टीकापुर त्रासदीको अन्त्येष्टि

dharmendra jhaधर्मेन्द्र झा

 

महाभूकम्पको पीडाबाट देश तङ्ग्रिनै पाएको थिएन, ठीक एक वर्ष पहिले देशसामु अर्को त्रासदी तेर्सिन पुग्यो ।  यो त्रासदीपूर्ण घटना थियो पश्चिम नेपालस्थित टीकापुरको ।  नाबालकसहित आठ सुरक्षाकर्मीको नृशंस हत्या गरिएको टीकापुर घटनाको जति निन्दा गरे पनि कमै हुन्छ ।  यो अमानवीय हो ।  हत्यापछि टीकापुरमा अर्को ताण्डव मच्चियो, जो थप दुःखद थियो ।  एक किसिमले अराजकता निम्तियो यहाँ ।  घरहरू तोडफोड गरिए ।  आगजनी भए ।  सम्पूर्ण टीकापुर स्तब्ध बन्यो ।  त्रसित जनजीवन घरभित्र खुम्चिन बाध्य भयो ।  सडकहरू खाली देखिए ।  विविध आग्रहबाट आरोपित प्रशासन लाचार साबित भइरहेको थियो ।  यस्तोमा स्थानीय नागरिक समाज नै थियो जसले टीकापुरको शान्ति बहालीमा सकेजति भूमिका निर्वाह ग¥यो ।  अहिले टीकापुर क्रमशः शान्त बनेजस्तो अनुभूत गरिँदैछ ।  यो सन्तोषको विषय हो ।  तर स्वीकार्नै पर्छ, शान्तिको यो गति निकै सुस्त छ ।  
टीकापुरको त्यो भयानक त्रासदीपूर्ण घटनाको एक वर्ष बितिसकेको छ ।  गत वर्षको भदौ सात÷आठ गतेको उक्त दुर्घटनाको वार्षिकीका सन्दर्भमा केही प्रश्नको उत्तरको खोजी गर्दै सामाजिक सद्भाव अभिवृद्धिका दृष्टिले केही प्रण गर्नु जरुरी छ ।  प्रश्न उठ्छ, किन भयो टीकापुर घटना ? यसका दोषी को हुन् ? यस्ता सबै प्रश्नको उत्तर आधिकारिक रूपमा देशको प्रशासन संयन्त्रले अहिलेसम्म दिन सकेको छैन ।  यस एक वर्षको अवधिमा टीकापुरका सन्दर्भमा तेर्सिएका प्रश्नका केही उत्तर ‘रेडिमेड’ स्वरूपमा उपलब्ध छन् ।   अहिलेलाई विश्लेषणको प्रयत्न गर्ने हो भने यसको पहिलो उत्तरका रूपमा सुरक्षा संयन्त्रको परिवर्तित रणनीति र सुरक्षा निकायबीचको समन्वय अभावलाई लिन सकिन्छ ।  यो प्रत्यक्ष देखिएको सुरक्षा अवस्थाको तस्वीर थियो ।  नदेखिएको सुरक्षाचुकको अवस्था नेपालको गुप्तचरीसँग सम्बन्धित छ ।  
टीकापुर घटनाको सन्दर्भमा नेपाली गुप्तचरी खोक्रो साबित हुन पुगेको त्यतिबेलै निष्कर्ष निकालिएको थियो ।  उक्त घटनामा ठूलो संख्यामा प्रदर्शनकारी उपस्थित हुने, त्यस्तो समूहसँग हतियार पनि हुने र हतियारसहितको त्यो समूह कुनै पनि नेतृत्वको अभावमा अनियन्त्रित हुनसक्ने अनुमानसमेत गर्न नसक्नुलाई नेपाली गुप्तचरीको नालायकीपन नभनी के भन्ने ? सबैभन्दा महìवपूर्ण कुरा, घटनामा को सामेल थिए भन्ने हो ।  प्रत्यक्षतः टीकापुर प्रदर्शनमा राजनीतिक आकांक्षायुक्त असन्तुष्ट नै सहभागी थिए, जो अधिकारप्राप्तिको सङ्घर्षमा होमिएका थिए ।  यिनको भावनालाई कम मूल्यांकन गरिनु हुँदैन ।  तर घटनाले जस्तो रूप लियो त्यस आधारमा भीडमा गलत तìवको घुसपैठको सम्भावनालाई नकार्न सकिन्न ।  त्यसो त घटनापछि सरकारी संयन्त्रले केहीलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको छ ।  जानकारका अनुसार टीकापुरको घटनामा प्रहरीलाई विगतको माओवादी छापामार शैलीको युद्धको जस्तै घेराबन्दीमा पारिएको थियो ।  तर अहिलेलाई यी सबै कुराको स्मरणको कुनै अर्थ र तुक छैन ।  हो, यस घटनापछि प्रशासनलाई कति सुरक्षा चेत भयो र उसले कति सिक्यो भन्ने विषय पृथक् हो ।  
यसै पृष्ठभूमिमा गत साउन ३० गते नेपाल पत्रकार महासङ्घको आयोजनमा पत्रकार सुरक्षा मिसनले कैलालीको अध्ययन गर्ने सन्दर्भमा टीकापुरको भ्रमण गरेको थियो ।  महासङ्घको केन्द्रीय मिसन टोलीले पत्रकार, नागरिक समाज, स्थानीय बुद्धिजीवीको उपस्थितिमा एक अन्तरक्रियाको आयोजना गरेको थियो ।  मिसन टोलीको एक सदस्यका हैसियतले मूल्याङ्कन गर्दा, अन्तरक्रियाका क्रममा उठेका धारणाले टीकापुरका सम्बन्धमा एकपटक पुनः गम्भीरतापूर्वक सोच्न घच्घच्याएको छ ।  उचित समयमा पुगेको अनुभव गरिएको पत्रकार महासङ्घको मिसनले सामाजिक सद्भाव अभिवृद्धिका दिशामा उपयुक्त वातावरण निर्माण गर्न सकेको छ ।  यस्ता मिसन र बाह्य सरोकारीले त वातावरण निर्माणमा मात्र भूमिका निर्वाह गर्ने हुन् ।  समाजलाई पुरानै अवस्थामा ल्याउन स्थानीय समाजकै भूमिका निर्णायक र महìवपूर्ण हुन्छ ।  स्थानीय समाजलाई मिसनको सन्देश पनि यही थियो ।  
टीकापुरका बासिन्दाबीच अझै पनि एक प्रकारको अज्ञात त्रासको बास छ ।  उनीहरू यसबाट जतिसक्दो चाँडो मुक्ति चाहन्छन् ।  टीकापुरमा दुई समुदायका मानिस मिलेर बसेको निकै वर्ष भइसक्यो ।  उनीहरूबीच नङ र मासुको सम्बन्ध छ ।  तर गत वर्षको भदौमा अचानक यो सम्बन्धमा अविश्वासको वातावरण सिर्जना भयो ।  विश्लेषण गर्ने हो भने अविश्वासको यस्तो वातावरण सिर्जना गर्ने कार्य सुनियोजित थियो भन्न सकिने अनेकौँ आधार छन् ।  यसको खोजी जरुरी छ ।  गत वर्षको त्रासदीपूर्ण घटनापछि वास्तवमै टीकापुरबासीको मन फाटेको छ ।  उनीहरू फाटेको मनमा मलम लेपनका आकांक्षी छन् ।  रोगको दीर्घ उपचार चाहन्छन् ।  पीडाको समन चाहन्छन् ।  उनको गुनासो छ, यस्तो भरपर्दो उपचार कहीँ कतैबाट प्राप्त गर्न सकिएन ।  उनीहरूको अर्को गुनासो पनि छ, त्रासदीपूर्ण घटनापछि टीकापुरको भ्रमण थुप्रैले गरे ।  थुप्रैले घाउ निको पार्ने आश्वासन दिए तर सबैले आफ्नो मात्र स्वार्थ पूरा गरे ।  धेरै भ्रमणकारीले प्रतिवेदन तयार गरेर चाङ थुपारे ।  त्यति हुँदा पनि टीकापुरको आर्तनादमा कमी आएन ।  उनीहरूको प्रश्न छ, हामीले के बिराएका थियौँ ? सङ्घीयताको पुुनर्सीमाङ्कनको कुरा गर्नु, समानुपातिक समावेशीको कुरा गर्नु र अधिकारको कुरा गर्नु के गलत थियो ? उनीहरू पनि स्वीकार्छन्, गत वर्ष यहाँ जे भयो दुःखदायी थियो ।  टीकापुरलाई कालो टीका लगाइदिएको त्यो घटना हुनुका पछाडि त्यस्तो षडयन्त्रकारीको निर्णायक भूमिका थियो जो कुनै बहानामा सद्भाव बिथोलेर स्थानीय आवाज बन्द गर्न चाहन्थ्यो ।  उनीहरूको बुझाइ छ, अन्ततः विजय तिनकै भयो ।  आपसी संवाद टुट्यो, जसको तन्तु वास्तविक अर्थमा पुनः जोडिन सकिरहेको छैन ।   
वर्षौंदेखि मिलेर बसेको टीकापुरे समाजको मानसिकता अहिले समस्यामा छ ।  अहिले यो विस्तारै पुरानै अवस्थामा फर्कने प्रयत्न त गर्दैछ, तर गति निकै सुस्त छ ।  यस प्रवृत्तिलाई गतिवान बनाउन सामाजिक सद्भावका प्रक्रियाहरूलाई तीव्रता प्रदान गर्नु जरुरी छ ।  पत्रकार महासङ्घको मिसनले यस्तै एक प्रक्रियालाई निरन्तरता प्रदान गर्ने प्रयत्न गरेको छ भन्दा अस्वाभाविक हुँदैन ।  भीडको आवेशमा जलेर नष्ट भएको फूलबारी एफ एम सञ्चालन हुन सकेको छैन ।  स्थानीय पत्रपत्रिकालगायतका अन्य सञ्चारमाध्यमहरू स्वनियन्त्रणको डरलाग्दो पञ्जाभित्र छट्पटाइरहेका छन् ।  विवेक प्रयोग गर्ने नाममा पत्रकारहरू सूचनाको खेती गर्न असमर्थ प्रमाणित हुँदैछन् ।  नागरिक समाजको पनि धेरथोर यस्तै अवस्था छ ।  बुद्धिजीवीहरू बुद्धिको प्रयोग गर्न सशंकित रहनुपर्ने अवस्था छ ।  टीकापुरको आमअवस्था जिम्मेवार राजनीति गर्नेहरूको नियन्त्रणमा छैन भन्दा असंगत ठहर्दैन ।  यस्तो परिस्थितिमा अवस्थाको विश्लेषण र मूल्यांकन सहजै गर्न सकिन्छ ।  
घटनाका समयमा माथि उल्लेख गरिएका सबै पक्षको केही न केही कमजोरी अवश्य पनि रह्यो ।  अब यो कमजोरी सच्याउनुपर्छ र भविष्यमा कमजोरी नदोहरिने सर्वपक्षीय प्रतिबद्धता अपरिहार्य छ ।  माथि उल्लेख गरिएका सबै पक्ष स्थानीय जनताका चेतनाका आधार हुन् ।  यहाँको समस्या समाधानमा यिनै पक्षको संवेदनशील क्रियाशीलता अपेक्षित छ ।  यिनीहरूले स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्न सक्ने वातावरण जति छिटो निर्माण हुन्छ यहाँको अवस्थामा त्यति नै चाँडो सुधार आउँछ ।  यस दिशामा प्रशासनले जिम्मेवार भूमिका निर्वाह गर्नु अपरिहार्य छ ।  घाइतेहरूको उपचारमा अहिले पनि समस्या छ ।  पीडितहरू अहिले पनि सम्पूर्ण राहतको प्रतीक्षामा छन् ।  मुद्दा चलाइएकाहरूको मुद्दा फिर्ता लिइनुपर्ने आवाज कायम नै छ ।  
यो सबै परिस्थितिको उपस्थितिमा यहाँको अवस्था सामान्य भइसकेको छ भन्ने निष्कर्ष निकाल्न निश्चय पनि कठीन छ ।  तर राज्यले साँच्चै चाह्यो भने अवस्थामा तत्काल सुधार आउन सक्छ ।  अहिले टीकापुरलाई सर्वाधिक आवश्यक सामाजिक सद्भाव सुनिश्चित गर्ने गतिविधि सञ्चालन हुनु, संवादको तन्तु जोडिनु र सुरक्षा प्रत्याभूतिको छ ।  राज्यले स्थानीय सरोकारवालाको सहयोगमा घनीभूत कार्यक्रम सञ्चालन गरी यी सबै कुरा सुनिश्चित गर्न सक्दछ ।  यति भए टीकापुर त्रासदीको अन्त्येष्टि सहजै हुनसक्ने अपेक्षा गर्न सकिन्छ ।  




थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना