महेन्द्र मञ्जिलमा बिजुली काटियो

प्रकृति अधिकारी

काठमाडौँ, भदौ ६ गते ।  विद्युत् महसुल नतिरेको भन्दै पूर्व मुमाबडामहारानी रत्न शाहको निवास महेन्द्र मञ्जिलमा आइतबार नेपाल विद्युत् प्राधिकरणले विद्युत् लाइन काटिदिएको छ ।  
शनिबार ८९ औँ वर्ष प्रवेश गर्नुभएकी पूर्व मुमाबडामहारानी रत्नले आइतबार अन्धकारमा रात बिताउनुप¥यो ।  त्यस दरबारका कर्मचारीले सोमबारबाट जेनेरेटर चलाउने योजना बनाएको बताए ।  
लोडसेडिङ भोग्न नपरोस् भनेर त्यहाँ दुईवटा बेग्लाबेग्लै लाइनको व्यवस्था गरिएको भए पनि दुवै लाइन काटिएको छ ।  
विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले लामो समयदेखि विद्युत् महसुल नतिरेकाले लाइन काट्नु परेको बताउँदै करिब ३७ लाख रुपियाँ बक्यौता रहेको जानकारी दिनुभयो ।
मुमा रत्न तत्कालीन राजा महेन्द्रले नारायणहिटी दरबार परिसरभित्र निर्माण गर्नुभएको महेन्द्र मञ्जिलमा रहँदै आउनुभएको छ ।  दरबारको सम्पूर्ण सम्पत्ति नेपाल सरकारको मातहतमा आइसकेको भए पनि मुमा रत्न बाँचुञ्जेल त्यहाँ रहन दिने नेपाल सरकारले निर्णय गरेको थियो ।  
प्राधिकरणले केही वर्षअघिदेखि बक्यौता तिर्न भन्दै आएको थियो ।  रत्नको स्याहारसुसारमा संलग्न कर्मचारीले जाडोयाममा मासिक साठी हजार रुपियाँसम्म र गर्मीमा ५० हजार रुपियाँसम्म विद्युत् उपयोग हुँदै आएको बताएका छन् ।  
मुमा रत्नको हेरविचार गर्दै आउनुभएका तत्कालीन राजप्रासाद सेवाका पूर्वसचिव शम्भुप्रसाद अधिकारले महेन्द्र मञ्जिलको विद्युत् महसुल छूट गराउन तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग कुराकानी गरिएको जानकारी दिनुभयो ।  
उहाँले भन्नुभयो– नारायणहिटी दरबार सङ्ग्रहालयबाट व्यवस्थापन गर्न तत्कालीन मुख्य सचिवले भन्नुभएको थियो, संस्कृति मन्त्रालयले तिर्नुपर्छ भनेपछि त्यस मन्त्रालयसँग छूटको व्यवस्था गरिदिन पटकपटक पत्राचार गरिएको थियो ।  
केही वर्षअघि नै खानेपानी र टेलिफोनको लाइन काटिएको थियो ।  पूर्वराजा ज्ञानेन्द्रले ट्याङ्करको पानी व्यवस्था गरिदिनुभएको छ भने सचिव अधिकारीले आफ्नो नाममा रहेको टेलिफोन त्यहाँ जडान गरिदिनु भएको छ ।  विगतमा खानेपानी र टेलिफोन लाइन काटिएपछि रत्नको नाममा ती सेवा पुनः जडान गर्ने प्रक्रिया थालिए पनि उहाँको नागरिकताको प्रमाणपत्र नभएकाले सो सम्भव हुन सकेन ।  उहाँ नागरिकता प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालयमा जान नसक्ने भएकाले नागरिकता लिन सम्भव नभएको दरबारका कर्मचारी बताउँछन् ।  
प्राधिकरणका उपकार्यकारी निर्देशक भट्टराईले बक्यौता नतिरेसम्म लाइन पुनः सुचारु नहुने स्पष्ट गर्नुभयो ।  उहाँले बक्यौता तिर्न बाँकी काठमाडौँ, ललितपुर, चितवन, जनकपुरलगायत जिल्लाका ग्राहकको लाइन काटिएको जानकारी दिनुभयो ।  
काठमाडौँमा रु. नौ अर्ब बक्यौता छ, त्यसमध्ये सबैभन्दा बढी रकम सडक बत्तीको तीन अर्ब ८० करोड रुपियाँ र सरकारी कार्यालयको ३५ करोड रुपियाँ रहेको भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार चितवनमा विद्युत् लाइन काटिने भएपछि भरतपुरका १३ ग्राहकले आइतबार पाँच लाख रुपियाँ तिरेका छन् ।  जनकपुरमा ३४ ग्राहकबाट एक करोड २९ लाख रुपियाँ महसुल उठाउन बाँकी छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना