गल्ती नगर्ने मन्त्री थापाको प्रतिवद्धता

काठमाडौँ,  भदौ १० गते । स्वास्थ्य मन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताउनुभएको छ

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिङ्गो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नु हुन्न ।’ आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको आफूलाई हेक्का रहेकाले काम गर्ने क्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न निष्ठापूर्वक सत्यका पक्षमा रही काम गर्ने दोहो¥याउनुभयो ।
पदभारपछि उहाँले पहिलो निर्णय युवा सरोकारको विषयमा गर्दै नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गर्नुभएको छ ।

मन्त्री थापालाई स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको जानकारी गराउनुभएको थियो ।

गलत प्रतिवेदनका कारण वैदेशिक रोजगारीमा जाने युवाले समस्या परेको भन्दै मन्त्रालयमा पटकपटक उजुरी दिने गरेका छन् । यही विषयलाई लक्षित गर्दै गठित यो विशेषज्ञ समितिले छानबिन गर्नेछ ।

मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानुन अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको अध्यक्ष वा प्रतिनिधि र वैदेशिक रोजगारीबाट फर्किएको मध्येबाट एक जना सदस्य रहनेछन् ।

विसं २०३३ मा सोलुखुम्बुमा जन्मनुभएका मन्त्री थापाले नेपाल विद्यार्थी सङ्घमा महामन्त्रीको पदभार पनि सम्भाल्नुभएको थियो । हाल काठमाडाँै क्षेत्र ४ बाट प्रत्यक्ष निर्वाचित भई सांसद हुनुहुन्छ ।

युवामा चर्चित, लोकप्रिय नेताको रुपमा रहनुभएका उहाँ प्रखर, स्पष्टवक्ताको रुपमा परिचित हुनुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना