निर्माता थापाको निधन


काठमाडौँ, भदौ ६ गते  । नेपाली चलचित्र निर्माता डिबी (डम्बरबहादुर) थापाको आज बिहान ११ः४५ बजे निधन भएको छ ।

गत ११ दिनदेखि काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको निमोनियाका कारण निधन भएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।

ढाडमा सङ्क्रमणसमेत भएका ८३ वर्षीय थापालाई पाँच दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरे पनि बचाउन नसकिएको बताइएको छ ।

उहाँले निर्माण गरेका ‘नासो’, ‘श्रीस्वस्थानी’, ‘माइली’ आदि चर्चित र सफल चलचित्रको दर्जामा पर्छन् । त्यस्तै उहाँले ‘मायाप्रीति’, ‘जीवन–ज्योति’, ‘धर्ती–आकास’लगायत आधा दर्जनभन्दा बढी चलचित्र निर्देशन गर्नुभएको थियो । ‘जीवन–ज्योति’ र ‘धर्ती–आकास’ दुई चलचित्र अन्तर्राष्ट्रिय बजारसम्म पुगेका थिए । कारण यी चलचित्र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका निर्माताले संयुक्त रुपमा लगानी गरेका थिए ।

चलचित्र विकास कम्पनी, बालाजुको पहिलो अध्यक्ष रहेका थापा करिब आठ वर्षसम्म सो पदमा रहनुभएको थियो । चलचित्र वितरकसमेत रहेका उहाँले नेपाली चलचित्रमा नयाँ प्रविधि भित्र्याउने व्यक्तिका रुपमा समेत चिनिनुहुन्छ ।

धादिङ स्थायी घर भएका थापा छायाँ चित्रकार (फोटोग्राफर)समेत रहेका थापा फोटो कन्सर्न, पाको न्युरोडका अध्यक्षसमेत हुनुहुन्छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना