कस्तो चिकित्सक बन्ने ?

narayan b basnetडा.नारायणबहादुर बस्नेत

 

मानवको उत्पत्तिसँगै चिकित्साशास्त्र र यसका प्रयोगकर्ता (चिकित्सक) को सुरुआत भएको हुनुपर्छ ।  करिब दुई हजार तीन सय वर्षअघि नै अलेकजेण्ड्रियाका हिरोफिलस नामक चिकित्साविद्ले ‘जब मानिस बिरामी हुन्छ–बुद्धिले काम गर्न छोड्छ, कला देखिन पाउँदैन, बल सङ्घर्षहीन हुन्छ, धन अनुपयोगी हुन्छ, खुबीलाई प्रयोग गर्न सकिन्न’ भनेर बिरामीको सारतìव बताएका थिए ।  चिकित्सक भनेको चिकित्सा शास्त्र अध्ययन संस्था वा विश्वविद्यालयबाट सफलतापूर्वक अध्ययन समाप्तिको प्रमाणपत्र लिई सरकारको मान्यताप्राप्त ‘लाइसेन्स’ (अनुमति) प्राप्त गरी चिकित्सा व्यवसाय गर्ने व्यक्तिलाई बुझिन्छ ।  
चिकित्सक बिरामीमा केन्द्रित भई शरीर र रोगको उपचार, शिक्षा र अनुसन्धान गर्दै अन्य पेसाकर्मीजस्तो आफू, आफ्नो परिवार र समाजप्रति जिम्मेवारी बहन गर्दै जीवन व्यतित गर्ने संवेदनशील पेसाकर्मी हो ।  चिकित्सक भगवान् होइन ।  यद्यपि मानव शरीरको रोग निवारक भएकाले भगवान्रूपी काम गर्ने आदर्श पेसा चाहिँ हो ।  आधुनिक समयमा व्यक्तिको भौतिक आवश्यकता तथा लोभका कारणले गर्दा केही मात्रामा यो पेसा पनि नाफामूलक दिशातर्फ गइरहेको भए पनि प्रथमतः बिरामीप्रतिको दायित्व नै केन्द्रमा हुनुपर्छ ।  
चिकित्सक र बिरामीबीचको सम्बन्ध अद्वितीय रहनु र दुई फरक भूमिका निर्वाहको अन्तत्र्रिmया उपचारमा सम्पूर्ण विज्ञान तथा कला प्रष्फुटित हुनु चिकित्सा क्षेत्रको सबभन्दा ठूलो उपलब्धि मान्न सकिन्छ ।  मानिसले सधैँ नै आफ्नो शरीर, मन, सोचप्रति प्रथम सरोकार राख्छ ।  स्वास्थ्य रक्षापछि मात्र अन्य सम्बन्ध खोज्ने भएकाले स्वास्थ रक्षा गर्ने तथा रोगबाट मुक्ति पाउने ज्ञान, सीप, बुद्धियुक्त व्यक्ति (चिकित्सक) को भूमिका समाजमा उच्च रहन्छ ।  व्यक्तिगत स्वार्थ, अहंकार, दलीय आकांक्षाका आधारमा चिकित्सक बन्ने वा पेसा चलाउन बन्ने चिकित्सकहरूलाई क्षणिक मान्न सकिन्छ ।  यस्ता व्यक्तिहरू आजीवन यस पेसामा टिक्न पनि गाह्रो हुन्छ ।  
चिकित्सकको सबभन्दा प्रमुख जिम्मेवारी बिरामीको उपचार तथा हेरचाह गर्नु, बिरामी र मानिसको स्वास्थ्य रक्षा तथा स्तारोन्नति हो ।  साथै बिरामीलाई विनम्र, आदर भाव प्रकट गर्दै व्यक्तित्वमा अाँच नआउने गरी गोप्यता राखेर उपचार गर्नु, बिरामीलाई सहयोगमा लिएर बुझ्ने गरी जानकारी दिँदै उपचारको निर्णयमा सहभागी बनाउँदै उसलाई स्वास्थ्यको जिम्मेवारीको बोध गराउँदै काम गर्नु पनि चिकित्सकको दायित्व हो ।  यसैगरी आफ्नो उपचारसम्बन्धी ज्ञान तथा क्षमताको स्तर बढाउँदै सहकर्मीसँग सहकार्य गर्नु, इमानदार र खुला रूपमा ढिला र भेदभाव नगरी विश्वास कायम गरेर पारदर्शी उपचार गर्नु चिकित्सकको कर्तव्य हो ।  
चिकित्सक–शिक्षित र तालिम प्राप्त व्यक्ति
तोकिएको चिकित्सा शिक्षा लिई योग्यताप्राप्त व्यतिm चिकित्सक बन्न सक्छन् ।  निरन्तर अध्ययन तथा तालिमद्वारा शरीर, रोगका बारेमा ज्ञान, सीप, क्षमतामा अभिवृद्धि गर्दै गएपछि सिर्जनात्मक सोच, असल बानी तथा व्यवहारमा परिणत हुँदै जाँदा चिकित्सक स्वतः सुखका साधनको खोजीमा लाग्न सक्छ ।  साथै साधनयुक्त चिकित्सक सेवा निर्माणमा ठूलो धनराशिको आवश्यकताका कारणले गर्दा चिकित्सक पनि यसबाट मुक्त हुन्छन् भन्ने होइन ।  समाज र समय सापेक्ष सामाजिक आर्थिक अवस्था परिवर्तन हुनु स्वभाविक भएकोले चिकित्सकलाई दशकौँ अघिको भूमिकाको रूपमा कल्पना गर्नु हुँदैन ।  परिवर्तित समाजको बनावट, वातावरण र आवश्यकताले चिकित्सा पेसाकर्मीहरूको समय सापेक्ष नियम÷कानुन÷मान्यताहरू समाज उपयोगी बनाउँदै गएमात्र चिकित्सा सेवाको स्तर वृद्धिको आशा गर्न सकिन्छ ।
चिकित्सकको शिक्षामा लगानी गरिएको समय, मिहिनेत, कामको संवेदशीलताको वास्तविकतालाई ध्यानमा राखेर नबनाइएका स्वास्थ प्रणाालीहरूले प्रभावकारी रूपमा काम नगर्ने मात्र होइन कि चिकित्सा पेसा र यसले मानव स्वास्थ्यमा ल्याएको आमूल परिवर्तनलाई नै अवमूल्यन गर्न सक्छन् ।  त्यति मात्र नभएर चिकित्सकको भूमिका र समाजको आशामा ठूला तिक्तता र रिक्तता हुन सक्छ ।  यस अर्थमा चिकित्सक सधैँ सचेत शिक्षक हुनु अनिवार्य छ ।  
चिकित्सक – अनुसन्धानकर्ता
आधुनिक चिकित्सा अभ्यासमा रहने हरेक चिकित्सक सदैव मानिस र जीवित प्राणी र वातावरणप्रति अनुसन्धात्मक हुनुपर्छ ।  हामी रहेको दक्षिण एसियाली मुलुकमा त झन् विद्यमान भौगोलिक विषमताको साथै सामाजिक–सांस्कृतिक विविधताले गर्दा आधुनिक वैज्ञानिक चिकित्सा पद्धतिलाई पाश्चात्य मुलुक (विशेषत अमेरिका, पश्चिमी युरोप) मा जस्तो सिद्धान्तलाई व्यवहारमा उतार्न अति कठिन हुने आजसम्मको चिकित्सा इतिहासले देखाएको छ ।  हाम्रोजस्तो विज्ञान र यसको दैनिक जीवनमा उपयोग कम भएको देशमा विज्ञानको उपलब्धिलाई दैनिक जीवनमा काम गराउनलाई अर्को कठिन पक्ष हो ।  सुरक्षित पानी÷खाना÷वासस्थान÷शौचालयजस्ता आधारभूत आवश्यकता नै अपूर्ण रहेको हाम्रो देशमा विज्ञानद्वारा प्रतिपादित सिद्धान्तको आधारमा उपयोग हुने उपचार प्रणालीलाई राम्रो प्रयास नभएसम्म देशको उपचार प्रणालीमा ढाल्न कैयौँ वर्ष लाग्ने देखिन्छ ।  दर्शनसहितको सिर्जनात्मक वैज्ञानिक शिक्षाको अभावमा आधुनिक चिकित्सा पद्धतिलाई समाजको स्वास्थ्य मेरुदण्ड बनाउनका लागि पर्याप्त सोच, अनुसन्धान र त्यसबाट प्राप्त सिर्जनालाई व्यवहारमा उतार्न सक्ने प्रणाली नबनाएसम्म चिकित्सकको भूमिका अपूर्ण नै मानिन्छ ।  यी सबै कार्यका लागि चिकित्सकहरू अनुसन्धनात्मक हुनु जरुरी छ ।  विना अनुसन्धान आधुनिक चिकित्सा पद्धतिलाई जनमानसको आधारभूत स्वास्थ्य प्रणालीमा ढाल्न असम्भवप्रायः हुन्छ वा सीमिततामा अड्किन्छ ।  ज्ञान, सीप र बुद्धिको असीमित स्रोत भनेको नै क्रमबद्ध अनुसन्धान हो ।  
चिकित्सक – वैज्ञानिक प्रबन्धक
चिकित्सक सफल वैज्ञानिक प्रणालीमा आधारित प्रबन्धकको रूपमा स्थापित नहुनाले अस्पताल÷स्वास्थ्य केन्द्र÷स्वास्थ्य संस्थाहरू प्रशासनिक चपेटामा प्रायः अल्झिने हुँदा त्यसबाट आधुनिक चिकित्सा पद्धतिलाई आधारभूत स्वास्थ्य स्तर बढाउन साधनको रूपमा लिन सकिएको छैन ।  अस्पताल तथा त्यसमा कार्यरत हरेक किसिमका जनशक्ति÷साधन र उपयोग, सेवा र सेवा लिने जनसङ्ख्याको हरेक पक्षलाई विचार गरी बनाइएको सेवा प्रणालीले मात्र सक्षम रूपमा काम गर्ने र यसले जनताको स्वास्थ्य स्तर बढाउन सक्छ ।  
नेपालमा चिकित्सकहरूले असल व्यवस्थापन गर्न नसकेका कारण र देशको राजनीतिभित्र स्वास्थ्य प्रणाली राम्रो र वैज्ञानिक बनाउनुपर्छ भन्ने ज्ञानको अभावले गर्दा स्वास्थ्य नीति, निर्माण, निर्णयहरू प्रशासनमुखी भएका छन् ।  जसले स्वास्थ्य प्रणालीको विकास हुन नसकेको हो ।  प्रभावशाली नेताहरू आफू तथा आफ्नो परिवार बिरामी हुँदा विदेशिनु तर जनस्वास्थ्य समस्या पर्दा उचित व्यवस्थापन समेत जिम्मेवारीपूर्ण नगर्नु ज्ञानको अभाव वा गैरजिम्मेवारी नै मान्न सकिन्छ ।  हरेक चिकित्सकले त्यसतर्फ सचेत रही हरेक वर्ग ÷गुट÷समूहका अगुवाहरूमार्फत व्यवस्थित तरिकाबाट स्वास्थ्य प्रणाली बसाउने व्यवस्थापकको भूमिका निर्वाह गर्नु सक्नुपर्छ ।  आधुनिक चिकित्साको असल व्यवस्थापन नहुँदा बिरामी र चिकित्सा अम्यासकर्ताको बीचमा शङ्का, उपशङ्का, दोधार उत्पन्न हुन गई अवैज्ञानिक दोधारे उपचार प्रणाली हाबी हुन सक्छ, जुन घातक हो ।  
चिकित्सा – जिम्मेवार र आदर्श पेसा
प्रत्येक व्यक्तिलाई आफ्नो शरीर प्रिय लाग्नु, शरीरलाई रोगमुक्त र सुन्दर बनाउन निरन्तर प्रयास गरिरहनु, शरीरलाई सुविधायुक्त बनाउन प्रयास गर्नु र स्वास्थरूपमा लामो समय जीवनयापन गर्न कोसिस गर्नु मानवका आधारभूत आवश्यकता हुन् ।  ती आधारभूत आवश्यकतालाई पूरा गर्ने ज्ञान, सीप, बुद्धिविवेक विशेषत चिकित्सकहरूमा निहित हुने हुनाले मानव रहेसम्म यो जिम्मेवार तथा आदर्श पेसा अविच्छिन्न रहिरहने कुरामा दुईमत छैन ।  उपर्युक्त आवश्यकता पूरा गर्न चिकित्सकले संवेदनशील बनी बिरामी केन्द्रित उपचारलाई इमानदारीपूर्वक उचित प्रबन्धबाट उपयोग गर्नुपर्छ ।  आफ्नो ज्ञान, बुद्धि र व्यवहारलाई सधैँ अनुसन्धानद्वारा प्रतिपादित सिद्धान्तहरूको आधारमा कार्य गर्न सक्ने जिम्मेवार व्यक्ति नै चिकित्सक बन्नुपर्छ ।  यस्ता चिकित्सकहरूको संस्था बढीभन्दा बढी बनाउँदै गएमा सम्पूर्ण मानिसको स्वास्थ्य अभिवृद्धि भई एक सम्पन्न अर्थोपार्जन गर्न सभ्य र सम्पन्न समाज बन्न सक्छ ।  
बिरामीको हेरचाहमा समर्पित, मानवलाई इमानदारीपूर्वक आदर गर्ने, चिकित्सा विज्ञानको ज्ञान र सीपलाई अनुसन्धानद्वारा स्तरोन्नतिमा लागिरहने जिम्मेवार व्यक्ति नै चिकित्सक बन्नुपर्छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds