माग पूरा नभए शव नबुझ्ने चेतावनी

मधुसुधन तिमल्सिना

काभ्रे, भदौ १  गते ।  जिल्लाको विर्तादेउराली गाविस–९ खहरेखोलामा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रे जनाएको छ ।  
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएपी नवीनराज राईका अनुसार २६ जनाको घटनास्थलमा र एक जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।  मृतक २६ जनाको शव पोस्टमार्टमका लागि बनेपाको शिर मेमोरियल अस्पतालमा ल्याइएको छ ।  
जिल्ला प्रहरी कार्यालयका अनुसार पोस्टमार्टमपछि सम्बन्धित परिवारलाई शव बुझाउने बताएको छ तर मृतकका परिवारले भने उचित क्षतिपूर्ति, घाइतेको उचित उपचार, गाडीको सिन्डिकेट खारेजी, यात्रुबाहक बसले खाद्यान्न सामान बोक्न नपाउने, मृतकका परिवारका छोराछोरीलाई शिक्षादीक्षा तथा रोजगारी र तत्काल बाटो सुधार गरिने समझदारी  नभएसम्म शव नबुझ्ने बताउँदै आएका छन् । उनीहरूले प्रहरीले पोस्टमार्टम मात्र गर्ने भनेर शव ल्याएको भए पनि प्रचलित मापदण्डअनुसार क्षतिपूर्ति दिने भनी मुचुल्का उठाएको भन्दै प्रहरीले बनाएको मुचुल्का च्यातेका थिए ।  
पूर्वप्रधानमन्त्री ओली घाइते भेट्न अस्पतालमा
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली घाइते र मृतकका आफन्त भेट्न काभ्रे आउनुभएको छ ।  सोमबार काभ्रेको विर्तादेउराली गाविस–९ स्थित खहरेखोलामा बस दुर्घटनामा मृत्यु भएका आफन्त र घाइतेको अवस्था बुझ्न ओली आउनुभएको हो ।  बनेपास्थित शिर मेमोरियल अस्पतालमा पोस्टमार्टमका लागि ल्याइएको शवको अवलोकन र धुलिखेल सामुदायिक अस्पतालमा उपचारार्थ ल्याइएका घाइतेसँग कुरा गर्दै उहाँले दुर्घटनाबारे जानकारी लिनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना