आज मन्त्रिपरिषद् विस्तारको तयारी

puspa kamal dahal prachandaकाठमाडौँ, साउन ३० गते  । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।  साउन १९ गते बुधबार प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको १० दिन बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री दाहालले आइतबार विस्तारको तयारी गर्नुभएको हो ।  
राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार भएको भेटवार्तामा पनि सरकार विस्तारको विषयमा नै कुराकानी भएको र मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि पनि तत्काल सरकार क्रियाशील हुनुपर्ने भएकाले कुनै विलम्व नगरी मन्त्रिपरिषद्मा सदस्य थप गर्न लागिएको हो ।  
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहालसँग सरकार विस्तारको विषयमा चासो राख्नुभएको बुझिएको छ ।  राष्ट्रपतिको चासोपछि प्रधानमन्त्रीले आइतबार आफूले केही मन्त्री थप गर्ने तयारी गरेको जानकारी गराउनुभएको थियो ।  
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले सत्ता साझेदार दल नेपाली काँग्रेसबाट पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम प्राप्त भएपछि एकैपटक विस्तार गर्ने तयारी गरिएकाले केही ढिलाइ भएको जानकारी दिनुभयो ।  आइतबार नेकपा (माओवादी केन्द्र)का तर्फबाट पाँच मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ ।  स्वकीय सचिव मल्लले भन्नुभयो, ‘आइतबार साँझसम्म अरु दलबाट नभए पनि माओवादीका तर्फबाट सरकारमा सहभागी गराउन बाँकी रहेका पाँच मन्त्रालयमा मन्त्री नियुक्त गरिन्छ । ’
प्रधानमन्त्री दाहालले यही साउन २० गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएलगत्तै दुई उपप्रधानमन्त्री र तीन मन्त्रीले पनि मन्त्रालयको जिम्मा दिनुभएको थियो ।  नेपाली काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार काँग्रेसले १३ र माओवादीले आठ मन्त्रालय लिने सहमति भएको छ ।  
सोही सहमतिअनुसार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा विमलेन्द्र निधि, उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा कृष्णबहादुर महराले कार्यभार सम्हालिसक्नुभएको छ ।  यस्तै माओवादी केन्द्रका तर्फबाट कृषि विकास मन्त्रीमा गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्रीमा दलजीत श्रीपाइलीले पनि कार्यभार सम्हालिसक्नुभएको छ ।  
माओवादी केन्द्रले मन्त्री छनोटको सम्पूर्ण अधिकार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दाहाललाई नै दिएको छ ।  माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले समानुपातिक, समावेशी सन्तुलन मिलाएर मन्त्री छनोट गर्न आग्रह गरेको छ ।  प्रवक्ता पम्फा भुसालले मन्त्री छनोट गर्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई नै दिइएकाले उहाँले यस विषयमा आवश्यक निर्णय गर्नुहुने बताउनुभयो ।  
माओवादी केन्द्रले ऊर्जा, सङ्घीय मामिला तथा स्थानीय विकास, शिक्षा, सूचना तथा सञ्चारलगायत मन्त्रालय लिने सहमति भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकले केही दिनभित्रै सरकारले पूर्णता पाउने र त्यसको तयारी भइरहेको जानकारी दिनुभयो ।  उहाँले सरकार विस्तार गर्न केही समस्या नरहेको र केही दिनभित्रैमा पूर्णता पाउने र रोकिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना