नेपाली युवाका चुनौती र सम्भावना

mira kafleमिरा काफ्ले


 

विभिन्न विकास साझेदार संस्थासँगको सहकार्यमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले यो वर्षको युवा दिवस आज (अगष्ट १२) मनाउँदै छन् ।  एकातिर युवापुस्ताले विकास, राजनीतिक स्थिरता र दीर्घकालीन विकास चाहेको छ भने अर्कोतिर राज्यलाई सक्षम, सबल, स्वावलम्बी, स्वस्पूmर्त विकास निर्माणमा सहभागी हुनसक्ने युवा चाहिएको छ ।  नेपालमा नै बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वास गुम्न लागेको आजको अवस्थामा हामीले मनाउने युवा दिवस र योजनामा सीमित कार्यक्रमले युवाको त्यो निरासालाई बदल्न नसक्ला तर राज्यले चाहेमा गर्न नसक्ने केही छैन ।  
युवा राज्यको शक्ति हो ।  हाम्रो यो शक्ति या अरब देशमा पसिना बेच्दैछ, कि अमेरिका युरोपमा स्थायी बसोबास अनुमतिको खोजीमा कागजपत्र मिलाउनमा व्यस्त छ, त्यो नभए बग्रेल्ती खुलेका म्यानपावर कम्पनी र परामर्श केन्दमा भीड बढाउँदै छ ।  विदेशको चक्करमा रुमल्लिई नसकेका धेरै युवा सामाजिक सञ्जालको चरम दुरुयोग गर्दै आफ्नै बर्बादी गरेको अवस्था छ ।  युवाको सानो हिस्सामात्रै उसको ऊर्जाशील समय राष्ट्र निमार्णमा लगाइरहेको यथार्थ छ ।  
युवा समूहको पृष्ठभूमि हेर्दा अधिकांश मुलुकमा १५–३५ वर्ष उमेर समूहलाई युवा माने पनि विश्वव्यापी रूपमा एउटै धारणा पाइँदैन ।  संयुक्त राष्ट्रसङ्घले १५–२४ उमेर समूहलाई युवा मानेको छ ।  नेपालको हकमा भने १६–४० वर्षसम्मको उमेर समूहका व्यक्तिलाई युवा भनिन्छ ।  पछिल्लो जनसाङ्ख्यिक तथ्याङ्क हेर्दा नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या ४० दशमलव ३५ प्रतिशत छ ।  जनसाङ्ख्यिक रूपले यो अति नै लाभदायक अवस्था हो किनकि युवाशक्ति कुनै पनि देशको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका वाहक ठानिन्छन् ।  विश्वयुद्धमा आफ्नो निकै जनधनको क्षतिमात्र भएन ठूलो हिस्सामा युवा जनशक्ति गुमाएपछि जर्मनीले पुनर्निर्माणमा टर्कीलगायतका मुलुकबाट मानव स्रोत जुटाउनुपरेको थियो ।  नेपालको सन्दर्भमा भन्नुपर्दा अहिले नेपालमा युवाशक्तिको सङ्ख्यात्मक तथ्याङ्क विकासका लागि वरदान भए पनि यो शक्तिलाई गुणात्मक रूपमा परिचालन गर्न भने सकिएको छैन ।  नेपाल विश्व युवा विकास सूचकाङ्कमा १४५औँ स्थानमा रहेको छ ।  केन्द्रीय तथ्याङ्क विभाग तथा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको तथ्याङ्क हेर्दा युवा विकास सूचकाङ्कमा नेपाल दक्षिण एसियामा नै कमजोर अवस्थामा रहेको छ ।  नेपाली युवाको वृत्तिविकास र रोजगारीका लागि शीघ्र र सक्रिय रूपमा लाग्नैपर्ने अवस्था यसले महसुस गराउँछ ।  
यसका लागि थोरै भए पनि संस्थागत प्रयास भने भएका छन् ।  नेपालको संविधानमा राज्यको निर्देशक सिद्धान्त अन्तर्गत राष्ट्रिय विकासमा युवा अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरणको सिर्जना गर्ने उल्लेख छ ।  वि.सं. २०६५ मा नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालयको स्थापना गरेको छ ।  त्यस्तै, नेपाल सरकारको तेह्रौँ योजनाको आधारपत्र
(२०७०÷०७१–२०७२÷०७३) मा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार र आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्नसक्ने गरी सशक्तीकरण गर्ने रणनीति छ ।  युवा विकास र परिचालनका लागि युवा तथा खेलकुद मन्त्रालय मातहत रहने गरी राष्ट्रिय युवा परिषद् गठन गरी युवा परिषद् ऐन २०७२ समेत जारी भइसकेको छ ।  परिषद्मार्फत ७५ वटै जिल्लामा युवाका साझा मुद्दाको पहिचान गर्ने, सम्बोधन गर्ने र युवा उद्यमीको पहिचान तथा प्रोत्साहन गर्ने जस्ता अभिप्रायले युवा परिषद्लाई जिल्ला तहसम्म विस्तार गर्ने क्रममा अधिकांश जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष नियुक्तसमेत भइसकेका छन् ।  यसका लागि पाँच वटा आधार स्तम्भ, रणनीति र कार्यक्रम तयार पारी “युथ भिजन–२५” सहितको दश वर्षे रणनीतिक योजना सार्वजनिक भएको छ ।  
विभिन्न संस्थागत प्रयास भए पनि व्यावहारिक पक्षमा युवाको अवस्था अझै पनि गम्भीर छ ।  नेपाल सरकारको तथ्याङ्कले नेपालमा पूर्ण बेरोजगार युवाको सङ्ख्या दुई दशमलव तीन प्रतिशतमात्रै देखाए पनि २०१४ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पूर्ण बेरोजगारी दर १९ दशमलव दुई प्रतिशत र अर्धबेरोजगारी २८ दशमलव तीन प्रतिशत रहेको छ ।  अर्थमन्त्रालयले २०७१ मा गरेको अध्ययनले उच्चशिक्षा प्राप्त गरेकाको बेरोजगारी दर २६ दशमलव एक प्रतिशत देखाएको छ, जुन आफैँमा डरलाग्दो हो ।  नेपालमा बढ्दो शिक्षित बेरोजगारी नै बौद्धिक पलायन (ब्रेन ड्रेन) को प्रमुख कारण बनेको छ ।  अब त्यसलाई ‘ब्रेन ग्रेन’ र ‘ब्रेन सेयरिङ’ मा परिवर्तन गर्नुपर्छ भन्ने बहस हुनथालेको पनि केही वर्ष भइसकेको छ ।  नेपालका लागि यो अत्यावश्यक र गम्भीर विषय पनि हो ।  
गाई हरियो घाँस जहाँ देख्छ, त्यहीँ चर्न जान्छ भनेझैँ विश्वव्यापीकरणले खुला गरेको रोजगारीको विश्व बजारमा जहाँ सम्भावना र सुरक्षित भविष्य देख्छन् युवापिँढी त्यतै पलायन हुनु स्वाभाविकै पनि हो ।  दैनिक पन्ध्र सय जनाको हाराहारीमा नेपाली युवा विदेशिने गरेको तथ्याङ्कले पनि यो कुरा प्रस्ट्याउँछ ।  धेरै नेपाली युवाका साझा समस्या भनेको बढ्दो बेरोजगारी, बेराजगारी सँगसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रँदो स्वास्थ्य र असुरक्षित खाद्य समस्या, सामाजिक सञ्जाल वा साइबर अपराधमा संंलग्नता, राजनीतिक अस्थिरता र राजनीतिप्रति विश्वास नहुनु, नेतृत्व तहमा युवा संलग्नता कम, धेरै कम युवाले मात्र राजनीतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु, युवा परिचालनमा योजनाविहीनता, युवामाथि कम विश्वास, मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी, व्यावहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनु आदि हुन् ।  
हाम्रा युवामाझ जति समस्या र चुनौती छन्, सम्भावना पनि त्यत्तिकै रहेका छन् ।  त्यसैले हतोत्साही हुनेभन्दा पनि काम गर्नुपर्ने समय आएको छ भन्ने अर्को युवापङ्क्ति पनि यही समाजमा क्रियाशील छ ।  यो पुस्ताको युवामा भूकम्प र नाकाबन्दीले थिलथिलो पारेको अर्थतन्त्र उकास्ने जिम्मेवारी आएको छ ।  पुनर्निर्माणमा युवाको व्यापक परिचालन गर्दै धेरै रोजगारी सिर्जना गर्ने अवसर पनि हो ।  विकास निर्माणमा युवा परिचालन गर्ने उपयुक्त समय हो यो ।  लामो प्रयास र सङ्घर्षपछि जनताले आफ्ना प्रतिनिधिमार्फत बनाएको संविधान पनि प्राप्त भइसकेकाले अबको राष्ट्रिय मुद्दा भनेको आर्थिक नै हो ।  जसमा युवाको स्पष्ट भूमिका हुनुपर्छ ।  कला, साहित्य, संस्कृतिको प्रवद्र्धनमा युवाको अथाह भूमिका हुनसक्छ ।  द्वन्द्वको अवस्थाको अन्त्य भएर शान्तिपूर्ण राजनीतिक धरातलमा मुलुक आइसकेको छ ।  सत्ताकेन्द्रित हुन थालेको पछिल्लो राजनीतिक संस्कार बदलेर वा बदल्न खबरदारी गरेर सम्पूर्ण निकाय सामाजिक, आर्थिक विकासतर्फ उन्मुख हुने इतिहासकै सही समय आएको छ ।  नेपालको विकासमा जल, जमिन, जङ्गल, जनावर, पर्यटनको जति भूमिका छ, त्यसको अपनत्व युवालाई दिलाएर युवा सक्रियता बढाउने सुनौलो अवसर छ ।  यस्ता पक्षमा ध्यान दिनसके दैनिक पलायन हुने युवा सङ्ख्या क्रमशः घट्दै जानेछ ।  
राष्ट्रप्रेमी, सदाचारी, अनुशासित र कर्मठ युवाको खोजी यो मुलुकले गरिरहेको छ तर नेपालमा पढे लेखेर पनि रोजगारी नपाइने, पाइहाले पनि सम्मानित नहुने, राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति दिन सक्दैन भन्ने सोचमा रहेका युवा समूह स्वदेशी माटोमा नरमाउन सक्छन् ।  राजनीतिक अस्थिरता, व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव, सम्मानित रोजगारीको अवसरको कमी नेपालका युवाले सबैभन्दा नरुचाइएका विषय हुन् ।  अवसर पनि यही देशभित्र प्रशस्तै छन् भन्ने कुरा सम्बन्धित पक्षले बुझाउन नसकेको पनि यथार्थ हो ।  दुई प्रतिशत मात्रै नेपाली विदेशी भूमिमा अलिकति सम्मानित जीवन बिताउन सफल भएका छन् ।  बाँकी ठूलो हिस्साले त्यहाँ पनि जोखिम नै मोलिरहेको छ ।  त्यो मिहिनेत र श्रमदान नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना नभएकै कहाँ हो र ? देश बदल्न सक्ने क्षमता हामीसँगै छ ।  बाटो बिगारेर हिँडेका शक्तिलाई खबरदारी गर्दै स्वदेशमा सम्मानित जीवन बिताउन सक्छौँ ।  आवश्यक परेको खण्डमा राज्यको ढोका ढक्ढकाउनुपर्छ तर प्रवेशआज्ञाका लागि लाम लागेर राष्ट्रियताको कुरा नगरौँ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना