नेपालमा हात्तीको सङ्ख्या बढ्दै

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, साउन २८ गते ।  संसारभरि हात्तीको सङ्ख्या घट्दो दरमा भए पनि नेपालमा भने  पछिल्ला केही वर्षयता हात्तीको सङ्ख्यामा वृद्धि भइरहेको छ ।   नेपालमा दुई दशकअघि मुस्किलले ३० देखि ४० वटा हात्ती रहेको अनुमान गरिएको थियो भने हाल जङ्गली हात्तीको सङ्ख्या मात्र नेपालमा कम्तीमा १७५ पुगेको बताइन्छ ।  घर पालुवा हात्तीको सङ्ख्या २१४ भन्दा बढी रहेको छ ।  नेपालका हात्तीबारे विद्यावारिधि गर्नुभएका डा. बाबुराम यादवका अनुसार विसं २०४७ सालमा बर्दिया राष्ट्रिय निकुञ्जमा तीन वटा हात्ती देखिएका थिए, हाल त्यस क्षेत्रमा ३० देखि ४० वटा हात्ती देखिन थालेका छन् ।  केही वर्षपहिले कहिलेकाहीँ भारतको दुधुवा नेसनल पार्कबाट विचरण गर्न आएका हात्ती मौसमी रूपमा देखिने गरेका शुक्लाफाँटा वन्यजन्तु आरक्षमा पनि हाल कम्तीमा २०–२२ वटा हात्ती बाहै्रमास देखिन थालेका छन् ।  
नेपालमा झापा र उदयपुरको त्रियुगासम्मको क्षेत्र, पर्सादेखि चितवन राष्ट्रिय निकुञ्जसम्मको क्षेत्र, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्र र शुक्लाफाँटा क्षेत्रमा विभाजन गरेर अध्ययन गरिएको पाइन्छ ।  हात्ती विशेषज्ञ डा. यादवले भन्नुभयो, पर्सा वन्यजन्तु आरक्ष हात्तीले सबैभन्दा बढी समय विचरण गर्ने स्थान हो भने पछिल्लो समयमा बासस्थान सुधार भएकोले हात्तीको सङ्ख्या बढ्न सक्ने क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज देखिएका छन् । elephants 
सबैभन्दा बढी हात्ती भएको क्षेत्र चितवन हो ।  यहाँ जङ्गली हात्ती मात्र होइन, व्यावसायिक रूपमा प्रयोग गर्न घरपालुवा हात्ती पनि धेरै छन् ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जको सौराहामा हात्तीको ब्रिडिङ सेन्टर स्थापना गरेको छ ।  चितवनमा केही होटल व्यवसायीले पनि हात्ती पालेका छन् भने नेपाल प्रकृति संरक्षण कोषसँग र तराईतिरका केही जमिनदार र शौखिन व्यक्तिले पनि घरमा हात्ती पालेका छन् ।  
दक्षिण एसियामा नेपाल, भारतजस्ता हिन्दु बाहुल्य क्षेत्रमा हात्तीको चोरी सिकार कम हुने गरेको विज्ञको भनाइ छ ।  डा. यादवले भन्नुभयो, हात्तीको सुँडलाई भगवान् गणेशको प्रतीकका रूपमा लिइने भएकाले हिन्दु समुदायले हात्तीको पूजाआजा र संरक्षण गर्ने गरेकोले पनि नेपाल, भारत लगायत राष्ट्रमा अन्य वन्यजन्तुको तुलनामा हात्तीको सङ्ख्या वृद्धि भइरहेको हो ।  
दक्षिण एसियामा पाइने हात्तीलाई एसिएन इलिफेन्ट भनिन्छ, यो प्रजातिका हात्तीको सङ्ख्या ५० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।  अफ्रिकी जङ्गलमा पाइने हात्तीलाई अफ्रिकन इलिफेन्ट भनिन्छ ।  बाक्लो जङ्गल र राम्रो बासस्थान भएकाले अफ्रिकी मुलुकमा पाइने यस प्रजातिको सङ्ख्या भने पाँच लाख जति रहेको हात्ती विशेषज्ञ डा. यादवले बताउनुभयो ।  
विभागका उपमहानिर्देशक डा. महेश्वर ढकाल अन्य संवेदनशील प्रजातिका वन्यजन्तुको संरक्षणजस्तै हात्तीको पनि बासस्थान सुधार, संरक्षण र विकासका लागि विभागले आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुन्छ ।  
हात्तीका दाँतलाई सौखका रूपमा राख्ने चलन भएकाले हात्तीको चोरीसिकार हुने गरेको छ ।  हात्तीका अरू अङ्ग भने खासै काम नलाग्ने गरेको बताइन्छ ।  दिनप्रतिदिन वनजङ्गल मासिँदै जानुले हात्तीको बासस्थानमा चुनौती देखिएको उपमहानिर्देशक डा. ढकालको भनाइ छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना