देशमै पहिलो पटक हाइड्रोपावर इञ्जिनियरिङमा अध्यापन हुने


दुल्लु समाचारदाता, दैलेख, सउन २९ गते । प्रदेश नम्बर छ को राजधानीका रुपमा प्रस्तावित सुर्खेतमा हाइड्रोपावर इञ्जिनियरिङको पढाइ शुरु हुने भएको छ । देशलई आवश्य पर्ने हाइड्रोपावर सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७३।०७४ देखी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले इञ्जिसनियरिङ पढाई सञ्चालन गन लागेकाे हो ।
नेपाल जलस्रोतमा धनी देश भएपनि दक्ष जनशक्तिका अभावले नेपालीले लोडसेडिङको मार खेप्नु परेको र त्यसलाई न्युनीकरण गरि अध्याँरोबाट नेपालीलाई अलग गर्ने विश्वविद्यालयको आशा छ । हाइड्रोपावरको क्षेत्रमा देशलाई आवश्यक ९० प्रतिशत जनशक्ति विदेशबाटै ल्याउनुपर्ने बाध्यताको अन्त्यका लागि यो विषयको पढाइ शुरु गर्न लागिएको मप विश्वविद्यालयले जनाएको छ । हाइड्रोपावर इञ्जिनियरिङ विषयको पाठ्यक्रम प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी विश्वविद्यालयले अध्यापनका लागि पूर्वतयारी शुरु गरिसकेको छ ।
विश्वका अन्य विश्वविद्यालयमा हाल अध्ययन भइरहेको हाइड्रोपावर इञ्जिनियरिङ विषयको समसामयिक पाठ्यक्रमलाई नै आधार बनाएर मप विश्वविद्यालयका लागि पाठ्यक्रम तयार गरिएको प्राध्यापक इञ्जिनीयर रामचन्द्र अर्यालले बताउनुभयो । हाइड्रोपावरको क्षेत्रमा देशलाई आवश्यक दक्ष जनशक्ति आपूर्ति गर्न मप विश्वविद्यालय सक्षम रहेकाले चालु आवदेखि पढाई शुरु गर्ने तयारी भएको उहाँको भनाइ छ । मध्यपश्चिम क्षेत्रमै हाइड्रोपावरको धेरै सम्भावना रहेकाले आवश्यक जनशक्तिसमेत यतै खपत हुने उहाँको दाबी छ ।
देशमा जलविद्युत्को क्षेत्रमा प्रशस्त सम्भावना रहेको र त्यसका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको विश्वविद्यालयका उपकुलपति उपेन्द्रकुमार कोइरालाको भनाइ छ । सरकार तथा विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङको पढाइ शुरु गराउन आवश्यक स्रोतसाधनको व्यवस्था गरिरहेको उहाँले बताउनुभयो ।
विश्वविद्यालयका रजिष्ट्रार डाक्टर महेन्द्रकुमार मल्लले देशमै पहिलोपटक मप विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङको पढाइ शुरु गर्नु गौरवको विषय भएको प्रतिक्रिया दिनुभयो । यो विषय अध्यापनका लागि आवश्यक स्रोतसाधन तथा जनशक्ति उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।
मप विश्वविद्यालयले शुरु गर्न लागेको हाइड्रोपावर इञ्जिनियरिङमा चारवर्षे सेमेष्टर प्रणालीका लागि ४८ जना विद्यार्थीलाई भर्ना लिने गरी तयारी गरिएको विश्वविद्यालय इञ्जिनीयरिङ सकायका डिन अनन्तराज घिमिरेले जानकारी दिनुभयो । यहाँ उत्पादित जनशक्ति देशविदेशमै खपत हुनुका साथै अरुका लागि पनि अनुकरणीय बन्न सक्ने उहाँको दाबी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना