पाषाणलेखन चित्रमा नेपाली सम्पदा




काठमाडौँ, भदौ ११ गते । सिद्धार्थ आर्ट ग्यालरी बबरमहलमा चलिरहेको युवा कलाकार कविराज लामाको पाँचौँ एकल कला प्रदर्शनीमा ‘हाइमन अफ द मन्त्र’ (मन्त्रको भजन) चित्रकला रु ४५ हजारमा बिकेको छ ।

‘फ्राग्मेन्ट्स’(टुक्रा) शीर्षकमा आयोजित सो प्रदर्शनीमा राखिएको चित्र बैंकर अनिल शाहले खरिद गर्नुभएको हो । कलाकार लामाले गत वर्ष फागुनतिर जर्मनीको म्युनिख सहरमा रहेको कुन्स्लर हाउस आर्टिस्ट एन्ड रेसिडेन्सीमा दुईमहिने आवासीय कला कार्यक्रममा छनोट भई काम गर्ने अवसर पाउनुभएको थियो । उक्त आवासीय कार्यक्रम उपलब्ध गराउने संस्था लिथोग्राफी कलाका लागि विश्वमै प्रसिद्ध छ । सो रेसिडेन्सी स्टुडियोमा विश्वप्रसिद्ध कलाकार पाब्लो पिकासोले समेत लिथोग्राफीसम्बन्धी काम गरेका थिए ।
चुनढुङ्गालाई राम्ररी सम्याएर पानी र रसायन राखी उल्टो चित्र बनाएर यन्त्रमा राखेपछि सुल्टो चित्र आउने गर्छ । निकै समय र श्रम लगाएर गर्ने यस्तो लिथोग्राफी(पाषाणलेखन) गर्ने कलाकार नेपालमा कमै छन् ।

लिथोग्राफीका लागि पाइने चुनढुङ्गाका लागि पनि जर्मनीको बाबरिया निकै प्रसिद्ध स्थान हो, जहाँ लिथोग्राफी गर्ने कलाकारले एक चोटि पुग्ने सपना साँचेका हुन्छन् । “जब म त्यहाँ पुगेँ, लिथोग्राफीका लागि विश्वमै कहलिएको बाबरिया तथा मैले रेसिडेन्सीका लागि अवसर पाएको स्थान आफँैमा प्रसिद्ध कलाको तीर्थस्थल हो जुन मेरा लागि सबैभन्दा ठूलो उपलब्धि हो” कलाकार लामाले बताउनुभयो । उहाँले थप्नुभयो, “नेपालका राष्ट्रिय सम्पदालाई भूकम्पपछिको अवस्थालाई कलात्मक रुपमा उतार्ने कोसिस गरेको छु ।” नेपालबाट पहिलो पटक सो रेसिडेन्सीमा कलाकार लामा पुग्नुभयो । उहाँले त्यहाँ रहेर लिथोग्राफी प्रिन्ट तयार पार्नुभयो र त्यहाँको कुन्स्लर हाउस ग्यालरीमा उहाँको चौथो एकल प्रदर्शनी भयो ।


उहाँले ‘गोरखा भूकम्प’ गएपछि सात आठ महिनासम्म अपहेलित सांस्कृतिक सम्पदाहरुको अवलोकन गर्नुभयो र त्यसलाई चित्रात्मक रुप दिनुभयो । प्रदर्शनीमा ‘भावहीनता’, ‘विकृत विश्वास’, ‘आकस्मिक विलुप्तता’, ‘खतरा’, ‘मेरो घरःएउटा आशाको किरण’, ‘शिवलिङ्गको पङ्क्ति’, ‘छोपिएको सौन्दर्य’, ‘विशृङ्खलता’, ‘विनाशमा आशा’, ‘नसुनिएको आवाज’ शीर्षक लगायत १५ चित्र छन् ।

उहाँले नेपालका पुरातात्विक महत्व राख्ने सम्पदालाई कलात्मक रुपमा उतार्नुभयो । खासगरी भूकम्पको त्रासदी, मानवीय जीवनका विविध आयाम र बाल मनोदशालाई उहाँले विषय विम्बका रुपमा लिनुभयो । उहाँका कलामा भेटिने शिल्पगत स्पष्टता, विषयगत प्रस्तुति तथा राष्ट्रियतालाई सबलताका साथ चित्रण गरेको पाइन्छ ।
जर्मनीबाट फर्केपछि उहाँले चीनको सेन्जेनस्थित ग्वांलाङ ओरिजिनल प्रिन्टमेकिङ रेसिडेन्सीमा एक महिना काम गर्ने अवसर समेत पाउनुभयो । त्यहाँ पनि नेपालबाट पहिलो पटक उहाँ नै छनोटमा पर्नुभयो । चीनको सेन्जेनमा भएको अन्तर्राष्ट्रिय प्रिन्टमेकिङ फेस्टिभलमा समेत नेपालको प्रतिनिधित्व गर्दै लामाले त्यहाँ पुग्ने अवसर प्राप्त गर्नुभयो । उहाँले त्यहाँको आवासीय कार्यक्रममा पनि नेपाली सम्पदा र संस्कृतिका विषयमा केन्द्रित रही कलाकृति तयार पार्नुभयो ।

लामाले जापानमा लिथोग्राफी विषयमा अध्ययन गरेर आउनुभएको हो । उहाँले जापानको मेसी विश्वविद्यालयमा दुई वर्ष सो विषयमा अध्ययन गर्नुभएको थियो । जर्मनी र चीनमा तयार पारिएका तिनै कलाकृतिलाई लामाले प्रदर्शनीमा राख्नुभएको हो । उहाँको सन् २०१५मा चीनमा भएको प्रदर्शनीमा ‘नराम्रो नहेर्नू, नराम्रो नबोल्नू र नराम्रो नसुन्नू’ शीर्षक लिथोग्राफी चित्र रु १० दश लाखमा बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय रुपमा नै चिनिनुभएका कलाकार लामाका कलाकृति नेपालमा गर्न पाउनु सुखद भएको बताउँदै ग्यालरी सञ्चालक सङ्गीता थापाले भन्नुभयो “जर्मनी र चीनमा गरेका कलाकृति नेपालका लागि विशेष रहेका छन् । भूकम्पको त्रासदीका बेला नेपाल जनताले देखाएको साहस र फेरि पुरानै स्थितिमा फर्कने प्रयासको उपहारस्वरुप लामाले हामीलाई ‘फ्र्याग्मेन्टस’ दिनुभएको छ । ” प्रदर्शनी यही भदौ ५ देखि आगामी असोज २३ गतेसम्म चल्ने बताइएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना