका लागि नेपालमा त्रिभुवन विश्वविद्यालयले मात्रै सिमित साधन, स्रोत र अवसरका बीच स्नातक तहसम्म मात्रै यस विषयमा शिक्षा प्रदान गर्दै आएको थियो । तत्पश्चात् पूर्वाञ्चल तथा काठमाडौँ विश्वविद्यालयले आमसञ्चार, पत्रकारिता तथा मिडिया अध्ययन विषयमा क्रमशः स्नातकोत्तर र स्नातक तहमा अध्ययन अध्यापनको थालनी गरेकाले यस विषयमा ज्ञान तथा सीप हासिल गर्न चाहनेले व्यापक अवसर पाउन थालेका हुन् । हाल आएर मध्यपश्चिम तथा सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तहमा पत्रकारिता तथा आमसञ्चार विषयको अध्ययन अध्यापन गराउन थालेकाले राजधानी बाहिरसमेत पत्रकारिता विषयमा अध्ययन गर्ने अवसर व्यापक हँुदै गएको छ । विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरी स्नातक तथा स्नातकोत्तर तहमा आमसञ्चार र पत्रकारिता अध्ययन गराउने कलेज पनि प्रशस्तै छन् । अनलाइन र ई–लर्निङमार्फत यस विषयमा शिक्षा र सीप हासिल गर्ने अवसर पनि जुट्दै गएको छ । विगत पन्ध्र वर्षको लेखाजोखा गर्ने हो भने नेपालमा बर्सेनि आमसञ्चार र पत्रकारिता विषयमा झण्डै तीन सय जनाले स्नातक र एक सय पचास जनाले स्नातकोत्तर उत्तीर्ण गर्दै आएका छन् ।
आमसञ्चार, पत्रकारिता र मिडिया अध्ययनलगायतका विषयमा प्रशस्त जनशक्ति उत्पादन हँुदाहुँदै पनि आमसञ्चारका माध्यमले ती सिर्जनशील र जोशिला युवालाई आकर्षित गर्नसकेका छैनन् । कुल उत्पादनको करिब तीस प्रतिशत मात्रै सिमित मात्रामा पत्रकारिता क्षेत्रमा प्रवेश गर्छन् । राजनीति, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताबीच भिन्नता नदेख्नेले पत्रकारितालाई कमाइ खाने भाँडो बनाएका कारण पढ्नेलेख्ने युवापुस्ता र विश्वविद्यालयले आमसञ्चार र पत्रकारिता शिक्षामा गरेको लगानी बालुवामा पानी सावित भएको छ । अध्ययनपश्चात् आमसञ्चारका माध्यममा अवसर नदेख्नु मूलतः पत्रकारिता पेसाप्रति वर्षौंदेखि राजनीतिक दबदबा कायम रहनु नै हो ।
पत्रकारिता मात्र अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्ने मञ्च हो र यस मञ्चमा अक्षर चिनेका अर्थात् एसएलसी उत्तीर्ण जो कोही पनि प्रवेश गर्नसक्छन् भन्ने कुतर्क र त्यसअनुसारको संयन्त्र नै अभ्यासमा भएका कारण पत्रकारिता पेसाप्रति जनविश्वास घट्दो छ । नेपालमा आजसम्म विद्यालय तह उत्तीर्ण गरेकाले पत्रकारिता गर्ने अवसर पाउँदै आएका छन् । को पत्रकार बन्ने भन्ने विषयको छिनाफानो शिक्षा र सीप बाहेकका मापदण्ड वा सूचकबाट निर्धारण हुनै सक्दैन । विविधतायुक्त तथा बहुलवादी समाजले अक्षर मात्रै चिनेका व्यक्तिबाट सम्प्रेषित सूचना स्वीकार गर्ने वातावरण अब रहनु हँुदैन ।
अभिव्यक्ति नहुने र नगरिने क्षेत्र वा पेसा कहाँ छैन ? प्राविधिक तथा हिसाबकिताब राख्न मिल्नेजस्तो विषय पत्रकारिता होइन तर यहाँ पेसागत अभ्यास नै गरिन्छ । समाचारको सत्यापन, सम्पादन र प्रशोधन सीप र शिक्षासँग अन्योन्याश्रित सम्बन्ध राख्ने संवेदनशील र जटिल विषय हुन् । सत्य वा असत्य, योेजनाबद्ध वा स्वाभाविक, विश्वसनीय वा भ्रमपूर्ण, सूचना वा प्रोपोगण्डा, सम्प्रेषण वा प्रचारबाजी के हो र यी सूचकहरूको विश्लेषणले सूचना तथा समाचारको व्यापकता र स्वीकार्यतामा कस्तो प्रभाव पार्छ भन्ने विषय परिकल्पना र सपनाबाट धेरै टाढा छ । अर्थात् सूचनाको प्रशोधन तथा समाचारको सम्प्रेषण पत्रकारिता र आधुनिक परिवेशमा आमसञ्चार र प्रविधिको दर्शनशास्त्रीय आधार, लेखनकला, नीतिशास्त्र र आचारसंहिताको अध्ययनबिना सम्भव नै छैन । त्यसो त कुनै एक राजनीतिक आस्था विशेषका आधारमा सम्पादकीय निगरानी राखिँदै आएको हाम्रो पत्रकारिता अभ्यासमा वैचारिक रूपमा विरोधी देखिएकालाई मात्रै निगरानी राख्ने प्रचलनका कारण पत्रकारलाई पेसाकर्मी कम कार्यकर्ता बढी भनिने गरेको तथ्य जगजाहेर नै छ । राजनीतिक आवरणमा दलकारिता र आर्थिक प्रलोभनमा भजनकारिता गर्ने परम्पराको अन्त्यका लागि समेत पत्रकारिताको दर्शनशास्त्रीय आधारको चिरफारमा पत्रकार बन्न चाहने र यस विषयमा ज्ञान नै हासिल नगरी वरिष्ठको उपाधि धारण गरेका दुवैलाई सहभागी गराइनु समेत आवश्यक छ ।
नेपाली पत्रकारिता जगत् र पत्रकारले सूचना सम्प्रेषणका लागि अपनाउँदै आएको व्यक्ति र स्वार्थकेन्द्रित प्रवृत्ति आमजनमानसबाट लुकेको छैन । मिडिया सञ्चालकले सञ्चार संस्था चलाउन र टिकाउन अपनाउने गलत, अनैतिक र विवादास्पद बाटोको शिकार सम्पादकीय स्वतन्त्रताको महिमा गाउनेहरू नै बनेको इतिहास हामी सामु छ । व्यक्तिकेन्द्रित प्रवृत्ति मौलाउने अवसर पाएका कारण पत्रकारले निगरानी राख्नुपर्ने अङ्ग जस्तो कि न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले पत्रकारितामा शक्ति हुन्छ र त्यसले यी अङ्गको गलत कार्य विनास्वार्थ उजागर गर्छन् भन्ने कुरा पत्याउन छोडिसकेका छन् । पत्रकार जो पनि हुन पाउँछ, मिडिया जसले पनि चलाउन मिल्छ र पत्रकारितामार्फत आफ्नो दुनो सोझ्याउन पाइन्छ भन्ने चियागफका विषयले पनि पत्रकारिताको अभ्यासलाई कसरी विश्लेषण गरिन्छ भन्ने प्रमाणित हुन्छ ।
अध्ययन गर्ने, सीप सिक्ने र ज्ञान आर्जन गर्ने विषयमा विवाद हुनु सभ्य समाजका लागि सुहाउने विषय नै होइन । पत्रकारिता शिक्षामा गरिएको चार दशकको व्यापक लगानी खेर जाने वातावरण तयार भइरहने अवस्थाले राम्रो सङ्केत गर्दैन । बर्सेनि सयौँ सङ्ख्यामा उत्पादित जनशक्तिलाई निरुत्साही बनाउने र पत्रकारिता अध्ययन गर्नेका लागि होइन भन्ने आदिमकालीन र परम्परागत बहसले पत्रकारिता अभ्यास गर्न मात्र साक्षर भए पुग्छ भन्ने प्रमाणित गर्न खोज्नु खेदजनक छ । सञ्चारगृह, सरकारी, न्यायिक तथा नियमक निकायले समेत सीप र शिक्षा लिएर मात्रै पत्रकारिता पेसामा प्रवेश गर्ने वातावरण सिर्जना गर्नतर्फ सचेत रहनुपर्छ । विश्वपरिवेशको ऐतिहासिक क्षणमा कलम र आवाजले गलत कार्य र शक्तिको दुरूपयोग उजागर गरी राज्य संयन्त्रहरूलाई प्रभावकारी बनाएको विषयसमेत मनन गरिनु र त्यसअनुसार समग्र पत्रकारिता पेसाप्रति सम्मान र विश्वास वृद्धि गर्नतर्फ शिक्षा र सीप सिकाइमा ध्यान दिनु आजको आवश्यकता हो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना