सिन्डिकेट खारेज गर्न सांसदको माग

samsadकाठमाडौँ, भदौ २ गते ।  सिन्डिकेटका कारण सवारी दुर्घटनामा नागरिकको ज्यान गइरहेको भन्दै सांसदहरूले सिन्डिकेट खारेजीको माग गर्नुभएको छ ।  व्यवस्थापिका संसद्मा विशेष समय लिएर सांसदहरूले काभ्रेको बिर्ता देउराली–९ मा आइतबार भएको दुर्घटना त्यसैको निरन्तरता भएको बताउनुभयो ।  सांसदहरूले काभ्रे दुर्घटना सडकको जीर्ण अवस्थाका कारण भएको दाबी पनि गर्नुभयो ।  
संसद्मा विशेष समय लिएर नेपाली काँग्रेस काभ्रेका सांसद तीर्थबहादुर लामाले सिन्डिकेटका कारण यात्रुको ज्यान जोखिममा परेको तर्क गर्नुभयो ।  उहाँले क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कडाभन्दा कडा कारबाहीको माग गर्नुभयो ।  
नेकपा एमाले काभ्रेका सांसद विदुरप्रसाद सापकोटाले सडकको अवस्था जीर्ण रहेका कारण दुर्घटना भएको बताउनुभयो ।  बिर्ता देउराली दुर्घटनामा क्षमताभन्दा बढी यात्रु र सडकको जीर्ण अवस्था समस्याका रूपमा रहेको सापकोटाको भनाइ छ ।  उहाँले भन्नुभयो, ‘पहाडी जिल्लामा जनताको पहलमा बाटो बनेका छन् ।  कच्ची बाटोमा दुर्घटनाको सम्भावना बढी छ ।  ती बाटोको पुनःनिर्माण र स्तरोन्नतिको व्यवस्था के हुन्छ ? नेपाल सरकारको जवाफ चाहियो । ’
माओवादी केन्द्रकी सांसद कमला दोङले ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु र सिन्डिकेट दुर्घटनाका मुख्य कारण रहेको बताउनुभयो ।  दोङले घाइतेलाई उपचारमा कमी हुन नदिने भनी सरकारले घोषणा गरे पनि पीडितले महसुस गर्न नपाएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘मान्छे बोक्ने सवारीमा खाद्यान्न र अन्य सामाग्री किन राखियो ?’
सांसद प्रेम सुवालले दुर्घटना न्यूनीकरणका लागि कडा कानुनी व्यवस्था हुनुपर्ने बताउनुभयो ।  सुवालले भूकम्प पीडितलाई ४५ दिनमा पहिलो किस्ता दिने सरकारको भनाइको आधिकारिकताको जवाफ सदनले पाउनुपर्ने बताउनुभयो ।
सांसद दुर्गा पौडलले आइतबार एकै दिन काभ्रे, बैतडी, बागलुङ र सोमबार नवलपरासीमा सवारी दुर्घटनामा ज्यान गुमाउने पीडित परिवारलाई राहत दिन सरकारसँग माग गर्नुभयो ।  क्षमताभन्दा बढी यात्रु बोक्ने र सिन्डिकेट कायम गर्ने यातायात व्यवसायीलाई कारबाहीको माग पौडेलले गर्नुभयो ।  
सांसद डिम्पलकुमारी झाले सवारी दुर्घटना बढिरहे पनि सरकारले कुनै ठोस पहलकदमी लिन नसकेको बताउनुभयो ।  सांसद जनकराज जोशीले जनताको मतका आधारमा राजनीतिक दलहरूलाई राज्यकोषबाट निश्चित रकम दिने निर्वाचन प्रणाली स्थापनामा जोड दिनुपर्ने बताउनुभयो ।  सांसद मानप्रसाद खत्रीले गत आइतबार बझाङमा सवारी दुर्घटनाका कारण तीन जनाको ज्यान गएको बताउँदै पीडित परिवारलाई १० लाख रुपियाँका दरले राहत उपलब्ध गराउन माग गर्नुभयो ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना